०६ साउन २०८३, बुधबार
रुस-चीन मित्रताको चर्चा

के हो रुस–चीन सम्बन्धको बलियो आधार ?

के हो रुस–चीन सम्बन्धको बलियो आधार ?

रुस र चीनबीचको रणनीतिक सहकार्य दिनदिनै बलियो हुँदै गएको छ । दुवै देशले साझेदारीमा जोड नदिएको भए पनि चीनका राष्ट्रपति सी चिनपिङले यो सम्बन्धको निकटता तथा प्रभावकारिता साझेदारीभन्दा उच्च भएको बताएका छन् । 

रुस र चीन दुवै नयाँ शीतयुद्धको वास्तविकतालाई स्वीकार गर्न वा पश्चिमसँग बढिरहेको शत्रुतालाई चर्काउन अनिच्छुक थिए । तर त्यही वास्तविकताका कारण उनीहरूको सम्बन्ध घनीभूत भएकोमा कुनै शंका छैन । 

दुई शीर्ष नेताबीचको व्यक्तिगत सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा फाइदा पुगेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सीलाई अत्यन्तै भरपर्दो साथी भनेका छन् । एक अन्तर्वार्ताकारसँग उनले आफ्नो जन्मदिन सँगै मनाउने एक मात्र विश्वनेता सी भएको समेत बताए । सीले पुटिनलाई आफ्नो सबभन्दा नजिकको मित्र भनेका छन् । 

यी दुई तथ्यहरूका कारण पश्चिममा धेरै विश्लेषकहरूले रुस र चीनको सहकार्य सहजताका लागि मात्र भइरहेको र अहिलेको शत्रुतापूर्ण परिस्थिति वा भविष्यमा अन्य नेताहरू आएपछिको स्थितिमा सहकार्य टुट्ने बताएका छन् । तर पश्चिमीहरूले यसलाई हलुका रूपमा लिन मिल्दैन । 

पुटिन र सीबीचको निकट सम्बन्धका कारण रुस–चीन सम्बन्धमा फाइदा पुगेको भए पनि निकै लामो समयदेखि यो निकटता कायम छ । ‘चाइना यान्ड रसिया : द न्यु राप्रोस्माँ’ नामक पुस्तकमा अलेक्जेन्डर लुकिन लेख्छन्, ‘दुई देशबीचको सुसम्बन्ध एकाध नेताहरूले इच्छा गरेको भरमा बनेको छैन । सबै नेताहरूको शासनमा यस्तो सम्बन्ध कायम थियो ।’

लुकिनका अनुसार, सुमधुर सम्बन्धको आरम्भ लियोनिड ब्रेजनेभको शासनको अन्त्यतिर हुन थालेको थियो । गोर्भाचभका लागि चीनसँगको सम्बन्ध सुधार प्राथमिकताको विषय थियो । सन् १९८६ मा गोर्भाचभले एसियातर्फ फर्किने सोच अघि सारेका थिए अनि चीनसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा विचार गरेका थिए । 

सन् १९९१ को अन्त्यमा गोर्भाचभले सोभियत संघको राष्ट्रपतिका रूपमा राजीनामा दिनुअघ दुई देशका परराष्ट्र राज्यमन्त्रीहरूले रुस र चीनको नयाँ सम्बन्धका विषयमा वार्ता गरेका थिए । त्यसको एक वर्षअघि एकध्रुवीय विश्व निर्माण हुन लागेको र आर्थिक विकासको आवश्यकता पनि बढेको सन्दर्भमा चीनका तत्कालीन राष्ट्रपति तङ स्याओपिङले सोभियत संघका जस्ता परिवर्तनहरू आएको भए पनि आफूहरूले उससँग शान्त भएर सम्बन्ध बढाउनुपर्ने बताएका थिए । 

सोभियत संघको पतन भएर रुस बनेपछि पनि सम्बन्धमा सुधार कायम रह्यो । सन् १९९२ को डिसेम्बर महिनामा बोरिस येल्तसिन चीन पुगेर एक घोषणापत्रमा हस्ताक्षर गरे । त्यसमा असल छिमेकी, मित्रता र पारस्परिक लाभकारी सहकार्य सहितको सम्बन्ध विकसित गर्ने सहमति भएको थियो । अहिले दुई देशको सम्बन्धको आधार त्यही घोषणापत्र हो । 

