
फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत केहीबेरमा साविक विजेता अर्जेन्टिना र विश्वकपमा पहिलो पटक डेब्यु गरेको केप भर्डेबीच प्रतिस्पर्धा हुँदैछ।
मियामी स्टेडियममा नेपाली समयअनुसार पौने ४ बजे हुने यस खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसी सुरुवाती ११ मा फर्किएका छन् ।
प्रशिक्षक लियोनेल स्कालोनीले जोर्डनविरुद्धको अन्तिम समूह खेलमा आराम दिएका कप्तान मेसीसहित टोलीमा नौ परिवर्तन गरेका छन्। अर्जेन्टिना यस विश्वकपको समूह चरणमा आफ्ना सबै तीन खेल जित्ने तीन टोली (मेक्सिको र फ्रान्ससहित) मध्ये एक हो। साविक विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेर अर्जेन्टिनाले यस शताब्दीमा ब्राजिल (२००६) र फ्रान्स (२०२२) पछिको तेस्रो टोली बन्ने रेकर्ड समेत बनाएको छ।
अर्कोतर्फ, केप भर्डेका लागि यो खेल ऐतिहासिक हुनेछ। करिब ५ लाख ६० हजार मात्र जनसंख्या भएको यो सानो अफ्रिकी टापु राष्ट्रले आफ्नो पहिलो विश्वकपमै नकआउट चरण पुगेर सबैलाई आश्चर्यचकित पारेको छ। प्रशिक्षक बुबिस्टाले साउदी अरेबियासँग बराबरी खेलेको टोलीमा पाँच परिवर्तन गर्दै साविक विजेतालाई टक्कर दिने तयारी गरेका छन्।
अर्जेन्टिना निकै बलियो मानिए पनि विश्वकपमा हुने अप्रत्याशित नतिजाहरूलाई मध्यनजर गर्दै केप भर्डेले ठूलो उलटफेर गर्ने लक्ष्य राखेको छ। अर्जेन्टिनाको टोलीमा मेसीसँगै जुलियन अल्वारेज, एलेक्सिस म्याक एलिस्टार र इन्जो फर्नान्डेज जस्ता स्टार खेलाडीहरू मैदान उत्रनेछन्।
यस खेलको विजेताले अन्तिम १६ को चरणमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले आजै भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
अर्जेन्टिनाको सुरुवाती ११:
मार्टिनेज, मेडिना, मार्टिनेज, रोमेरो, मोलिना, अल्माडा, फर्नान्डेज, म्याक एलिस्टार, डे पल, मार्टिनेज, मेसी।
केप भर्डेको सुरुवाती ११:
भोजिन्हा, काब्राल, बोर्जेस, लोपेस, मोरेरा, पिना, काब्राल, डी डुआर्टे, एल डुआर्टे, मेन्डेस, दा कोस्टा।