
गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीए एलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् ।
बीए एलएलबीको पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याएका मध्य प्राञ्जली कंडेल र अञ्जली तिवारीलाई बिहीवार टेलिफोन गरेर गृहमन्त्री खाँणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोधेका छन् ।
विश्वविद्यालयले पुस २९ गतेबाट शुरू गरेको बीए एलएलबी चौथो वर्षको परीक्षामध्ये बुधवार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षार्थीहरूले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीको टोली बिहीवार गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय आएको थियो ।
काठमाडौं स्कूल अफ ल भक्तपुर दधिकोटमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्र लगायतका विद्यार्थीहरू मन्त्री खाँणलाई भेट्न मन्त्रालयमा आएका थिए ।
उनीहरूलाई मन्त्री खाँणले पढ्नमा ‘ट्यालेन्ट’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर परीक्षाको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगन भएमा केही तयारी गर्न पाइन्थ्यो भरेर स्थगनको माग राखेको भन्ने कुरा आएकाले यथार्थ के हो भनेर सोधेका थिए ।
त्यसपछि विद्यार्थीले बीए एलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए ।
उनीहरूको त्यो जवाफपछि मन्त्री खाँणले पहिलो हुने विद्यार्थी कंडेल र तिवारीको मोबाइल नम्बर मागेर टेलिफोन गरेका थिए । मन्त्री खाँणसँग टेलिफोनमा कंडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टरले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।
अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । गृहमन्त्री खाँणलाई विद्यार्थीहरूले भेटेर स्वास्थ्यका मापदण्ड नअपनाई विश्वविद्यालयले परीक्षा सञ्चालन गरिएको भन्दै स्थगन गर्न माग गरेका छन् ।
उनीहरूले गृहमन्त्री खाँणसँग कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउदै कोठामा राखेर परीक्षा लिँदा सबैलाई संक्रमण हुने भन्दै कि त छुट्टाछुट्टै राखेर परीक्षा दिने वातावरण निर्माण गरिदिनुपर्ने, नभए स्थगन गरिदिन माग गरेका छन् ।
गृहमन्त्रीलाई भेट्न आएका शर्माले बुधवार चौथो वर्षका परीक्षा दिने १५० जनामध्ये २७ जनाले मात्र परीक्षा दिएका बताए । परीक्षा दिनेमध्य ९ जनालाई कोभिड–१९ संक्रमण भएको पनि गृहमन्त्री खाँणलाई भेट्न आएका शर्माले जानकारी दिए ।
आफूहरूले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गराउन माग गर्दै बुधवार शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री खाँणले आफूले सबै विद्यार्थीले स्थास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने बताएका थिए । ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौं । निर्णय भएपछि तपाईंहरूलाई जानकारी आउँछ,’ गृहमन्त्री खाँणले भने ।