
राष्ट्रिय सम्मेलनको जानकारी दिनका लागि पुस ७ गते माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको उपस्थितिमा केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना भएको थियो ।
उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय सम्मेलनको लोगो र नारा सार्वजनिक गरिएको थियो ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको नारा बनाएको थियो– नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणको लागि प्रथम राष्ट्रिय सम्मेलन । तर, पुस १० गते माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो ।
तत्कालीन प्रवक्ता महराले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले पार्टीको क्रान्तिकारी विचार निर्माण गर्ने र सोही अनुसारको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेका थिए ।
तर, पत्रकार सम्मेलन सकिएलगत्तै चियापानमा भेटिएका एक माओवादी कार्यकर्ताले महराको भनाइप्रति तीखो टिप्पणी गरिदिए– ‘कुन दिन एमालेसँग बिलय हुने ठेगान नभएको पार्टीको के क्रान्तिकारी विचार हुन्छ र ? महरा कमरेड आफैँ आउटडेटेड भइसक्नुभयो । उहाँले कसरी क्रान्तिकारी पार्टी बनाउनु होला ?’
नेताहरूको भनाइ र गराइबीचको विरोधाभाषप्रतिको असन्तुष्टि ती कार्यकर्ताको अभिव्यक्तिमा झल्किन्थ्यो ।

राष्ट्रिय सम्मेलनलाई छापामार शैलीमा महाधिवेशनमा लगेर प्रचण्डले ४५ पृष्ठको राजनीति प्रतिवेदन पेश गरे । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा प्रचण्डले आफ्ना कमजोरी र अयोग्यताको निर्मम समीक्षा गरेका छन् ।
प्रचण्डको प्रतिवेदनमाथि १७ सय ४२ प्रतिनिधिले घनिभूत छलफल गरे । प्रतिवेदनमा कण–कणको व्याख्या र विश्लेषण गरे । महाधिवेशन प्रतिनिधिले दिएको सुझाव समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता प्रचण्डले प्रतिनिधिसामु गरे ।
अझ उनले आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने र पार्टीको विचारलाई थप धारिलो बनाउने आश्वासन प्रतिनिधिलाई बाँडेका छन् । त्यसको अर्थ प्रचण्डले पार्टीको विचार तय गर्ने छलफलको लागि लामो समय उपलब्ध गराएका छन् ।
सोही महाधिवेशनमा प्रचण्डले स्थायी समितिबाट निर्णय गराएर बन्दसत्रको हलमा नाम वाचन गरेर घोषित भएका केन्द्रीय सदस्य सम्मिलित पहिलो केन्द्रीय समिति बैठकले प्रचण्डलाई पाँच वर्षका लागि पार्टीको हाइ कमान्डमा नवीकृत गरेको छ ।
प्रचण्डका ‘प्रचण्ड’ चुनौती
महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो पूर्ण बैठकबाट अध्यक्ष पुनः पार्टी अध्यक्षमा नवीकृत भएका थिए । केन्द्रीय सदस्यबाट निर्विरोध अध्यक्ष बनेपछि केन्द्रीय समितिलाई सम्बोधन गर्दैगर्दा प्रचण्ड निकै भावुक देखिएका थिए । सम्बोधनको क्रममा पटक–पटक उनको गला अवरूद्ध भयो । आँखा रसाएका थिए ।

