
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता गरेकाले उनलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ ।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वको ३ सदस्यीय छानबिन समितिले सीईओ रेग्मीको खराब आचरण रहेकोदेखि पर्यटन बोर्डलाई नोक्सानी पुर्याउने र पदीय मर्यादाविपरीत सुन तस्करीमा संलग्न भएकोसम्मको निष्कर्ष निकालेको छ ।
रिजालको संयोजकत्वमा पर्यटन बोर्ड सञ्चालक समितिले २ पुसमा गठन गरेको उक्त समितिले सोमवार पर्यटन सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेलाई प्रतिवदेन बुझाएको छ ।
उक्त प्रतिवेदनमा सीईओ रेग्मीले सार्वजनिक खरिद ऐनविपरीत निर्माण तथा खरिद कार्यलाई टुक्रा–टुक्रा पारेर फरक समयमा काम गरेको देखाएका छन् ।
एकै समयमा र एउटै प्याकेजको उक्त काम अनियमित ढंगले गरेको उल्लेख छ ।
रेग्मीले आफ्नै कार्यकक्ष र सचिवालय मर्मत गर्दा ‘सार्वजनिक खरिद ऐन २०६३’ र ‘पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ विपरीत एउटै प्रकृतिको खर्चलाई टुक्रा गरेर आफू अनुकुल खर्च गरेका थिए ।
एउटै प्याकेजमा खर्च गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली आकर्षित हुन्छ । यसमा खुला प्रतिस्पर्धाबाट काम दिनुपर्ने हुँदाहुँदै रेग्मीले आफूखुशी बोर्ड सचिवालय बनाएका थिए ।
उनले आफ्नै कार्यकक्ष बनाउन गरेको २८ लाख ५९ हजार रुपैयाँ खर्च गर्न विभिन्न आठ टुक्रा गरेर काम लगाएका थिए ।
सीईओ रेग्मीले गरेको अनियमितताको कार्यमा असहयोग गर्ने कर्मचारीलाई अमर्यादित व्यवहार गर्ने र सरुवा समेत गरेका थिए । यो कार्यबाट आफ्नो अनियमितता ढाकछोप गर्दै कागज मिलाउन खोजेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
रेग्मीले गरेको आर्थिक अनियमितताको विषयमा थप अनुसन्धान गरी कारवाही गर्न पनि छानबिन समितिले सिफारिश गरेको छ । छानबिन समितिले रेग्मीले अनुचित र कानूनप्रतिकूल हुने गरी गरेका कामका सम्बन्धमा बोर्डले उनलाई निलम्बन गर्नुपर्ने सुझाव दिएको छ ।
छानबिन समितिले पर्यटन बोर्डको कार्यकारी समितिको बैठकबाट विभिन्न समयमा भएका निर्णय निर्देशनहरूको कार्यान्वयन अवस्थाको अध्ययन गरेको छ ।
उक्त अध्ययनबाट पर्यटन बोर्ड सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन समेत नहुने गरेको निष्कर्ष निकालिएको छ । रेग्मीले निर्णय नै नभएको र अधिकार नभएको क्षेत्रमा पनि काम गर्ने गरेको पाइएको छ । बोर्ड सीईओले नै पर्यटनको प्रबर्द्धन र विकासमा अन्योल उत्पन्न हुने गरी कार्य गरेको छानबिन समितिको निष्कर्ष छ ।
बोर्डले विभिन्न सरोकारवालसँगको बैठक तथा छलफलको नाममा स्वीकृत कार्यक्रम, कार्यदिशा र सहभागिताको विवरण नै नराखी खर्च गर्ने गरेको पनि छानबिन समितिले फेला पारेको छ ।
समितिको प्रतिवेदनका अनुसार रेग्मीले बोर्डको स्रोत दुरुपयोग गरेर होटल तथा रेस्टुरेन्टमा भएको खर्चलाई बोर्डबाट हिसाब मिलान गरेका छन् ।
यस्तो खर्चको आवश्यकता र औचित्य पुष्टि हुने आधार नै नभएको फेला परेको छ ।
रेग्मीले वर्ल्ड ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागी हुन पर्यटन बोर्ड सञ्चालक समितिले दिएको निर्देशन र स्वीकृत कार्यक्रमविपरीत ६ जना पर्यटन व्यवसायीलाई मात्रै कार्यक्रममा सहभागी गराएको पाइएको छ । यो कार्यक्रमा एक करोडभन्दा बढी खर्च भएको छ ।
बोर्डको सञ्चालक समिति र बजेट तथा कार्यक्रमको निर्णयविपरीत रेग्मीले गरेको यस्तो खर्च पुष्टि भएको छैन । उक्त खर्च कानूनविपरीत भएको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
४ करोडको जीआईएस सम्झौतामा अनियमितता
सीईओ रेग्मीले जियोग्राफिकल इन्फरमेसन सिस्टम (जीआईएस) परियोजना कार्यान्वयन गर्दा आर्थिक अनियमितता गरेर बोर्डलाई हानी नोक्सानी पुर्याएको उल्लेख छ ।
