१२ साउन २०८३, मंगलबार
आलेख

देशलाई निकास दिने एक मात्र बाटो– तत्काल मिल्नुपर्छ कांग्रेस र एमाले

फागुन ५, २०७८
देशलाई निकास दिने एक मात्र बाटो– तत्काल मिल्नुपर्छ कांग्रेस र एमाले

नेपाली राजनीति जटिल बन्नुको मुख्य कारण देशका मुख्य दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसबीचको अस्वस्थ प्रतिस्पर्धा हो । दुई पार्टी मिल्न नसक्दा देशमा अनेकौं समस्या जन्मिएको छ । दुई पार्टी मिल्न नसक्दा देशका समस्याहरूको आयतन पनि बढ्दै गएको छ । 

अहिले राजनीतिक गतिरोधको केन्द्रमा एमसीसी देखिएको छ । तर, एमसीसी वास्तविक मुद्दा होइन, गतिरोधको छायाँ मात्र हो । विभिन्न राजनीतिक स्वार्थहरूले एमसीसीलाई यो स्तरको मुद्दा बनाएको हो भन्ने बिर्सन हुँदैन ।

एमाले र माओवादी एउटै पार्टी रहेको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसीसीलाई त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहार गर्ने हतियार बनाउनुभएको थियो । पछि एमसीसी प्रकरणमा अन्य अनेकौं विषय गाँसिँदै गयो । समग्र राजनीतिलाई नै एमसीसीसँग गाँस्दै लगियो । 

अहिले एमसीसी ठूलो मुद्दा बनेको छ । यति ठूलो बन्नुपर्ने खालको प्रकरण नै थिएन, एमसीसी । यो लेखमा एमसीसी ठीक बेठीक भन्ने विषयमा केही पनि लेखिने छैन । यहाँ कांग्रेस र एमाले किन मिल्नुपर्छ, यी दुईको सहकार्य किन आवश्यक छ ? भन्ने लेखिँदैछ । 

एमाले र कांग्रेस नमिल्दा...

हरेक देशको आफ्नै किसिमको विशेषता हुन्छ । स्थापित राजनीतिक प्रणाली भएको देशमा सत्तापक्ष र प्रतिपक्ष या देशका दुई मुख्य पार्टीबीच सहकार्य हुनुपर्छ भन्दा त्यति सुहाउने कुरा हुँदैन । तर, नेपालको परिस्थिति फरक छ । नेपालमा राजनीतिक संस्थाहरू, राजनीतिक प्रणाली, संविधान, राजनीतिक संस्कार र संस्कृति बलियो बनेको छैन । यस्तो देशमा मुख्य राजनीतिक पार्टीहरूको सहकार्य आवश्यक हुन्छ । 

नेपालको मुख्य दुई पार्टी एमाले र कांग्रेस नै हो । यी दुई पार्टीको अस्वस्थ्य प्रतिस्पर्धाले विगतमा देशले धेरै नै दुःख पाइसकेको छ । यी दुई मिल्दा देशले समाधान पनि पाएको छ । ०४६ साल यताको इतिहास हेर्ने हो भने कांग्रेस र कम्युनिस्ट (कम्युनिस्टको मुख्य धार अर्थात् एमाले) मिल्दा देशले समाधान पाएको छ ।

२०३७ सालको जनमत संग्रहमा कांग्रेस र कम्युनिस्ट (तत्कालीन माले) मिल्न नसक्दा पञ्चायतले जितेको थियो, देशमा प्रजातन्त्र एकदशक पछाडि धकेलिएको थियो । 

एमालेको बहुमत आउँछ भने कांग्रेसले बाटो छाडिदिनुपर्छ, कांग्रेसको बहुमत आउँछ भने एमालेले बाधा गर्नुहुँदैन । यद्यपि चुनावका बेला दुवै पार्टीले आफ्नो बहुमत आउने दाबी गर्छन् । दाबी गर्नु बेग्लै कुरा हो, गठबन्धन बनाएर अर्कालाई पछार्ने चुनावी रणनीतिले देशलाई स्थिरता दिँदैन । 

अहिलेको गतिरोधको पृष्ठभूमिमा पनि एमाले र कांग्रेसको असहमति छ । यी दुई पार्टी एकले अर्कालाई किनारामा पार्न खोज्दा गतिरोध उत्पन्न भएको हो ।

एमालेलाई किनारामा पार्न प्रचण्ड र माधवको पार्टीसँग कांग्रेस मिल्यो । कांग्रेसलाई किनारामा पार्न माओवादीसँग एमाले मिल्यो । जसले गर्दा न कांग्रेसलाई फाइदा भएको देखिन्छ, न एमालेलाई नै फाइदा भयो, न लोकतन्त्र र देशलाई नै फाइदा भयो । एमाले र कांग्रेसको अस्वस्थ प्रतिस्पर्धाबाट देशलाई ठूलो क्षति हुँदै आएको छ । 

