
देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन भर्खरै सम्पन्न भएका छन् ।
तेस्रो ठूलो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को साता हुँदैछ, भने पूर्वपञ्चहरूको पार्टी राप्रपाको पनि महाधिवेशन सम्पन्न भइसकेको छ ।
नेपाली कांग्रेस महाधिवेशनको कतिपय पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना अझै सकिएको छैन ।
सभापति, उपसभापतिदेखि महामन्त्रीसम्म सार्वजनिक भएको नतिजाले कांग्रेसमा रूपान्तरणको अध्याय शुरू भएको संकेत गर्दछ ।
प्रधानमन्त्री समेत रहेका शेरबहादुर कांग्रेस सभापतिमा दोहोरिए पनि उपसभापतिदेखि महामन्त्रीसम्म नयाँ अनुहार आएका छन् ।
भविष्यमा कांग्रेसको नेतृत्वमा पुग्ने सम्भावना बोकेका दुई युवा नेता विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसमा जबरजस्त पुस्तान्तरण शुरू भएको छ ।
उपसभापतिमा धनराज गुरुङदेखि सहमहामन्त्रीमा जीवन परियारसम्मको आगमनले कांग्रेसमा रूपान्तरणको एजेण्डा अनुमोदन भएको छ । महाधिवेशनको नतिजाले कांग्रेस कार्यकर्ताले पार्टीमा परिवर्तन खोजेको प्रस्टै देखाएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गठन भई लामो इतिहास बोकेको कांग्रेसमा रूपान्तरण र सुधारको आवाज लामो समयदेखि उठिरहेको थियो ।
देशको पुरानो पार्टी परम्परागत सोचभन्दा माथि उठ्न नसकी भद्रगोल ढंगले चलिरहेको थियो ।
देशका समस्या समाधानका लागि गतिशील पार्टी बनाउने भन्दै कांग्रेसमा नयाँ पुस्ताका नेताहरू डा. शेखर कोइरालाको नेतृत्वमा प्यानल बनाएर महाधिवेशनमा गएका थिए ।
कोइराला पराजित भएपनि त्यो विचार समूहको प्रतिनिधित्व मजबुत ढंगले भएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिका तीन दशकमा पनि मुलुकमा विकास र समृद्धि हासिल हुन नसक्नुमा राजनीतिक दलका नेताको अक्षमतालाई चित्रित गर्ने गरिएको छ ।
पुरानै सोच र कार्यशैली भएका नेताहरूबाट अहिलेका समस्या समाधान हुन नसकेको भन्दै दलभित्रै नेतृत्व परिवर्तनको गरमागरम बहस चल्दै आएको थियो । प्रजातन्त्रका लागि वर्षौं जेल बसेको अनुभवले अहिले देशका समस्या समाधन गर्न सक्दैन ।
भयावह बन्दै गइरहेको बेरोजगारी, चुलिएको भ्रष्टाचार, राज्यकोषको अनियन्त्रित दोहन रोक्न सक्ने सक्षम पुस्ता अहिलेको आवश्यकता हो ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा भइरहेको जाम हटेर नयाँ पुस्तामा सिफ्ट भएको छ ।
कांग्रेसको दोस्रो तहमा आएको परिवर्तनकारी र नयाँ पुस्ताले पार्टीलाई रूपान्तरण गर्न नसके राजनीति झनै प्रदूषित हुनेछ ।
दोस्रो पुस्ताले कार्यकर्ता, मतदाता र आम नेपाली जनताको आवश्यकता बुझेर सुधार गरे भने राजनीतिलाई भन्ने गरिएको ‘फोहोरी खेल’को परिभाषा बदलिने छ ।
राप्रपा हुँदै कांग्रेसमा भइरहेको नेतृत्व परिवर्तन र रूपान्तरणको अध्याय अरू दलमा पनि लागू भयो भने राजनीतिमा शुद्धीकरण हुनेछ ।