२६ जेठ २०८३, मंगलबार
सम्पादकीय

एमसीसी विवादको छायाँमा नपरोस् स्थानीय चुनाव

एमसीसी विवादको छायाँमा नपरोस् स्थानीय चुनाव

केही ढिला भएपनि सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा चुनाव गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । निर्वाचन आयोगसँग जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जनाएकोमा सरकारले निर्वाचनलाई ५ दिन अगाडि ल्याएको छ । एकै चरणमा चुनाव गर्ने सरकारको निर्णयलाई स्वागत गर्नुपर्छ । 

वैशाख ३० मै निर्वाचन गर्दा यसले स्थानीय तह पदाधिकारीविहीन हुने खतरा अन्त्य भएको छ । सामान्य अवस्थामा निर्वाचन गर्नका लागि १२० दिनको समय आवश्यक पर्नेमा अब ९५ दिनमा आयोगले चुनावको तयारी गर्नुपर्नेछ । निर्वाचन आयोगले बाँकी अवधि चुनावका लागि पर्याप्त भएको जनाएको छ । 

सोमवार स्थानीय तहको चुनाव मिति घोषणा भएसँगै मंगलवारदेखि मुलुक एक प्रकारले चुनावमा होमिएको छ । सत्ता गठबन्धनभित्रैका दलहरूको अनेक दाउपेचका कारण चुनाव घोषणामा विलम्ब भएको थियो । गठबन्धनका कतिपय दल कानूनको छिद्र खोजेर स्थानीय तहको चुनावलाई वैशाखबाट पर धकेल्ने प्रयासमा लागेका थिए । वैशाखमै चुनाव गर्नका लागि मिडिया, नागरिक समाजदेखि राष्ट्रपतिसम्मले दबाब दिनुपरेको थियो । 

सरकारले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अब राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्ने र चुनावको माहोल बनाउनेतर्फ लाग्ने बेला भएको छ । तर, देश निर्वाचनभन्दा एउटा वैदेशिक सहयोग लिने कि नलिने भन्ने विवादको भूमरीमा फसेको छ । 

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनको जग हल्लिएको छ । एमसीसी अनुमोदन गर्ने/नगर्ने संसद्को विशेषाधिकार हो । एमसीसीको बहानामा चुनावलाई भाँजो हाल्ने काम भने स्वीकार्य हुने छैन् । 

स्थानीय तहको चुनाव राजनीतिक दलका लागि आफ्नो संगठन सुदृढ गर्ने मौका पनि हो । स्थानीय तहको चुनावमा हुने स्वस्थ प्रतिस्पर्धाले राजनीतिक दललाई गाउँ र वडातहसम्म चलायमान बनाउनेछ । स्थानीय तहको चुनावमा आउने जनमतलाई आधार बनाएर दलहरूले ६ महिनापछि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रणनीति बनाउन पाउने छन् । 

किन्तु, परन्तु कुनै पनि बहाना देखाएर स्थानीय तहको चुनाव प्रभावित पार्ने काम कहीँ कतैबाट नहोस् । तराईका जिल्लामा जनमत पार्टीले भाटा र चिर्पटसहित गरिरहेको प्रदर्शन रोकेर चुनावका लागि शान्तिपूर्ण वातावरण बनाउन सरकार लागोस् । निर्वाचन आयोगका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने कुरामा पनि सरकारले कुनै कञ्जुस्याइँ नगरोस् ।

salt training

कमेन्ट गर्नुहोस्