२० असार २०८३, शनिबार
पर्दापछाडिका प्रेम आले

प्रेम आले– सामाजिक सञ्जालले 'हिरो' बनाएका एक विवादास्पद पात्र

माघ ५, २०७८
प्रेम आले– सामाजिक सञ्जालले 'हिरो' बनाएका एक विवादास्पद पात्र
तस्वीर : आलेको फेसबूक वालबाट

फेसबूकमा एउटा ग्रुप छ– ‘एक्सन मन्त्री प्रेम आले’ । जसमा एक लाख ३७ हजार मेम्बर छन् । उक्त ग्रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका हरेक गतिविधि पोस्ट हुन्छन् । उनकै बारेमा चर्चा परिचर्चा हुन्छ । 

अहिले सोसल मिडियामा सबैभन्दा चर्चामा छन्, मन्त्री आले । नारायणहिटी दरबार परिसरमा व्यवसायी आनन्द बतासलाई क्याफ्टेरिया बनाउन यसअघिको सरकारले दिएको अनुमति उल्ट्याउने निर्णय गरेदेखि आलेको चर्चा चुलिएको हो ।

यता पशुपति धर्मशालामा होटल चलाउन दिने निर्णय रद्द गराउन आले लागिपरेपछि ‘यो देश बनाउने मन्त्री’ नै आले मात्रै हो भन्दै सोसल मिडियामा लेख्न थालिएको छ । सोसल मिडिया आलेको प्रशंसाले रंगिएको छ ।

सोसल मिडियाको त्यही जमात हो केही समय अघिसम्म मन्त्री आलेलाई दानवीकरण गरिरहेको थियो ।

अघिल्लो कार्यकालमा वन तथा वातावरण मन्त्री हुँदा आलेको अभिव्यक्तिलाई लिएर सोसल मिडियामा निकै आलोचना र मजाक हुने गरेको थियो ।

उनले एउटा भाषणमा ‘कार्बनडाइअक्साइड दिने रूख बिरुवा जोगाउनु पर्ने’ भनेपछि उनको चेतनास्तरलाई लिएर सोसल मिडिया प्रयोगकर्ताले खरो टिप्पणी गरेका थिए । 

त्यति मात्रै होइन, कोरोना महामारीको दोस्रो लहर चलिरहँदा उनी वन तथा वातावरण मन्त्री थिए । विभिन्न निकायले अनुदानमा दिएको अक्सिजन सिलिन्डर उनको गृह जिल्ला डोटी पठाउँदा सिलिन्डरमा मन्त्रीको फोटो टाँसियो । उनको त्यो भद्दा प्रचार शैलीलाई पनि धेरैले आलोचनाको विषय बनाए । 

तर, अहिले मन्त्री आलेको चर्चा फेरिएको छ । ‘एक्सन मन्त्री’को रूपमा उनले आफ्नो छवि निर्माण गर्न थालेका छन् ।

त्यसमा पनि आफ्नै पूर्व पार्टी नेकपा एमालेका नेताहरूलाई उनले आक्रमणको केन्द्र बनाएका छन् । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आलेको घानमा परेका छन् ।

योगेश भट्टराईमाथि गाली र मन्त्री आलेप्रति तारिफको पुलिन्दा सोसल मिडियामा छ । उनलाई ‘सोसल’ हिरोको रूपमा प्रस्तुत गर्न खोजिएको छ ।

तर, आलेको निकट विगत नियाल्ने हो भने उनी हिजोआज सोसल मिडियामा छाएजस्तो, भनिएजस्तो गरिमामय व्यक्तित्व भएका मन्त्री भने होइनन् । 

उनको केही अभिव्यक्ति र कार्यशैलीको चर्चा गरौं–

२०७४ सालको निर्वाचनमा आले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा डोटीबाट चुनाव जितेका हुन् ।

एमालेको टिकटमा उनी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । 

शुरूमा माधव नेपाल खेमामा रहेका आले पछि पार्टी अध्यक्ष केपी ओलीको खेमामा पुगेका थिए । पार्टीभित्रको आन्तरिक द्वन्द्व र नेताहरूबीच जुँगाको लडाईंमा आलेले आफूअनुकूल क्याम्प परिवर्तन गरिरहे । 

ओलीनिटक भएकै कारण उनलाई वन मन्त्री बनाइएको थियो । मन्त्री भएपछि उनी विवादैविवादमा परे ।

वन मन्त्रीको रूपमा करीब ३ महिना काम गर्न नपाउँदै ओलीले क्याबिनेट पुनर्गठन गरे र आले हटाइए । आफूलाई नसोधी मन्त्रीबाट हटाएकोमा आले ओलीसँग फायर भएका थिए । 

उनले सार्वजनिकरूपमा पनि ओलीले एकपटक समेत नसोधी मन्त्रीबाट हटाएको भनेर आलोचना गरेका थिए । 