अमेरिकी नेतृत्वको एकध्रुवीय विश्वमा रुसलाई दिइएको भूमिकाबाट निराश भएका येल्तसिनले चीनसँग मित्रतापूर्ण सम्बन्ध विकसित गर्नुपर्ने सोच राख्न थालेका थिए । 

सन् १९९५ मा आइपुग्दा रुसका लागि चीन सबभन्दा महत्त्वपूर्ण मुलुक बनेको थियो । येल्तसिनले भने, ‘विश्व राजनीतिको सवालमा चीनसँगको सम्बन्ध अत्यन्तै महत्त्वपूर्ण छ । पश्चिमसँगको सम्बन्धमा हामी चीनको आड लिन सक्छौं । त्यसपछि पश्चिमले रुसलाई सम्मान दिन्छ ।’

शीतयुद्धपछिको विश्व व्यवस्थाका लागि अमेरिकाले बनाएको योजनालाई गतिलै चुनौती दिने बहुध्रुवीय विश्वको अवधारणा सन् १९९४ मै आएको थियो । त्यो साल रुस र चीनले उदीयमान बहुकेन्द्रीय विश्व व्यवस्थामा शान्ति र स्थिरता कायम गर्नका लागि प्रमुख तत्त्वका रूपमा रहेका शक्तिका रूपमा एकअर्कालाई पहिचान दिने घोषणापत्रमा हस्ताक्षर गरेका थिए । 

त्यस अवधारणालाई सन् १९९७ को अप्रिल महिनामा औपचारिक रूपमा ग्रहण गरिएको थियो । येल्तसिन र चीनका तत्कालीन राष्ट्रपति च्याङ चमिनले बहुध्रुवीय विश्वसम्बन्धी रुस र चीनको संयुक्त घोषणा तथा नयाँ विश्व व्यवस्थाको स्थापनामा हस्ताक्षर गरेका थिए । दुई देशबीचको सम्बन्ध पुटिन र सी सत्ताबाट हटेपछि पनि जारी रहन्छ किनकि यो उनीहरूभन्दा पहिलेदेखिको सम्बन्ध हो । 

पश्चिममा धेरै विश्लेषकहरूले रुस र चीनको सहकार्य सहजताका लागि मात्र भइरहेको र अहिलेको शत्रुतापूर्ण परिस्थिति वा भविष्यमा अन्य नेताहरू आएपछिको स्थितिमा सहकार्य टुट्ने बताएका छन् । तर पश्चिमीहरूले यसलाई हलुका रूपमा लिन मिल्दैन । 

केन्ट विश्वविद्यालयका रुसी तथा युरोपेली राजनीतिका प्राध्यापक रिचर्ड साक्वाका अनुसार, सन् १९९६ तिरबाटै रुसको परराष्ट्रनीति आन्ध्र महासागरबाट सरेर चीन र भारत जस्ता उदाउँदा शक्तिहरूतर्फ केन्द्रित हुन थालेको अनि रुसले बहुध्रुवीयतालाई अगाडि बढाउन थालेकाले उक्त घोषणापत्रमा हस्ताक्षर सम्भव भएको हो । दुवै देश परिवर्तनका लागि तयार थिए । 

त्यही वर्ष चीनका एक लेखक सी लाइवाङले दुई देशबीचको सम्बन्ध तीन हैन र तीन हो मा अडिएको भनी वर्णन गरे ः साझेदारी नगर्ने, एकअर्काको विरोध नगर्ने र तेस्रो पक्षका विरुद्ध कारवाही नगर्ने अनि असल छिमेकी बन्ने, असल सहयोगी बन्ने र असल मित्र बन्ने । त्यही वर्ष येल्तसिनले दुई देशबीचको सम्बन्धलाई रणनीतिक अन्तर्क्रिया भने । लुकिनका अनुसार, यी शब्दहरू अहिले पनि आधिकारिक नीतिमा उपयोग गरिन्छन् । 

