
सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने इंग्ल्याण्डको सपना पुनः एकपटक ‘सेमिफाइनल ट्र्याजेडी’ मा परिणत भएको छ।
खेलको ८५ औँ मिनेटसम्म १–० को अग्रता लिएर इतिहास रच्न लागेको इंग्ल्याण्डले अन्तिम ५ मिनेट सम्हालिन नसक्दा अर्जेन्टिनासँग २–१ को पीडादायी हार बेहोरेको हो।
एटलान्टामा भएको यो हारसँगै इंग्ल्याण्डको ६० वर्षे प्रतीक्षा मात्र लम्बिएको छैन, सन् २०१८ मा क्रोएसिया विरुद्धको सेमिफाइनलमा भोगेकै नियति पुनः दोहोरिएको छ। त्यतिबेला झैँ यसपटक पनि सुरुवाती अग्रता लिएर पनि इंग्ल्याण्ड हार बेहोर्न विवश भयो।
इंग्ल्याण्डका पूर्व स्टार वेन रुनीले अग्रता बनाएपछिको फितलो रणनीतिले हारको स्थिति बनेको बताए । उनले बीसीसीसँग भने, 'हामीले अग्रतापछि के गर्ने भन्ने नै बिर्सियौँ, निकै रक्षात्मक भयौँ र अन्ततः हामी भत्कियौँ।'
प्रशिक्षक थोमस टुचेलले अग्रता जोगाउन डेक्लान राइस जस्ता मुख्य खेलाडीलाई निकालेर 'बिग' ड्यान बर्नलाई मैदान छिराउँदै पाँच डिफेन्डरको रणनीति अपनाएका थिए । तर उनको रणनीति सफल हुन सकेन ।
यसअघि ५५ औँ मिनेटमा एन्थोनी गोर्डनको गोलले जगाएको आशालाई ८५ औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेज र इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै समाप्त पारिदिए । यी दुवै गोलमा कप्तान लियोनल मेस्सीको जादुमयी 'असिस्ट' निर्णायक बन्यो।
तथ्याङ्क अनुसार इंग्ल्याण्डले यो खेलभरि मात्र ५ पटक गोलको प्रयास गरेको थियो, जुन यस विश्वकपमा उसको सबैभन्दा कमजोर प्रदर्शन हो।
सानदार पुनरागमन गरेको साविक विजेता अर्जेन्टिना अब न्युयोर्कमा स्पेन विरुद्ध आफ्नो उपाधि रक्षाका लागि मैदान उत्रनेछ । इंग्ल्याण्डले भने तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नुपर्नेछ।