०३ असार २०८३, बुधबार

संस्कृतका अक्षरसँग रमाउँदै थारु चेलीहरू, प्राचीन भाषामा बढ्यो आकर्षण

माघ ६, २०७८
संस्कृतका अक्षरसँग रमाउँदै थारु चेलीहरू, प्राचीन भाषामा बढ्यो आकर्षण

बाहुनले मात्रै पढ्ने र कामै नलाग्ने भाषाको रूपमा लिइने संस्कृत भाषामा अब जनजातिका छोराछोरी पनि रमाउन थालेका छन् ।

कुनै बेला नेपाली पाठ्यक्रममा अनिवार्य विषयको रूपमा समावेश गरिएको संस्कृत भाषाको पढाइमा १० वर्षे सशस्त्र द्वन्द्वताका तत्कालीन नेकपा माओवादीले अवरोध गरेको थियो । बुर्जुवा शिक्षाको संज्ञा दिँदै माओवादीले पठनपाठनमा रोक लगाएको थियो ।

आज त्यही विषय बाहुनका छोराछोरीले मात्रै होइन, आदिवासी जनजाति र थारु समुदायका बालबालिका पढिरहेका छन् ।

त्यसैमध्येका एक हुन् कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाकी १७ वर्षीया आरजु चौधरी । आरजु काठमाडौंस्थित दरबार हाई स्कूलमा १२ कक्षामा अध्ययनरत छिन् । 

प्राचीन भाषाको रूपमा रहेको संस्कृत भाषामै मास्टर्स गरेर भाषाको विस्तार गर्ने सपना आरजुले बुनेकी छन् ।

माघी मनाउन घर आएकी उनले भनिन्, ‘संस्कृत सबै भाषाको जननी हो । मेरो शिक्षाको आधार नै संस्कृत हो । १२ कक्षापछि शास्त्री (स्नातक) गर्ने लक्ष्य हो । त्यसपछि आचार्य (स्नाकोत्तर) सम्मको उपाधि हासिल गरी संस्कृत भाषालाई जोगाउने र विस्तार गर्ने मेरो उद्देश्य छ ।’ 

काठमाडौंकै गार्गी कन्या गुरुकूलबाट प्रारम्भिक शिक्षा लिएकी आरजुले ८ देखि १० कक्षासम्मको अध्ययन चितवनस्थित रामजानकी बालिका आश्रमबाट गरेकी हुन् । एसईईमा ‘ए’ प्लस ल्याएकी उनी हाल दरबार हाई स्कूलमा अध्ययनरत छिन् ।

प्राविधिकसहित हालका चलनचल्तीका विषय अध्ययन गर्नतर्फ ध्यान नजानुको कारणबारे उनले भनिन्, ‘शिक्षालाई सीमित जाति समुदायमा मात्रै सीमित गरिएको छ । कर्मकाण्डी, पूजापाठ, ज्योतिषीको कार्य सीमित जातिकाले मात्रै गर्नुपर्छ भन्ने मानसिकता छ तर अरुले गर्न सक्छन् भन्ने मेरो भनाइ हो । प्राविधिक विषय तथा अन्य विषय जत्तिकै यसमा पनि सम्भावना छ ।’

आरजु चौधरी

आरजुका बुवा विनोद चौधरी पनि संस्कृत भाषा शिक्षातर्फ छोरीलाई सानैदेखि हौंस्याउँदै आएका छन् । छोरीको कुरामा थप्दै विनोद भन्छन्, ‘संस्कृत आफैंमा ज्ञानको जननी हो तर यसलाई खुम्च्याउँदै लगियो । जुनकारण अहिलेको अवस्थामा पुगेको हो । छोरीले पढ्ने इच्छा गर्छ भने यही पढोस् ।’

संस्कृतमा उच्च शिक्षा आर्जन गर्ने थारु समुदायका व्यक्ति एकदमै न्यून संख्यामा अध्ययन गर्नेहरू रहेका विनोदको भनाइ छ ।

आफ्नै पहलमा थप १ बालिका पनि संस्कृत विषय अध्ययन गरिरहेकी विनोद चौधरीले बताए ।

उनका अनुसार चितवनको देवघाटमा धनगढी उपमहानगरपालिका घुइयाघाटकी वीणा र कैलारी गाउँपालिका–६ खरेट्टीकी प्रतिभा चौधरी ९ कक्षामा अध्ययनरत छन् ।

कैलारी गाउँपालिका–६ बनकट्टाकै दीक्षा चौधरी पनि देवघाटमा ८ कक्षामा अध्ययनरत छिन् ।

संस्कृत भाषा शिक्षाको क्रेज घटिसकेको अहिलेको अवस्थामा जनजाति, थारु, दलित समुदायबाट न्यून संख्यामा संस्कृत विषय लिएर उच्च शिक्षा हासिल गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीकी बेला चौधरी संस्कृत लिएर शास्त्री अध्ययनरत छिन् । उनी संस्कृत विषय निकै नै सभ्भावनाको विषय भएको सुनाउँछिन् ।

संस्कृत भाषामा स्नाकोत्तर गरी हाल प्रध्यापन गरिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–१३ शिवनगरका मोहन चौधरीले संस्कृत भाषाको क्षेत्र व्यापक रहेको बताए ।मोहन चौधरी

शास्त्री उत्तीर्ण गरेका उनी २०६४ सालमा दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (स्नाकोत्तर) उत्तीर्ण भएका हुन् । संस्कृतमा आचार्य गर्ने उनी एक्ला थारु हुन् ।

आचार्य गरेलगत्तै उनी आफू पढेकै कञ्चनपुरस्थित शारदा संस्कृत विद्यापीठ महेन्द्रनगरमा अध्यापन गराउँदै आएका छन् । विद्यापीठका उनी स्थायी उपप्राध्यापक हुन् ।

आचार्य चौधरीका अनुसार संस्कृत शिक्षाप्रति आकर्षण बढाउन सरकारले आदिवासी जनजाति, दलित समुदायका विद्यार्थीलाई प्रतिमहिना २ हजार रुपैयाँका दरले छात्रवृति दिँदै आएको छ भने बाह्मण क्षेत्री समुदायका छात्रालाई मासिक १ हजार १०० र छात्र विद्यार्थीलाई मासिक ९०० रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।

संस्कृत विषय अन्तर्गतको ज्योतिष शास्त्र विषय प्रविधिसँग जोडिएपछि झनै आकर्षण बढेको आचार्य चौधरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्