दुई वर्षपछि च्याङ चमिनले रुस–चीन सम्बन्धलाई नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्धका रूपमा वर्णन गर्न थालिसकेका थिए । 

पुटिनको उदयले यस सम्बन्धलाई थप मजबूत बनायो । लुकिनका अनुसार, ‘बोरिस येल्तसिनको नीतिमा अस्थिरता तथा उनको व्यक्तिगत व्यवहारले समेत चीनलाई केही चिन्तित बनाएको थियो ।’ पुटिनले सम्बन्धको आधारलाई स्थिर बनाउने काम गरे । 

सन् २००१ मा रुस र चीनले सम्बन्धलाई आधिकारिकता दिए र असल छिमेकी तथा मैत्रीपूर्ण सहकार्य सन्धिमा हस्ताक्षर गरे । पुटिन आउनुभन्दा एक दशकअघि हस्ताक्षर गरिएका कैयौं दस्तावेजलाई यसले कानूनी संरचना प्रदान गरेको थियो । रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले दुई देशबीचको स्थिर, पूर्वानुमान गर्न सकिने तथा बहुपक्षीय सम्बन्धको भरपर्दो राजनीतिक तथा कानूनी आधार यस सन्धिले दिलाएको बताएका छन् । 

साक्वाका अनुसार, चीन र रुसको सम्बन्ध साझा स्वार्थ तथा अन्तर्राष्ट्रिय प्रणालीको परम्परागत बुझाइमा आधारित छ । विश्व राजनीतिको आधारभूत सवालहरूमा उनीहरूको अडान उस्तै किसिमको छ । 

पुटिन सत्तामा आएपछि भनेका थिए, ‘बहुसंख्यक अन्तर्राष्ट्रिय विषयहरूमा चीन र रुसले उस्तै अडान राखेका छन् र उनीहरू एउटै किसिमको सिद्धान्तमा अडिग छन् । बहुध्रुवीय विश्व कायम गर्ने तथा बलियो बनाउने हाम्रो लक्ष्यलाई मैले सन्दर्भ बनाएको हुँ ।’

सन् १९९० को दशकको आरम्भतिरबाटै चीनका नेताहरूले रुसप्रतिको दृष्टिकोण बनाउँदा एकध्रुवीय विश्वविरुद्ध सन्दर्भ दिन थालिसकेका थिए भन्छन् लुकिन । वाशिङटनले जुनसुकै हालतमा पनि एकध्रुवीय विश्वको लक्ष्य हासिल गर्न मरिहत्ते गरेपछि बेइजिङले त्यसविरुद्धको संघर्षमा रुस सहयोगी बन्न सक्छ भन्ने बुझ्न थालेको थियो । सन् २००७ सम्म आइपुग्दा बहुध्रुवीय विश्व स्थापना गर्न तथा न्यायपूर्ण र तर्कसंगत विश्व व्यवस्था कायम गर्ने लगायतका प्रमुख विषयमा चीन र रुसको समान अडान रहने कुरामा बेइजिङ स्पष्ट भइसकेको थियो । 

युक्रेन संकटले दुई देशबीचको न्यानो सम्बन्धलाई थप उचाइमा पुर्‍यायो । नेटोले सुरक्षा परिषद्लाई विस्थापित गर्न खोजेको अनि आक्रामक विस्तार गरिरहेकोले रुस र चीनको चिन्ता बढेको थियो । युक्रेन संकटले त्यस आगोलाई थप दन्काएको भए पनि त्यसभन्दा निकै अघि आगो लाग्न थालेको थियो । साक्वाका अनुसार, सुरक्षा परिषद्को अनुमतिविना नेटोले सर्बियामा बमवर्षा गरेपछि झिल्को आगोमा परिणत भएको हो । 

कुनै पनि चुनौतीले रुस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई नाटकीय रूपमा खराब बनाउने समस्या निम्त्याउँदैनन् भन्ने मत लुकिनको छ । उनका अनुसार, रुस र चीनको रणनीतिक सहकार्यको वर्तमान आधार बलियो र ठोस भएकाले कुनै पनि मतभिन्नता प्रभावकारी रूपमा समाधान गरिन सक्छन् ।

