
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण गरिरहेको बताएका छन् ।
बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानून निर्माण गरिरहेको बताए ।
ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिन कानूनतः अप्ठ्यारो भएको उल्लेख गर्दै उनले सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिने बताए । अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिकाहरू प्रदेश सरकारले जिल्ला र केन्द्रका कुराहरूलाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने बताए ।
उनले प्रदेश सरकारले अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयअनुसार नतिजा प्रकाशन गर्नसक्ने पनि बताए ।
अध्यक्ष शर्माले भने, ‘अब फागुन १ गतेदेखि राम्रोसँग विद्यालय र कलेजहरू व्यवस्थित भएर सञ्चालन भएमा फागुन र चैत २ महिना पढिसकेपछि लगभग ८० प्रतिशत पठनपाठन सम्पन्न भएको हुनाले वैशाखमा परीक्षा गर्न सकिने अवस्था सिर्जना हुन्छ । वैशाखको अन्तिममा चुनाव भएका कारणले पनि चैत महिनाभर पठनपाठन भएपछि वैशाखको बीचमा दोस्रो हप्तामा परीक्षा हुन उपयुक्त छ भनेर सबैले सुझाव दिनुभएकाले वैशाख ९ गतेबाट एसईई गर्ने भन्ने कुरा हो । अर्को कुरा १० कक्षाको परीक्षाको सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुराहरू विगतमा पनि आएका थिए, त्यो भनेको १० कक्षाको परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो । त्यसैले प्रादेशिक स्तरलाई हेर्दा प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवज्यू समेतको उपस्थितिमा हामीले हरेक प्रदेशस्तरका व्यक्तित्वसँग छलफल गरेका छौं । अहिले हामी अबको परिस्थितिमा प्रदेश स्तरबाट नै सम्पूर्ण हिसाबबाट अहिलेसम्मको राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा कानूनमा व्यवस्था नगरिकन, ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिनु कानूनतः अप्ठ्यारो छ । हामीले कसरी १० कक्षाको परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिनसक्छ भन्ने लाइनमा वर्कआउट गर्नलाई नीतिगत रूपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौं । प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार कामहरू गर्न तयार रहेको कुरा गरेको छ । प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि अबको उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुराहरूलाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेसन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ । विगतमा स्थानीय तहमा विद्यालयले आन्तरिक मूल्यांकनको कुरा थियो, यसपटक आन्तरिक मूल्यांकनको कुरा मात्रै नभएर प्रदेशस्तरबाट सबै कुराहरू गरेर राष्ट्रिय परीक्षा बोर्डलाई सर्टिफिकेसन गर्ने अधिकार त राष्ट्रिय परीक्षा बोर्डसँग नै छ अहिलेसम्म । हामीले त्यो अधिकार प्रदेशलाई दिनसक्ने हाम्रो अथोरिटी भएन । किनभने कानूनले व्यवस्था गरेको छैन । त्यो किसिमको भइसकेपछि एकैपटक नतिजा सार्वजनिक नगरी प्रदेशले आफ्नो तरिकाले प्रकाशन गर्नसक्छ । त्यसतर्फ हामीले काम गरिरहेका छौं । हामीले वर्कआउट गरेको कुरामा कानूनतः निर्णय भएर नआएसम्म हामीले बोलेका छैनौं । अभिभावक र विद्यार्थीहरूलाई परीक्षा कहिले भन्ने दोधार र चिन्तामा नराख्नका लागि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।’
अध्यक्ष शर्माले यस पटकको एसईई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताए । बोर्डले करीब ५ लाख विद्यार्थी यस पटकको एसईईको परीक्षामा उपस्थित हुनसक्ने अनुमान गरेको बताए । अध्यक्ष शर्माले १२ कक्षाको परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको बताए ।