उनले पर्यटन बोर्डको कार्यकारी समिति र बजेटले निर्दिष्ट गरेको योजनाविपरीत विपरित जीआईएसको सम्झौता गरेर ४ करोड ७३ लाख ४८ हजार रुपैयाँ खर्चिएका छन् ।
उक्त जीआईएस निर्माण गर्ने जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भए पनि तोकिएको भन्दा कम काम गर्ने गरी सम्झौता गरेको फेला परेको छ ।
यस्तो सम्झौता र खर्चले पर्यटन बोर्डलाई आर्थिक नोक्सानी पुर्याएको पनि उल्लेख छ ।
यो कार्यक्रम गत वर्षको पर्यटन बोर्डको बजेटमा राखेर सोही वर्ष नै सक्ने भन्ने थियो ।
तर, रेग्मीको दबाबमा चालू आवका लागि पनि यो कार्यक्रमलाई बोर्डको बजेटबाट निरन्तरता दिएको पनि उल्लेख छ ।
बोर्डले ठूला र दीर्घकालिन दायित्व पर्ने यस्तो जीआईएस जस्तो कार्यक्रम सञ्चालन गर्दा त्यसको अध्ययन, सम्भाव्यता, लागत, लाभ, उपयोगिताको रणनीतिसहितका विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । तर, सीईओ रेग्मीले सो विपरित काम गरेको र खर्चको प्रभावकारिता, औचित्य र उपयोगिता एकीन नगरेको पनि उल्लेख छ ।
बोर्डका सीईओ रेग्मीले आफू अनुकुल प्रादेशिक कार्यालय सञ्चालन गर्न खोजेको पनि उल्लेख छ ।
उनले ७ वटै प्रदेशमा संरचना रहने गरी कार्यगत शर्त तोकेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाएका थिए । उक्त समिति कानून र कार्यकारी समितिको निर्णयविना आर्थिक भार पर्ने गरी गठन गरेका थिए । रेग्मीले सोही काम गर्न कुनै आधारविना नै कर्मचारी खटाएर बोर्डको स्रोतको दुरुपयोग गरेको पनि छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ ।
उनले प्रादेशिक कार्यालय तथा सूचना केन्द्र, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, समितिसँग हुने आफ्नो र आफू मातहतका महाशाखा प्रमुखबीच हुने कार्यसम्पादन सम्झौता विपरित काम गर्न लगाएको तथ्य छानविन समितिले औंल्याएको छ ।
कर्मचारीको नियमित हाजिरी व्यवस्थापन, करारका कर्मचारी व्यवस्थापनजस्ता कार्यालय सञ्चालनको लागि गरको काम समेत बोर्ड ऐन विपरित भएको छ।
उनले कर्मचारीप्रतिको व्यवहार पनि मानवीय र पदीय आचरण अनुकुल नरहेको देखिएको छ । रेग्मीले कर्मचारीलाई अनावश्यक दुःख दिने र पदीय आचरणविपरीत गाली गर्ने र सरुवा गरेका थिए ।
पदीय मर्यादा विपरित सुन तस्करीमा संलग्न
बोर्डका सीईओ रेग्मीपदीय मर्यादाविपरीत सुन तस्करीमा समेत संलग्न रहेको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ ।
रेग्मीले गैरकानूनी तवरबाट भन्सार छली सुन चोरी पैठारी गरेको छानबिनको निष्कर्ष छ ।
उनले ल्याएको सुन जफत भएको थियो भने जरिवाना समेत तिरेका छन् । सुन तस्करी गर्ने र चोरी पैठारी गर्ने कार्य गरेका रेग्मी सार्वजनिक पदमा रहिरहन आचरणको दृष्टिले समेत नमिल्ने भएकाले उनलाई निलम्बन गरेर थप कारबाही गर्न छानविन समितिले सुझाव दिएको छ ।
साथै उनले २० कात्तिकमा भन्सार छलेर ल्याएको ६ बोतल मदिरा प्रकरणमा भन्सारका कर्मचारीलाई गरेको दुर्व्यवहार सहन योग्य नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय स्तरमा पुगेर पर्यटन प्रबर्द्धन गर्ने व्यक्ति तथा सार्वजनिक पदमा रहेको व्यक्तिले पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको समितिको निष्कर्ष छ ।
आजै कारबाहीकाे तयारी
पर्यटन बोर्ड सञ्चालक समितिले छानविन समितिको प्रतिवेदनमाथि छलफल गर्ने र सीईओ रेग्मीलाई कारबाही गर्ने विषयमा आजै ४ः३० बजे पर्यटन बोर्ड सञ्चालक समितिको बैठक बस्दैछ ।
उक्त बैठकबाट रेग्मीलाई स्पष्टिकरण साेध्ने र थप कारवाही सिफारिश हुने पर्यटन बोर्डका उपाध्यक्ष तथा छानबिन समिति संयोजक चन्द्र रिजालले लोकान्तरसँग बताए ।
विवादित व्यक्तिलाई बोर्डमा राखिरहन नहुने र कारबाही गर्नुपर्ने छानविन समितिको प्रतिवेदन आएकाले त्यसको कार्यान्वयन गर्न पनि उनलाई निलम्बन गर्नुपर्ने तर्क रिजालको छ ।