जिम्मेवारीबोधले हो वा फेरि पनि पार्टीको हाई–कमाण्डमा रहन पाएको खुशीमा प्रचण्ड भावुक थिए । अथवा, आफूलाई सबै केन्द्रीय सदस्यले सहयोग गरेकोमा उनीहरूप्रति अनुग्रहित भएका पनि हुन सक्छन् । जसले उनको गला अवरुद्ध पार्यो । बोली रोकियो । जब उनी आफूमाथि आएको जिम्मेवारी र समाजप्रतिको दायित्वको कुरा गर्थे, उनको बोली रोकिन्थ्यो ।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो लागि पार्टीको हाई–कमाण्ड यो नै अन्तिमपटक हुने बताए । आफ्नो उमेर सक्रियताको कारण नेतृत्वमा रहने अन्तिम अवसर भएको उनलाई बोध रहेछ ।
देशप्रतिको जिम्मेवारी, जनता र देशको विकासको जिम्मेवारी झन् धेरै बढेको छ । नेतृत्वका लागि मेरो अन्तिम अवसर हुनेछ । नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्ने । मेरो लागि उमेर अवस्थाको दृष्टिकोणले अन्तिम अवसर र अन्तिम चुनौती ठानेको छु ।’
१० वर्ष लामो सशस्त्र युद्धको पृष्ठभूमिमा बनेको पार्टी शान्ति प्रक्रियामा आएपछिको पहिलो निर्वाचन (२०६४)मा देशको सर्वाधिक ठूलो राजनीतिक दलको रूपमा स्थापित भएको थियो ।
प्रचण्डको नेतृत्वमा तत्कालीन एमालेसहितको सरकार बनेको थियो । करीब नौ महिनामा सरकार ढलेपछि माओवादीको ओरालो यात्रा शुरू भयो ।
पार्टीभित्रको विग्रह व्यवस्थापन गर्न नसक्दा मोहन वैद्यको नेतृत्वमा एउटा खेमा पार्टीबाट बाहिरियो । भलै, मोहन वैद्यको खेमा पनि एक ढिक्का रहन सकेन ।
२०७० को दोस्रोपटकको संविधान सभा निर्वाचनमा माओवादी केन्द्र तेस्रो दलको हैसियतमा खुम्चियो । निर्वाचन परिणाम नै अस्वीकार गर्ने घोषणा गरेर हिँडेको माओवादीले अन्ततः परिणाम नस्वीकारी धर पाएन ।
संविधान निर्माणपछिको पहिलो निर्वाचन २०७४ मा माओवादी केन्द्र र एमालेको गठबन्धन बन्यो । पार्टी एकतासम्मको सहमति गरेर उनी निर्वाचनमा सहभागी भए ।
दुई पार्टीको गठबन्धनलाई जनताले अनुमोदन गरिदिए । एमाले–माओवादी गठबन्धनले देशव्यापी चुनाव जित्यो । सरकार गठनका लागि सहज बहुमत आयो ।
२०७० मा प्रत्यक्षतर्फ २६ सिटमा खुम्चिएको माओवादी केन्द्र एमालेसँगको तालमेलका कारण प्रत्यक्षतर्फ ३६ सिटमा उक्लिएको थियो । तर, अबको निर्वाचनमा माओवादी केन्द्र एक्लै सहभागी हुँदा पार्टी २०७० को भन्दा नाजुक अवस्थामा पुग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
सोहीकारण, आगामी चुनावमा वर्तमान सत्तारूढ गठबन्धन कायम राखेर जानुपर्ने तर्क प्रचण्डले गर्दै आएका छन् । प्रचण्डका लागि आगामी निर्वाचनमा पार्टीको सम्मानजनक स्थिति कायम राख्ने प्रमुख चुनौती छ ।
रूपान्तरणको चुनौती
माओवादी नेताहरू एजेण्डा र आन्दोलन बिर्सेर पद र सुविधा भोगी भएको भन्ने सोही पार्टीका कार्यकर्ताले आरोप लगाउने गरेका छन् । विशेषगरी, शीर्ष तहका नेताहरू आत्मकेन्द्रित व्यक्तिवादमा फसेको कारण पार्टी बिग्रिएको कार्यकर्ताको दाबी छ ।
प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि पार्टी कार्यकर्ता र नेतृत्वको जीवनशैली परिवर्तन हुनुपर्ने उल्लेख गरेका थिए ।
