२७ असार २०८३, शनिबार

पुटिनले १५ वर्षअघि नै दिएका थिए चेतावनी, पश्चिमले नटेर्दा चर्कियो युक्रेन संकट

पुटिनले १५ वर्षअघि नै दिएका थिए चेतावनी, पश्चिमले नटेर्दा चर्कियो युक्रेन संकट
तस्वीर स्रोत : Dmitry Astakhov/ITAR-TASS

सन् २००७ को फेब्रुअरी १० अर्थात् १५ वर्षअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले म्युनिख सिक्योरिटी कन्फरेन्समा ऐतिहासिक सम्बोधन गरेका थिए । पश्चिमी सैन्य गठबन्धन नेटोले शीतयुद्धपछि पूर्वी युरोपतर्फ गरेको विस्तारलाई गम्भीर उत्तेजक कार्य भएको भनी आलोचना गर्दै यसबाट हतियारको दौड बढ्ने उनले बताएका थिए । पश्चिमले नेटोको विस्तार नगर्ने भनी गरेको वाचा पनि उल्लंघन भएको उनले स्मरण गराएका थिए । 

सम्बोधनका क्रममा पुटिनले सन् १९९० मा नेटोका तत्कालीन महासचिव म्यानफ्रेड वर्नरको बयानको पनि उल्लेख गरेका थिए । सोभियत संघलाई दरिलो सुरक्षा प्रत्याभूति दिनका लागि नेटोले जर्मन भूभागबाहिर सेना तैनाथ नगर्ने वर्नरले बताएका थिए । पुटिनले सम्बोधनका क्रममा सोधे, ‘ती प्रत्याभूतिहरू कहाँ पुगे ?’

पन्ध्र वर्ष बितिसक्दा मस्कोले अझै पनि त्यही प्रश्न उठाइरहेको छ । गत डिसेम्बर महिनामा रुसले सार्वजनिक गरेको मस्यौदा प्रस्तावमा नेटोको थप विस्तारलाई रोक्न भनिएको छ अनि अमेरिका र रुसबीच हतियार नियन्त्रणका विषयमा सहमति गर्ने भनिएको छ । 

केही विषयमा गरिने सम्झौतामा प्रगति भए पनि आफ्ना महत्त्वपूर्ण मागहरू अमेरिकाले बेवास्ता गरेको मस्कोको गुनासो छ । नेटोको सैन्य संरचनालाई सन् १९९७ को अवस्थामा पुर्‍याउन र युक्रेनलाई कहिले पनि नेटोको सदस्य नबनाउने प्रत्याभूतिलाई अमेरिकाले सम्बोधन गरेकै छैन । 

तोडिएका वाचाहरू

अमेरिकाले मस्कोको मागलाई बेवास्ता गरेको मात्र नभई हालैका सातामा थप सैनिक युरोपमा तैनाथ गरेको छ । रुसले युक्रेनमा आक्रमण गर्न लागेको भन्दै अमेरिकाले यो कदम चालेको हो । मस्कोले आक्रमणको आरोपलाई खण्डन गरेको मात्र नभई त्रास चर्काएर पूर्वी युरोपमा थप हतियार तथा सैनिक पठाउने कामलाई जायज ठहर्‍याउन खोजेको आरोप समेत लगाएको छ । 

‘पुटिनले म्युनिख सिक्योरिटी कन्फरेन्समा गरेको सम्बोधनमा पूर्वतर्फ नेटोको विस्तारका विषयमा चेतावनी दिएका थिए र त्यसको प्रतिध्वनि अहिले झन् चर्को सुनिएको छ,’ काटो इन्स्टिच्युटका वरिष्ठ फेलो टेड ग्यालेन कार्पेन्टरले स्पुतनिकलाई बताए । ‘अहिलेको संकट रोक्न सकिन्थ्यो र रोक्नुपर्थ्यो पनि । अमेरिका र उसका नेटो साझेदारहरू यसका दोषी हुन् ।’

कार्पेन्टरका अनुसार, वाशिङटन र उसका साझेदारहले हालैका वर्षमा युक्रेनमा गरेको काम ‘उत्तेजनात्मक कारवाही’ हो । 

‘रुसको सीमामा शक्तिशाली सैन्य गठबन्धन विस्तार गर्ने घमण्डका अलावा उनीहरूले युक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै निर्वाचित राष्ट्रपतिलाई पदच्युत गराउन अनि देशलाई पश्चिमको राजनीतिक तथा सैन्य गुलाम बनाउन सहायता गरे,’ कार्पेन्टरले बताए । 

ब्रूकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो माइकल ओ हानलोनका अनुसार, सन् २००७ सम्ममा अमेरिका र उसका साझेदारहरूले नेटोको थप विस्तारका विषयमा पुनर्विचार गर्नुपर्थ्यो । नेटोको खुला द्वार नीतिको आफू कठोर आलोचक भएको उनले बताए । 

