
तपाईं कर तिर्न कार्यालयतर्फ निस्कँदै हुनुहुन्छ ? या कर तिर्ने कार्यालयमा हुने भीड सम्झिएर हैरानीमा हुनुहुन्छ ?
कर कार्यालयमा हुने भीड एकातिर छ भने कर नतिरे जरिवाना तिर्नुपर्ने बाध्यता अर्कातिर । अझ कर तिर्न घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता उस्तै । त्यसको उदाहरण त तपाईं-हामी नै हौँ ।
कर तिर्न दिनभर कामको माया मारेर भोकभोकै बस्नुपर्ने बाध्यता सम्झँदै पनि विरक्त लाग्छ । तर, अब भने यो बाध्यता नेपालका लागि इतिहास बन्दै छ ।
कर तिर्न धाउनुपर्ने बाध्यतालाई चिर्दै अनलाइनबाटै कर तिर्न मिल्ने प्रविधि अहिले सञ्चालनमा आइरहेको छ । तपाईं यस प्रविधिसँग जानकार हुनुहुन्न भने वा कम जानकार हुनुहुन्छ भने हामी तपाईंलाई यस्तो प्रविधिको जानकारी गराउँदैछौँ । जसबाट तपाईंले आफ्नो घर वा अफिसबाटै विना झन्झट केही मिनेटमै सरकारलाई कर तिर्न सक्नुहुनेछ ।
घरमै बसेर कर पनि तिरिने, समय पनि बच्ने, भएन त काइदा !
पछिल्लो समय अत्याधिक लोकप्रिय रहेको कनेन्ट आईपीएसबाट तपाईंले घर वा अफिसबाटै कर तिर्न सक्नुहुनेछ ।
कनेक्ट आईपीएस प्रयोगकर्ताले विना झन्झट यो सुविधा प्रयोग गर्न पाउनेछन् ।
प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कनेक्ट आईपीएसले अनलाइनबाटै कर तिर्ने सुविधा ल्याएको हो । यसका लागि सेवाग्राहीले सर्वप्रथम कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नुपर्ने हुन्छ ।
कनेक्ट आईपीएसले यो सेवा झण्डै ४ वर्षदेखि सञ्चालनमा ल्याएको हो ।
कसरी बन्ने प्रयोगकर्ता ?
कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नका लागि सर्वप्रथम तपाईंले कम्पनीको वेबसाइट https://www.connectips.com/ मा लगइन गर्नुपर्ने हुन्छ ।
त्यसपछि त्यहाँ साइन अप र साइन इन अप्सन दिइएको हुन्छ । जसमध्ये नयाँ खाताका लागि साइन अपमा क्लिक गर्नुपर्दछ ।
यसपछि नयाँ ट्याब खुल्छ, जसमा तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू (नाम, लिंग, मोबाइल नम्बर, इमेल आईडी, जन्म मिति, जिल्ला) भर्नुपर्ने हुन्छ ।
यसपछि कनेक्ट आईपीएस प्रयोगका लागि युजरनेम र पासवर्ड पनि त्यहाँ राख्नुपर्ने हुन्छ ।
यति गरिसकेपछि कनेक्ट आईपीएस र तपाईंको खाता रहेको बैंकलाई अनलाइन वा बैंकमा गएर लिंक गर्न सक्नुहुनेछ ।
यसपछि तपाई कनेक्ट आईपीएस प्रयोगकर्ता बन्नुहुनेछ ।
यसबाट तपाईंले आफ्नो वा अन्य कसैको बैंक खातामा रकम पठाउन, इन्टरनेट, बिजुली बत्तीको बिल भुक्तानी गर्न सकिनेछ ।
कसरी तिर्ने कर ?
पछिल्लो समय लोकप्रिय बनिरहेको कनेक्ट आईपीएस विगत चार वर्षदेखि सरकारी राजस्व भुक्तानीको माध्यम बनिरहेको छ ।
कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्तालाई सरकारी राजश्व भुक्तानीका लागि विभिन्न विकल्प दिएको छ ।
राजश्व भुक्तानीका लागि आन्तरिक राजश्व विभागको वेबसाइट, कनेक्ट आईपीएसको मोबाइल एप, कर्पोरेट पे लगायतका विकल्पमध्ये तपाईंले कुनै एक उत्तम विकल्प छनोट गर्न सक्नुहुनेछ ।
करदाताले सरकारी भुक्तानी (गभर्मेन्ट पेमेन्ट) मा गएर आन्तरिक राजस्व विभाग (आईआरडी) बाट कर तिर्न सकिनेछ ।
आईआरडीमा क्लिक गरेर बैंक खाता नम्बर र भुक्तानी मूल्य छनोट गर्नुपर्छ ।
भुक्तानी विवरण (पेमेन्ट डिटेल्स) मा संस्थामा नेपाल सरकार राजस्व भुक्तानीसँगै रहेको भौचर नम्बर हालेर कनेक्ट आईपीएसबाट करदाताहरूले कर भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो समय अनलाइनमार्फत् कर तिर्ने सेवाग्राहीको संख्या बढ्दो छ । अनलाइनबाट कर तिर्दा कर कार्यालय गइरहने झन्झटबाट मुक्त त भइनेछ नै ।
यसबाहेक समग्र मुलुकलाई नै प्रत्यक्ष फाइदा समेत पुग्ने छ ।

भुक्तानी सीमा
ग्राहकले कनेक्ट आईपीएसमार्फत् कारोबार गर्दा रकम बमोजिम २ रूपैयाँदेखि ८ रूपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
५०० रूपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क २ रूपैयाँ, ५०० भन्दा माथि ५,००० सम्म प्रति कारोबार शुल्क ४ र ५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रूपैयाँ लागू हुन्छ ।
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा प्रति कारोबार शुल्क २ देखि ५ कायम रहेको छ ।
के हो कनेक्ट आईपीएस ?
कनेक्ट आईपीएस नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको हो । यसबाट विभिन्न किसिमका भुक्तानी कारोबार गर्न सकिन्छ ।
अनलाइनमार्फत कारोबार गर्न सकिने अन्य सेवाप्रदायक भन्दा कनेक्ट आईपीएस बढी सुरक्षित मानिन्छ । किनकि यसमा प्रयोगकर्ताले रकम राख्नु पर्दैन । यो एउटा माध्यम मात्र बन्छ र बैंकबाटै भुक्तानी गर्न सकिन्छ ।