दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरेर कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
हरेक हप्ताको ३ दिन ३ ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
हरेक हप्ताको सोमवार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधवार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट र हरेक शुक्रवार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ ।
बुधवार बसेको कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताए । ३ ठाउँबाट कोरोना विरुद्धको जोनसोन खोप लगाइने छ । दाङमा ३ लाख ३० हजार ७४१ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
घोराही उपमहानगरपालिकाले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई बिहीवारदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदैछ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ ।
यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो । पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।
३८ हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उनको भनाइ थियो । वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायक पर्ने ठाउँमा खोप केन्द्र खोलेका छन् ।
उपमहानगरपालिकामा अहिलेसम्म १ लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुुवै डोज खोप लगाएको जनाइएको छ ।