१७ असार २०८३, बुधबार

गाउँमै श्रम गरेपछि मेटियो विदेश मोहको भ्रम

माघ २२, २०७८
गाउँमै श्रम गरेपछि मेटियो विदेश मोहको भ्रम

पोखराको चर्चित बेगनास तालमाथि उत्तरपूर्वपट्टि देखिने बेगनास डाँडा यतिखेर स्थानीय युवाको कृषि कर्मले हराभरा छ ।

स्थानीय केही युवामा कृषि कर्मको जोस उर्लिएको छ । पोखरा महानगरपालिका–३१ वडा कार्यालयका अनुसार यस वर्ष मात्र करीब आधा दर्जन युवाले नयाँ कृषि फार्म दर्ता गरेका छन् भने छिट्टै काम शुरू गर्ने चाँजोपाँजो मिलाइरहेका छन् । 

कृषि कर्ममा युवाको जोसको प्रेरणाका स्रोत स्थानीय ३२ वर्षीय केशवराज तिवारी हुन् । ‘सबै कुरा परिस्थितिले जुराउने रहेछ,’ तिवारीले भने, ‘पढेर जागिर खाने बाल्यकालदेखिको योजना कहाँ पुग्यो थाहा छैन ।’

तिवारीको कर्म वैदेशिक रोजगारी हुँदै अहिले कृषि उद्यममा रूपान्तरण भएको छ । ४ वर्षअघि त्यहाँ कुनै पनि युवाले कृृषि फार्म खोलेका थिएनन्, फार्म कसरी सञ्चालन गर्ने भन्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान थिएन, देखासिकी गर्न अर्को कुनै स्थापित फार्म थिएन, उत्पादनको बजार कहाँ भन्ने निश्चित थिएन, त्यतिबेला कृषि उद्यम शुरू गरेका हुन् तिवारीले ।

अहिले उनै तिवारीको देखासिकी गर्ने धेरै निस्किसके गाउँमा । उनी भन्छन्, ‘आँट गर्नु नै आधा सफल हुनु रहेछ ।’

५ वर्षअघिसम्म उनी कोरियाको बुसन शहरमा थिए । करीब ७ हजार मजदुरले काम गरिरहेको पानीजहाजमा उनको दिनचर्या बित्थ्यो । गाउँघरको अत्यास मेट्न, दैनिक १६ घण्टासम्म काम गर्थे उनी । 

दिन, महिना गर्दै वर्ष बित्यो । ‘ओभर टाइम’ काम गर्दैगर्दा अत्यास त मेटिन लागेको थियो तर आमाबुवा, घरपरिवार, आफन्त बीचको सञ्चार धमिलिँदै गएको महसूस हुन थाल्यो उनलाई । ‘यस्तै पारा हो भने केही समयमै बिरानो भइने हो कि भन्ने औंधी पीर पर्न थाल्यो,’ उनले सम्झिए, ‘विदेशमा दिएजति समय आफ्नै गाउँठाउँमा दिइयो भने यति पैसा त स्वदेशमै कमाइएलाझैं लाग्यो ।’

यस्तै दिनचर्या, चिन्ता र अन्योलसँगै कोरियामा उनको ५ वर्ष बित्यो । आखिर मासिक ३ लाख रुपैयाँ कमाइको माया मारेर उनी स्वदेश फर्किए र फेरि कोरिया जाने प्रक्रिया थालेनन् ।

‘यहाँ आएपछि फेरि फर्किएर कोरिया जान मन लागेन,’ उनले भने, ‘नेपाल आएकै वर्ष भूकम्पको आर्थिक मन्दी थियो । न त कृषि पेशा गर्ने युवाका लागि अहिलेको जस्तो अनुदान लगायतका सुविधा थियो । व्यवसाय शुरू गर्न कम्ता चुनौती थिएन ।’

कोरिया बस्दा घर खर्च कटाएर बचेखुचेको ५ लाख रुपैयाँ थियो उनीसँग । त्यसमा ५ लाख रुपैयाँ ऋण थपेर १० लाख रुपैयाँ लगानी गर्न आँखा चिम्लिएरै कस्सिए उनी । अनि शुरू गरे कृषिकर्म ।

कामको सिलसिला होस् या रोजगारीको सिलसिलामा धेरै स्थानीयले गाउँ छाडिसकेका थिए । गाउँका धेरै पाखो बारीहरू बाँझै थिए । त्यसैले गरिखाने जग्गा–जमिन पाउन गाह्रो थिएन । छिमेकीबाट लिजमा लिएको केही जमिन र आफ्नो जमिन गरी करीब १५ रोपनीमा उनले कृषि कर्म गरिरहेका छन् ।