प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता कार्यकर्ता र जनताबीचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको हुन्छ ।’
त्यति मात्रै होइन, प्रचण्डले बेला बखत माओवादी र अन्य पार्टीमा भिन्नता देखिन छाडेको बताउने गरेका छन् । गत साउनमा भएको माओवादी केन्द्रको पूर्ण बैठकमा त प्रचण्डले माओवादी केन्द्रलाई अहिलेकै अवस्थामा राख्ने हो भने विघटन गरिदिए हुने समेत भनेका थिए ।
उनले उक्त विषयलाई आठौं महाधिवेशनको प्रतिवेदनमा पनि समेटेका छन् ।

‘जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरूसँग खासै भिन्नता देखिरहेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ’, प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनैतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस, छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्छ ।’
प्रचण्डको यो पाँच वर्षे कार्यकालको मुख्य चुनौती नै यही हो । उनी आफैँले खुट्याएको यो समस्याको समाधान दिन सके भने प्रचण्ड उनैले भनेको ‘अन्तिम अवसर’मा सफल हुनेछन् ।
राजनीतिक प्रतिवेदनमा उनले आफ्ना तमाम कमजोरी र अयोग्यता स्पष्ट उल्लेख गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूमा भ्रम छर्नका लागि मात्रै उनले आफ्ना कमजोरी औंल्याएका हुन कि व्यावहारिकरूपमा नै सुधारिनका लागि भनेका हुन् आगामी दिनमा पुष्टि हुँदै जानेछ ।
उत्पादन बिग्रेडदेखि कृषि उद्यमसम्मका कुरा
माओवादीले २०६९ मा हेटौंडामा आयोजना गरेको राष्ट्रिय सम्मेलनले नेता कार्यकर्तालाई जनतासँग जोड्नका लागि उत्पादन ब्रिगेड बनाउने प्रस्ताव पारित भएको थियो । तर, हेटौंडाबाट फर्केपछि कुनै पनि नेता कार्यकर्ताले सम्मेलनको प्रतिवेदन पल्टाउने जाँगर गरेनन् । बरू माओवादी नेता कार्यकर्ता पद र पैसाको आशक्तिमा अल्मलिए ।
त्यसको करीब नौ वर्षपछि केही नौलो कुरा प्रस्ताव गरेका छन् ।
समाजवादको गोरेटो बनाउका लागि मुख्यरूपमा अर्थतन्त्रलाई दलाल र विचौलियाको हातबाट जोगाउनुपर्ने र पार्टीले नै उत्पादन र विकासको काममा हात हाल्नुपर्ने प्रचण्डको तर्क छ ।
त्यसका लागि हरेक पालिकामा कम्तिमा ५० जना संलग्न गरी एउटा कृषि उद्यम/उद्योग ६ महिनाभित्र स्थापना गर्ने प्रचण्डको योजनालाई महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् । प्रचण्ड योजना कार्यान्वयनको काउन्ट–डाउन शुरू भइसकेको छ ।

त्यति मात्रै होइन, प्रचण्डले आफ्नै मातहत रहने गरी एक शक्तिशाली उद्यम व्यवसाय परिचालन विभाग गठनको प्रस्ताव पनि अनुमोदन भएको छ ।
प्रदेशमा कम्तिमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी कृषि प्रशोधन तथा बजार केन्द्र, चिस्यान केन्द्र सम्बन्धी उद्योग स्थापना गर्ने योजना पनि महाधिवेशनबाट अनुमोदन भएको छ ।
यसरी, स्थापना भएको उद्योगमा पार्टीका नेता कार्यकर्ताले वर्षमा कम्तिमा १५ दिन बिताउनुपर्ने योजना ल्याएका छन् ।
