नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस प्रकारको एसएमएस प्रवाह विगतदेखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै जनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरे । उनीहरूले भविष्यमा समेत यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
सम्झौताअनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद्सम्बन्धी प्रकोप तथा विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत पठाइने छ ।
यस अनुसार वर्षा, हावाहुरी, चटयाङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोट र डढेलो जस्ता प्रकोपहरूको पूर्वसूचना पठाइने छ ।
विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरू तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरूका एसएमएस पोलिगनहरू जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने छ ।
सम्झौताअनुसार पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायतका नदी तटीय क्षेत्र र अन्य स्थानीय तहको नक्सा वा जिल्लागत नक्सा वा आकस्मिक बाढी सम्भावित क्षेत्रहरू वा उपयुक्त कुनै वेसिनको नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराइने छ ।
त्यसैगरी प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभावस्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा, विभिन्न स्थानका कुनै विशेष भूभाग समेटिएको नक्सा र अन्य उपयुक्त नक्सा समेत उपलब्ध गराइने छ ।
यस सम्बन्धी एसएमएस सेवा नेपाल टेलिकमले विगत देखि नै नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपाल टेलिकमले पहिले देखि नै ७०० वटा सिम उपलब्ध गराइरहेकोमा अब थप १०० वटा समेत गरी ८०० वटा डाटा सहितको सिम नि:शुल्क उपलब्ध गराउने छ ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग मार्फत विगत २०७३ साल देखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको छ ।कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रवाह हुने यस प्रकारको पूर्वसूचनाबाट लाखौ व्यक्तिहरू लाभान्वित भएका र भविष्यमा समेत लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।