
सोच्नुहोस् त, एक पटक कुनै काममा असफल भएमा तपाईं के गर्नुहुन्छ ? वा एउटै काममा पटक पटक असफल भएमा तपाईंले के गर्नुहुन्छ ?
हामी सबैको जवाफ हुन्छ : त्यसलाई त्यागिदिने र नयाँ काम गर्ने ।
यहाँ हामीले यस्तो व्यक्तिको चर्चा गर्दैछौँ, जसले जीवनमा निरन्तर असफलता व्यहोरेपनि आफ्नो रहर कहिल्यै फेरेनन् र अन्ततः सफल भएरै छाडे ।
यो घटना भारतको राजस्थानस्थित जालोरको हो ।
त्यहाँको सरदारगढ गाउँमा ७७ वर्षीय एक वृद्ध बस्छन् ।
उनले हालसम्म ५५ पटक कक्षा १० को परीक्षा दिइसकेका छन् । तर सबैमा फेल भए ।
तर पनि उनले हार मानेनन् र ५६ औं पटकको परीक्षामा भने पास हुन सफल भए ।
अहिले ती वृद्ध कक्षा १२ को परीक्षाका लागि तयारी गरिरहेको इण्डिया डटकमले उल्लेख गरेको छ ।
उनी सेवानिवृत्त सरकारी कर्मचारी हुकुमदास वैष्णव हुन् । २००५ मा चर्तुथ श्रेणीको कर्मचारीका रुपमा त्यहाँको ट्रेजरी विभागबाट सेवा निवृत्त भएका थिए ।
त्यसपछि उनले अध्ययनलाई निरन्तरता दिएका हुन् ।