समाजवादको आधार तयार पार्ने भनेर ल्याइएका यी योजना पनि हेटौँडाको उत्पादन बिग्रेड जस्तै हुने त होइन भन्दै महाधिवेशन प्रतिनिधिले बन्दसत्र हलमै प्रश्न गरेका थिए ।
प्रतिनिधिको त्यो आशंका मेट्नु प्रचण्डलाई महाभारत युद्ध जित्नुसरह हुनेछ ।

महाधिवेशनपछि बन्यो त क्रान्तिकारी विचार
प्रचण्डले पेश गरेको प्रतिवेदनमा नेताहरू राम कार्कीले पूरक प्रस्ताव र लेखनाथ न्यौपानेले फरक मत दर्ता गरेका थिए । महाधिवेशनले यी दुवै दस्तावेजलाई राजनीतिक प्रतिवेदनको अङ्ग बनाउने भनेको छ ।
न्यौपानेले त फरक मत राख्दै प्रचण्डको प्रतिवेदन महाधिवेशन प्रतिवेदन नै हुन नसकेको भनेका थिए ।
‘महाधिवेशनको अर्थ, मूल्य र गुरूत्व जुन हुन्छ, त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरूको हल दिन सक्दैन’, न्यौपानेले फरक मतमा भनेका थिए ।
महाधिवेशन क्रान्तिकारी विचार बनाउन सफल भयो कि भएन भन्ने प्रश्नमा नेता राम कार्की भन्छन्, ‘विचार उन्नत हुने भनेको उत्पादन संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगमा लागेका मान्छेहरूको बीचमा गहन घनिभूत छलफलपछि नै नयाँ कुरा अगाडि आउँछ । नयाँ विचार भनेको विलक्षण प्रतिभा भएको व्यक्तिको दिमागबाट फुत्त झर्ने कुरा होइन ।’
बुद्धले प्राप्त गरेको बुद्धत्वको उदाहरण दिँदै कार्कीले प्रस्ट्याए, ‘नेपालमा हाम्रो बुझाइ बडो गलत छ । बुद्धले पिपलको रूखमुनि बसेर ध्यान गरेका कारण ज्ञान आयो भन्ने सोचाई छ । त्यस्तो होइन । त्यतिबेला जति शास्त्रीहरू थिए । जति दर्शन थियो । उनीहरूसँगको विहंगम छलफल, समीक्षापछि बुद्ध त्यो निष्कर्षमा पुगेका हुन् । ज्ञानको घनिभूत छलफलको निष्कर्ष हो । हाम्रोमा पनि त्यो नभएसम्म अहिले प्राप्त गरेको आंशिक ज्ञान मात्रै हो ।’
क्रान्तिकारी विचार बन्यो कि बनेन भन्ने कुरा प्रचण्डले परिमार्जन गर्ने प्रतिवेदन हेर्नुपर्ने उनी बताउँछन् ।
‘अध्यक्षले महाधिवेशन प्रतिनिधिको सुझाव पनि समेट्छु भन्नुभएको छ । त्यो कुन रूपमा आउँछ भन्ने हेर्नुपर्छ’, उनले भने ।
विचार क्रान्तिकारी भएर मात्रै पार्टी क्रान्तिकारी बन्न नसक्ने कार्की बताउँछन् । त्यो विचारलाई कार्यान्वयनमा लैजाने व्यक्ति पनि त्यही अनुसारको क्षमतावान हुनुपर्ने कार्कीले बताए ।
‘विचार लिएर तल्लो तहमा जाने कस्तो मान्छे अध्यक्षले विन्याश गर्नुहुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । कमिटीमा कसरी जिम्मेवारी दिनुहुन्छ, त्यसले पनि निर्धारण गर्छ’, कार्कीले भने, ‘विचारको विकास गर्ने भन्ने तर, विचारप्रति अलिकति पनि चनाखो नभएको मान्छेलाई जिम्मेवारी दिएर विचार त बन्दैन ।’
प्रचण्ड ३५ वर्षयता अविच्छिन्नरूपमा पार्टी नेतृत्वमा छन् । अब पाँच वर्ष उनी पार्टी अध्यक्ष हुनेछन् । यस अवधिमा उनकै नेतृत्वमा शक्तिशाली पार्टी बनाउँछन् वा झन् कमजोर हुनेछन् भन्ने उनकै कार्यशैलीमा भर पर्छ ।