चीन र रुस दुवैले संयुक्त राष्ट्रसंघको बडापत्रलाई आधार बनाएर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने सीले बताएका थिए । दुवै मुलुकले बहुध्रुवीय विश्वतर्फको प्रगतिलाई समर्थन गर्ने उनको भनाइ छ । पश्चिमले देखाउन थालेको शत्रुता, प्रतिबन्ध तथा नयाँ शीतयुद्धतर्फको अभ्यासले दुई देशबीचको सम्बन्धलाई घनीभूत बनाएको छ तर यो त्यसभन्दा पुरानो र दिगो छ । 

यो सम्बन्ध घनीभूत भएको भए पनि दुई देशबीच साझेदारी चाहिँ बनेको छैन यद्यपि सैन्य स्तरमा यो अर्धसाझेदारीको स्तरमा पुगेको छ । दुई देशको सम्बन्ध अत्यन्तै निकट भए पनि चुनौती पनि उत्तिकै छन् । 

केही कुरामा विमति छन् । युक्रेन संकटका लागि अमेरिकाको अतिक्रमण तथा सार्वभौम मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेप जिम्मेवार रहेको भनी चीनले आरोप लगाउने गरेको भए पनि रुसले क्राइमियालाई रुसमा विलीन गराएको चीनलाई चित्त बुझेको छैन । तर यसका बावजूद चीनले रुसलाई समर्थन गरेको छ ।

अनि कतिपयले चीनप्रति रुसको आर्थिक निर्भरताका विषयमा चिन्ता व्यक्त गरेका छन् । तर चीनतर्फ ढल्किने समयमा रुसले त्यसको विकल्प भनेको अमेरिकाप्रतिको निर्भरता तथा दोस्रो दर्जाको हैसियत नै हो भन्ने कुरा थाहा पाइसकेको थियो । अनि लुकिनका अनुसार, चीन आफूभन्दा आर्थिक रूपमा बलियो छ भन्ने कुराले रुस डराउन पर्दैन जसरी अमेरिकाको आर्थिक शक्ति देखेर क्यानडा तर्सिनुपर्ने कारण छैन । 

तेस्रो चुनौती भनेको दुई देशबीचको अन्तःसम्बन्ध यथार्थवादी स्तरमा पुग्न ढिलाइ भइरहेको छ । साक्वा भन्छन्, ‘दुवै देशका नागरिक तथा व्यापारीहरूले गहिरो सम्बन्ध कायम गरेका छैनन् ।’ दुवै देशका सरकारहरू यस चुनौतीका बारेमा जानकार छन् र सांस्कृतिक आदानप्रदान तथा एकअर्काको भाषा सिक्नका लागि प्रेरित गरेर यस चुनौतीलाई सम्बोधन गरिरहेका छन् । 

कुनै पनि चुनौतीले रुस र चीनबीचको द्विपक्षीय सम्बन्धलाई नाटकीय रूपमा खराब बनाउने समस्या निम्त्याउँदैनन् भन्ने मत लुकिनको छ । उनका अनुसार, रुस र चीनको रणनीतिक सहकार्यको वर्तमान आधार बलियो र ठोस भएकाले कुनै पनि मतभिन्नता प्रभावकारी रूपमा समाधान गरिन सक्छन् ।

रुस र चीनबीचको सम्बन्ध दुवै देशको वर्तमान नेतृत्वपछि अनि अहिलेको संकटपछि पनि कायम रहनेछ । चीनका पूर्व परराष्ट्र राज्यमन्त्री फु यिङले भनेका थिए, ‘चीन र रुसको समबन्ध स्थिर रणनीतिक सहकार्य हो र सजिलाका लागि बनेको सम्बन्ध मात्र हैन । यो जटिल, बलियो र गहिरोसँग जरा हालेको सम्बन्ध हो ।’

रेस्पोन्सिल स्टेटक्राफ्ट डट्कममा प्रकाशित टेड स्नाइडरको रिपोर्टलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्