तत्कालीन नेकपामा विग्रह आयो । अन्ततः सर्वोच्च अदालतको आदेशको कारण एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए । एमालेभित्रको अन्तरसङ्घर्ष जारी रह्यो । 

आले भने माधव नेपाल खेमातिर समाहित हुन पुगे । एमालेको विवाद नसुल्झिने बरू पार्टी नै फुट्ने अवस्थामा पुग्यो । एमालेभित्रको असन्तुष्ट समूहसहित तत्कालीन प्रधानमन्त्री र एमालेविरुद्ध पाँच दलीय गठबन्धन बन्यो ।

ओली नेतृत्वको सरकार हट्ने संकेत पाएका आलेले प्रस्तावित प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर मन्त्रीका लागि ‘बार्गेनिङ’ गरे । उनले देउवा प्रधानमन्त्री भएर विश्वासको मत लिँदा आफ्नो तर्फबाट कम्तिमा ८ मत जुटाइदिने वाचा गरेको त्यसैबेला सार्वजनिक भएको थियो ।

एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी पार्टी) बनाउन आलेले माधव नेपाललगायत नेताहरूलाई गुन लगाएका छन् ।

आलेकै सहयोगमा ७–८ जना सांसद नेकपा एसमा आएका छन् । त्यही गुन तिर्न पनि माधव नेपालले आलेलाई मन्त्री बन्नबाट रोक्न सकेनन् ।

गत असोज २२ मा दोस्रोपटक उनी मन्त्रीको जिम्मेवारीमा सिंहदरबार प्रवेश गरेका हुन् ।

राजनीतिक बार्गेनिङ गरेर पर्यटन मन्त्रालयको कमाण्ड लिएका मन्त्रीको कार्यशैली कस्तो छ भन्ने बुझ्न उनका यसअघिका अभिव्यक्ति र प्रस्तुति नियाल्दा पुग्छ ।

मन्त्री आलेको चरित्र चित्रित हुने एउटा उदाहरण हो, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीसँगको टसल । 

बेलायत भ्रमणबाट शुरू भएको रेग्मीसँगको टसल कस्तोसम्म रह्यो भन्ने कुरा बोर्डको स्थापना दिवसको अवसरमा पुस १६ मा मन्त्री आलेको भाषणले छर्लङ्ग पारेको थियो ।

मन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिले गालीगलौज युक्त भाषा प्रयोग गरेर कर्मचारी सरहका बोर्डका सीईओमाथि खनिएका थिए ।

त्यसदिन आलेले बोर्डका सीईओ रेग्मीलाई ‘साँढे’को संज्ञा दिएर भनेका थिए, ‘यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ?’ त्यस दिनको उनको भाषणमा प्रयोग भएको शब्दले मन्त्री पदको गरिमाको खिल्ली उडायो ।

मन्त्रालयमा कर्मचारीलाई गर्ने व्यवहार र कार्यशैली पनि ‘अराजक’ प्रकृतिको हुने गरेको कर्मचारीहरू बताउँछन् ।

मन्त्रीले कर्मचारीलाई सामान्य आदरभाव पनि नदेखाउने हुँदा कर्मचारीहरू मन्त्रीको नजिक पर्नै नचाहने अवस्था रहेको मन्त्रालयका एक कर्मचारीले लोकान्तरलाई बताए ।

उनले चासो राखेका फाइलमा धमाधम काम हुनुपर्ने र केही गरी रोकिए आलेले कर्मचारीको सातो खाने गरेका छन् । सार्वजनिक रूपमै कर्मचारीलाई गालीगलौज गर्ने, अपमानित गर्ने गरी आले प्रस्तुत हुने गरेको कर्मचारीहरूको गुनासो छ । 

मन्त्रीको स्वार्थयुक्त काम गर्न सचिव र कर्मचारीलाई बाध्य पार्दै आतंक सिर्जना गरिएपछि उनीसँग काम गर्न नसक्ने भन्दै सचिव यादवप्रसाद कोइरालाले सरुवा लिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

कोइरालाले सरुवा मागेपछि पर्यटन मन्त्रालयमा आउने कर्मचारीको खोजी गर्दा नैतिकवान कोही पनि सचिव आउन नमानेको कर्मचारी वृत्तमा चर्चा छ ।

अन्तिममा आलेसँग काम गर्न पूर्व गृहसचिव महेश्वर न्यौपाने मात्रै तयार भएका थिए । सचिव न्यौपानेको कार्यशैली र स्वभावको चित्रण गर्दै पर्यटन मन्त्रालयकै एक कर्मचारीले भने, ‘सचिव र मन्त्रीको ट्युनिङ मिल्छ । उहाँहरू एकअर्कालाई बुझ्ने मान्छे हो ।’

मन्त्री आलेले आफूलाई एक्सन मन्त्रीको रूपमा प्रस्तुत गर्न थालेको भए पनि त्यसको आवरणमा कानूनविपरीत र आर्थिक अपचलनका काम हुने गरेको पर्यटन मन्त्रालय पुगेर फर्किएका सेवाग्राहीले बताउँछन् । 