‘विदेशमा सुख हुन्छ, धेरै कमाइ हुन्छ भन्ने कुरा भ्रम मात्र रहेछ भन्ने कुरा स्वदेश फर्किएपछि थाहा भयो,’ उनले भने । 

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्दै गर्दादेखि नै उनमा विदेश मोह जागेको हो । ‘साथीहरू एकएक गरेर भाषा परीक्षा पास भएपछि मलाई पनि परीक्षा दिन मन लाग्यो । पहिलो पटकमा ९८ प्रतिशत आयो,’ उनले सम्झिए, ‘विद्यालय पढ्ने बेला पनि नआएको मार्क्स कोरियाको भाषा परीक्षामा आएपछि खुशीले गद्गद् भएँ र वैदेशिक रोजगारीका लागि बाटो लागें तर अहिले आफ्नो देशमा आएर इलम गर्न थालेपछि महसूस भयो – त्यतिबेलाको खुशी भ्रम मात्र रहेछ । त्यतिबेला विदेश गएर दुःख नगरेको भए, गाउँमै बसेर कमाइ गर्ने विवेक चाहिँ आउँदैनथ्यो लागेको छ ।’

कृषि व्यवसाय तथा उद्यमका लागि उनमा न कुनै सैद्धान्तिक ज्ञान थियो, न त कुनै तालिम । ‘मात्र देखासिकी अनि बाल्यकालमा गरेको मेलापातको भरमा आँटेको हो,’ काम शुरू गर्दाताकाका अप्ठ्यारा, हण्डरठक्कर सुनाउँदै उनले भने, ‘पहिलो महिनामै २–३ लाख रुपैयाँ घाटा लाग्यो ।’

जग्गा लिजमा लिने वित्तिकै १ हप्ता लगाएर आफैंले निर्माण गरेको कुखुराको खोरमा एकैपटकमा १ हजार कुखुराका चल्ला ल्याएर हुलेका थिए उनले । ती चल्ला १ महिनाका हुँदा–नहुँदै भकाभक मर्न थाले । ‘ब्रोइलर कुखुरालाई छिट्टै हुनसक्ने किटाणु संक्रमण ‘गम्बारो’ रोग लागेको रहेछ । झण्डै १ वर्षपछि स्थानीय आनन्दज्योति विद्यालयको पहलमा सञ्चालित स्थानीय कृषक तालिममा भाग लिएपछि कुखुरा मर्नुको कारणबारे थाहा पाइयो,’ उनले भने, ‘यस्ता समस्याहरू त एकपछि अर्को गर्दै कति आए कति ? तर मैले हरेश खाइनँ ।’

कृषि फार्म स्थानीय तहमा दर्ता गरेर उत्पादन शुरू गरेकै वर्ष आशा गरेभन्दा धेरै उत्पादन भएका काक्रा, अकबरे खुर्सानी, कागतीका लागि उनलाई बजारको समस्या भयो । खेतबारीकै काममा व्यस्त हुँदा आफूले बजार खोज्न नसक्दा धेरै उत्पादन खेर गएको उनले सम्झिए ।

उनले अब विगतका समस्याबाट मुक्ति पाएका छन् । पर्यटकीय क्षेत्र भएकाले बेगनास ताल वरपरका होटल, सब्जीमण्डी र पोखरा बजारका विभिन्न ठाउँबाट माग आउन थालेको छ उनका उत्पादनको । उनको अनुभवमा कामले नै तरिका सिकाउने रहेछ । ‘कामकै क्रममा पाएका तालिम, गोष्ठी लगायतका कार्यक्रममा भाग लिँदै जाँदा उनको नेटवक बढ्यो, गल्ती सुध्रिए, सिर्जनात्मकता बढ्यो ।

‘अहिले मागअनुसार उत्पादन पुर्‍याउन पनि हम्मेहम्मे पर्छ । नेटवर्क बढ्दै जाँदा सामाजिक कामको दायरा पनि बढ्दैछ,’ उनले भने, ‘त्यसैले पहिले जतिको समय दिन भ्याएको छैन व्यवसायमा । कर्मचारी बढाउने योजनामा छु ।’

१५ रोपनीमा लगाएको अकबरे खुर्सानी, कुखुरा र माछापालन, मह उत्पादन, सूर्यमुखी फूल उत्पादन तथा तोरी उत्पादनबाट मासिक करीब १ लाख रुपैयाँ  आम्दानी हुने गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्