२३ असार २०८३, मंगलबार

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

असार २२, २०८३
काठमाडौं
विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् ।​ 

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए ।

मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरूले विज्ञान र प्रविधिलाई कम महत्त्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गरे ।

मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत (रु चार अर्ब) विनियोजन गरिएको जनाउँदै बजेट पेस भएको समयमा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड अबण्डामा राखिएको उनले बताए ।

मन्त्री पुनले प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गर्दै आएको उल्लेख गरे ।

मन्त्रालयले नेतृत्व पाएपछि नियम कानुनको तयारी एवं सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काममा लागेको उनले जानकारी दिए । युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव मागिने उनको भनाइ छ ।

मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई बजेट बढाइने अवगत गराए ।

salt training

कमेन्ट गर्नुहोस्