पर्यटन मन्त्रालयमा आफ्नो कामको फाइल अड्किएपछि एक जना सेवाग्राही करीब दुई साताअघि मन्त्रीलाई भेट्न गएका रहेछन् ।

मन्त्री आलेको पार्टीका अध्यक्ष माधव नेपालको समेत नाम लिएर आलेलाई भेट्न गएका ती सेवाग्राहीले मन्त्रीबाट नसोचेको खप्की खाएर फर्किएका रहेछन् ।

ती सेवाग्राहीले भने अनुसार, मन्त्री आलेले उनीसँग हाकाहाकी पैसाको बार्गेनिङ गरेका थिए ।

अझ ती सेवाग्राहीले पार्टी अध्यक्ष माधव नेपालको नाम लिएपछि मन्त्री आले झन् आक्रोशित भएका थिए । ती सेवाग्राहीले मन्त्रीसँगको भेट स्मरण गर्दै भने, ‘म करोडौं खर्च गरेर मन्त्री भएको हुँ । मैले माधव नेपाल, झलनाथ खनाललाई नै लगेर पैसा बुझाउनुपर्छ । कि उनीहरूले पैसा नलेऊ भन्न सक्नुपर्‍यो । उनीहरूले नै पैसा लेऊ भनेपछि मैले कमिसन लिने हो ।’

उक्त भेटमा मन्त्री आलेले अमर्यादित अपशब्द बोलेर माधव नेपाल र झलनाथ खनाललाई नै गाली गरेको ती सेवाग्राहीले बताए । 

ती सेवाग्राही भन्छन्, ‘मन्त्रीले सार्वजनिक चर्चाको आवरणमा कमिसनको धन्दा चलाइरहेका छन् ।’

तरिका मिलेन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पछिल्लो समयमा गरिरहेको काम ठिकै भए पनि तरिका भने नमिलेको नेपाल सरकारका पूर्व सचिवहरू बताउँछन् । 

विशेषगरी, नारायणहिटी र पशुपति धर्मशाला सम्बन्धमा मन्त्रीले लिएको निर्णय ठिकै भए पनि उनले अपनाएको तरिका र प्रस्तुतिको शैली भने नमिलेको पूर्व सचिव विमलप्रसाद वाग्लेले बताए । 

‘मन्त्री भनेको काम लिने मान्छे हो । उहाँले काम लिने गरी निर्णय गर्ने हो र त्यसलाई कार्यान्वयन गराउने हो । आफैँ कार्यान्वयनमा जाने होइन । यो उनको तरिका मिलेन’, वाग्लेले भने । 

कर्मचारीले काम गरेनन् भने उनीहरूलाई कानूनी हिसाबले व्यवहार गर्न सकिने, तर सार्वजनिक रूपमा गाली गर्ने र होच्याउने गर्दा मन्त्रीकै गरिमा नरहने वाग्लेले बताए ।

‘मन्त्री भनेको निर्णय लिने जिम्मेवार ठाउँमा रहेको व्यक्ति हो । आफूले के गर्नुपर्छ भन्ने सोच विचार गरेर निर्णय गर्ने र कार्यान्वयन गराउने हो । तर, मन्त्रीले कर्मचारीसँग डिल गरेको तरिका मिलेको छैन’, उनले भने ।

पूर्व प्रशासक मात्रै होइन, उनलाई चिनेका राजनीतिक व्यक्ति पनि आलेको कार्यशैली सही नभएको बताउँछन् ।

एक जना राजनीतिज्ञले भने, ‘उनले एक्सनमा उत्रिएर सार्वजनिक रूपमा देखाएको छवि मात्रै सही होइन । त्यो सार्वजनिक छविलाई आवरण मात्रै बनाएको सूचनाहरू छन् । भित्री पाटो थाहा नपाएका व्यक्तिले उनको देवत्वकरण गरेका मात्रै हुन् ।’

नेपाली समाजले वस्तुनिष्ठ भएर भन्दा पनि त्यस बेलाको माहोल हेरेर व्यक्तिकाप्रति धारणा बनाउने गरेकाले मन्त्री आले अहिले हाइहाई भइरहेको ती नेताले बताए । 

तर, त्यही सोसल मिडिया प्रयोगकर्ताले जुनसुकै बेला आलेलाई नराम्ररी खेद्ने सम्भावना पनि उत्तिकै रहेको उनी बताउँछन् ।

‘हामीमध्ये धेरै विषयवस्तुको गहिराइमा नपुगी टिप्पणी गरिहाल्छौं । त्यसको वास्तविकता भने बुझेका हुँदैनौं । अहिले मन्त्री आलेको विषयमा भएको पनि त्यही हो’, ती नेताले भने ।

salt training

कमेन्ट गर्नुहोस्