
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पार्टी सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
कांग्रेसले निर्वाचनलाई लक्षित गरेर १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
फागुन २० देखि चैत्र २० गतेसम्म ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’ अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको महतले बताए ।
म्याद सम्पन्न भएका सबै भातृ संगठनलाई विघटन गर्ने र फागुन मसान्तभित्र पार्टी सभापतिले तदर्थ समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।
कांग्रेसका भातृ संगठनहरू नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, तामाङ संघ, तरुण दल, ठाकुर समाज, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, महिला संघ, भूतपूर्व सैनिक संघको म्याद सकिएकाले तत्कालका लागि विघटन गरिएको महतले जानकारी दिए ।
त्यसबाहेक महाधिवेशनका क्रममा पार्टीका विभिन्न तहमा उम्मेदवार भएर निर्वाचित भई खाली भएका सभापति र पदाधिकारीमा मनोनयन गर्ने निर्णय भएको महतले बताए ।
नयाँ गठन हुने सबै भातृ संगठनको तदर्थ कमिटीलाई स्थानीय तह निर्वाचनको परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्न समय दिने र त्यस अवधिमा महाधिवेशन गर्न नसक्ने भातृ संगठन स्वतः विघटन हुने निर्णय भएको उनले बताए ।
दलित संघको जिल्ला अधिवेशन सम्पन्न भएकाले आगामी चैत ७ देखि ९ गतेसम्म अधिवेशन हुने गरी तयारी गर्न निर्देशन दिने भएको महतले बताए ।
अवधि समाप्त भएका शुभेच्छु संघको अधिवेशन यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि कांग्रेसले गरेको छ ।
संघीय संरचना अनुसार तयार हुनुपर्ने कतिपय भातृ संगठनको विधानको मस्यौदा कार्यसम्पादन समितिमा प्राप्त भएको सुझावलाई समेटेर पार्टी केन्द्रीय कार्यालयले अन्तिम रूप दिने गरी स्वीकृत गरिएको महतले बताए ।
नेपाल महिला संघ, दलित संघ, किसान संघ, सांस्कृतिक संघ र प्रजातान्त्रिक सेनानी संघको विधान स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।
जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको कार्यसमितिले फागुन १५ गतेभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय कांग्रेसले गरेको छ ।
फागुन ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता सरकारले पेश गर्ने र त्यसलाई अनुमोदन गराउने निर्णय पनि कांग्रेस बैठकले गरेको छ ।