अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकाल चलाएको बेलामा आधिकारिक दसतावेज समेत च्यातेर ट्वाइलेटमा फ्लश गर्ने गरेको पाइएको छ ।
ट्रम्पले धेरै कागजहरू फ्लश गरेकाले ह्वाइट हाउसको ट्वाइलेट नै जाम भएको थियो ।
राष्ट्रपतीय अभिलेखको व्यवस्थापन गर्ने संस्था नेसनल आर्काइभले ट्रम्पका अन्य मुद्दा बाहेक कागज च्यात्ने बानीको पनि अनुसन्धान गर्नुपर्ने बताएको छ । ट्रम्पले प्रोटोकल उल्लंघन गर्दै आधिकारिक कागज च्यातेको विषयमा अनुसन्धानको माग गरिएको हो ।
ट्रम्पले दस्तावेज फ्लोरिडास्थित निवासमा समेत लगेको आरोप छ ।
यूएस नेसनल आर्काइभ सेन्टरको स्थापना सन् १९३४ को जुन १९ मा भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रूजवेल्टले स्थापना गरेको यो स्वतन्त्र निकायले आधिकारिक दस्तावेजहरू सम्हाल्ने काम गर्छ ।
पोहोर साल अमेरिकाको संसद् भवन क्यापिटोल हिल्समा भएको हिंसाको अनुसन्धान गरिरहेका अधिकारीहरूलाई आर्काइभ नभेटिनाले समस्या परिरहेको छ । जनवरी ६ को दिन हिंसा भएको थियो र त्यस दिनको ह्वाइट हाउसका आधिकारिक लगहरू भेटिएका छैनन् । त्यसले गर्दा पनि ट्रम्पमाथि प्रश्न उठेको छ ।
आधिकारिक रेकर्डलाई जानाजान नष्ट गरिएको त छैन भन्ने विषयमा प्रमाण अनुसन्धानकर्मीहरूले पाएका छैनन् । ट्रम्पले ह्वाइट हाउसमा हुँदा कुराकानीका लागि आफ्नै मोबाइल फोन उपयोग गर्ने गर्थे ।