‘हामीले रक्षा गर्न पनि गाह्रो हुने ठूला र टाढाका मुलुकहरूलाई गठबन्धनमा ल्याउने काम गरी आगोसँग खेलेका हौं । अनि ती मुलुकहरूलाई ऐतिहासिक रूपमा मस्कोले हृदयनजिक मान्ने गरेको छ,’ ओ हानलोनले स्पुतनिकलाई बताए । 

आफूले सहलेखन गरेको एक आलेखका विषयमा उनले संकेत गरेका छन् । त्यसमा उनले क्षेत्रीय सुरक्षालाई बढाउने मुलुकहरूलाई मात्र नेटोले निमन्त्रण गर्न पाउने सुझाव दिएका छन् । युक्रेन जस्ता मुलुकलाई सदस्यता दिँदा द्वन्द्वको जोखिम बढ्ने उनको भनाइ छ । 

नेटो विस्तारलाई समर्थन नगरे पनि ओ हानलोनले युक्रेनलाई नेटोको सदस्य बनाउनु सोभियत संघको पहिले अधीनमा रहेका अनि पछि स्वतन्त्र भएका मुलुकहरूलाई सदस्य बनाएको भन्दा फरक रहेको संकेत गरे । 

क्षेत्रीय जटिलताले अमेरिकालाई अप्ठ्यारो

सन् २००७ को सम्बोधनमा पुटिनले रुस र युक्रेनबीच समस्या आएमा युरोपेली ग्राहकहरू ग्यासको अभावका साथ बाँच्न बाध्य हुने बताएका थिए । उनको भनाइ दूरदर्शी साबित भयो किनकि नर्ड स्ट्रीम २ पाइपलाइनलाई अमेरिकाले विरोध गरिरहेको अवस्थामा युरोपेलीहरू रुसी ग्यासबाट वञ्चित हुन सक्ने देखिन्छ । 

युक्रेन संकट चर्किएमा र पाइपलाइन परियोजनालाई लक्ष्य बनाएर प्रतिबन्ध लगाइएमा वैकल्पिक ऊर्जा स्रोतहरू जुटाउन अमेरिकाले प्रयास गरिरहेको छ ।

म्युनिखमा पुटिनले एकध्रुवीयताबाट उत्पन्न जोखिमका विषयमा चेतावनी दिएको भए पनि संसार बहुध्रुवीय बन्दै गएको पनि उनले टिप्पणी गरेका थिए । वर्तमान समयको भूराजनीतिक जटिलतालाई यसरी उनले पूर्वसंकेत गरेका थिए । 

जर्मनीले वाशिङटनको आदेश मान्न नमानेकोबाट नै यो कुरा प्रमाणित हुन्छ । आफूलाई हतियार उपलब्ध नगराएको अनि नेटो साझेदारहरूले गर्न खोजेको घातक हतियार निर्यातलाई रोकेको भन्दै युक्रेनले जर्मनीलाई लगातार आलोचना गरिरहेको छ । युद्धक्षेत्रमा हतियार निर्यातको अनुमति नदिने नीति भएको बर्लिनले तर्क गर्दै आएको छ । 

विश्व बहुध्रुवीय बनेको कुरालाई स्वीकार गरे पनि कार्पेन्टरले पराआन्ध्रीय सम्बन्धमा अमेरिकाको ठूलो भूमिका अझै कायम रहेको बताए । तर त्यति हुँदाहुँदै पनि क्षेत्रीय जटिलताका कारण वाशिङटनको हात बाँधिएको उनको तर्क छ । 

‘युक्रेनका विषयमा कुनै पनि बल प्रयोग गर्न युरोप, विशेषगरी जर्मनी, ले रोक्दा बाइडन प्रशासन त्यस विकल्पलाई नरोज्न बाध्य छ,’ कार्पेन्टरले बताए । 

रुसले युक्रेनमाथि आक्रमण गरेमा उसमाथि लगाइने सम्भावित प्रतिबन्धका विषयमा अमेरिकासँग कुरा गरिरहेको जर्मनीले बतायो यद्यपि बर्लिन नर्ड स्ट्रीम २ को स्पष्ट उल्लेख गर्न हिचकिचाइरहेको छ । 

यही विषयलाई लिएर अमेरिका र उसका सहयोगीहरूबीचको तनाव थप बढ्ने कार्पेन्टरको विश्वास छ । ‘कुनै विन्दुमा पुगेर वाशिङटनले थप आर्थिक प्रतिबन्धका लागि जोडबल गरेमा युरोपेलीहरूसँग उसको विग्रह आउन सक्छ,’ कार्पेन्टरले चेतावनी दिए । 

स्पुतनिक न्युज एजेन्सीमा प्रकाशित रिपोर्टलाई लोकान्तरका लागि विन्देश दहाल ले अनुवाद गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्