दुई पार्टीको मिलनको अर्थ

कांग्रेस र एमाले मिल्नु भनेको दुई पार्टीले चुनावमा गठबन्धन गर्नु होइन । एउटै सरकारमा दुई पार्टी बस्नु पनि होइन । राष्ट्रिय मुद्दाहरूमा, देशको वृहत्तर हितमा, देशको दीर्घकालीन स्वार्थमा र लोकतन्त्रलाई संस्थागत गर्ने विषयमा एमाले र कांग्रेस एकै ठाउँ उभिनुपर्छ । चुनावमा यी दुई पार्टीले प्रतिस्पर्धा गर्नुपर्छ, तर चुनाव गराउने विषयमा एक ठाउँमा उभिनुपर्छ । 

चुनावपछि देशलाई स्थिरता कसरी दिने भन्नेमा दुई पार्टीबीच सहमति हुनुपर्छ, सहकार्य हुनुपर्छ । लोकतन्त्र भनेको बहुदलीय प्रणाली हो । धेरै दल हुँदा, संसद्मा कसैको बहुमत नहुँदा देशको भलो हुँदैन र स्थिर सरकार दिन सकिँदैन भन्ने दुई पार्टीले बुझ्नुपर्छ र त्यसैअनुसार व्यवहार पनि गर्नुपर्छ । 

यसका लागि दुई पार्टीले एक्लाएक्लै चुनाव लड्नुपर्छ । एउटाले अर्काेलाई पछार्न कुनै गठबन्धन बनाउन हुँदैन । चुनावी गठबन्धनले एउटा पार्टीको बहुमतलाई रोक्छ, छेक्छ ।

एमालेको बहुमत आउँछ भने कांग्रेसले बाटो छाडिदिनुपर्छ, कांग्रेसको बहुमत आउँछ भने एमालेले बाधा गर्नुहुँदैन । यद्यपि चुनावका बेला दुवै पार्टीले आफ्नो बहुमत आउने दाबी गर्छन् । दाबी गर्नु बेग्लै कुरा हो, गठबन्धन बनाएर अर्कालाई पछार्ने चुनावी रणनीतिले देशलाई स्थिरता दिँदैन । प्रतिनिधि सभामा कुनै एक पार्टीको बहुमत हुँदैन । 

कांग्रेस या एमालेमध्ये कुनै एकले गठबन्धन गरेको अवस्थामा त्यो क्रियाविरुद्ध प्रतिक्रिया हुन्छ । अर्थात्, एउटाले गठबन्धन बनायो भने अर्काेले पनि गठबन्धन बनाउनुपर्ने बाध्यता हुन्छ । यसले राजनीतिलाई अनावश्यक ध्रुवीकरणमा लैजान्छ ।

कांग्रेस, माओवादी र नेकपा एसले बनाएको गठबन्धनले देशलाई ध्रुवीकरणमा लैजान गरेको प्रयास हामीले स्पष्ट देखेका छौं । त्यस्तो ध्रुवीकरणमा आफ्नो हित छैन भन्ने कांग्रेसले बुझ्न थालेको छ । यो सकारात्मक कुरा हो । 

बंगलादेशको अनुभव

कांग्रेस र एमाले मिलनको अर्थ बुझ्न बंगलादेशको केही चर्चा गरौं । सन् ९० को दशकमा नेपाल र बंगलादेशमा लगभग एकै समयमा प्रजातन्त्र आयो ।

नेपालमा कांग्रेस र एमाले मुख्य पार्टी बने । बंगलादेशमा अवामी लिग र बंगलादेश नेशनलिष्ट पार्टी मुख्य बने । नेपालमा कांग्रेस र एमाले बीच अस्वस्थ प्रतिस्पर्धा भयो भने बंगलादेशमा चाहिँ मुख्य दुई पार्टीबीच शत्रुता नै भयो । मुख्य दुई पार्टीको शत्रुताले बंगलादेशलाई धेरै ठूलो क्षति गरेको छ । 

एमाले र कांग्रेसलाई बंगलादेशको अवामी लिग र नेसनलिस्ट पार्टीजस्तै शत्रु पार्टी बनाउन नेपालका साना पार्टीहरूले प्रयास गरिरहेको देखिन्छ । 

दुई मुख्य पार्टीको शत्रुता बीचमा पनि बंगलादेशको लोकतन्त्र स्थिरताको बाटोमा लागेको छ । नेपालमा भने बारम्बार संविधान फेरिएको छ । प्रजातन्त्रको ठाउँमा लोकतन्त्र ल्याइएको छ । देशमा स्थिरताका भन्दा अस्थिरताका आधारहरूलाई बलियो बनाइँदै छ । 

अस्थिरता भयो भने, संसद्मा कसैको बहुमत भएन भने, राजनीतिक ध्रुवीकरण शत्रुताको हदसम्म बढ्यो भने लोकतन्त्र र ठूला पार्टीलाई क्षति हुन्छ र साना पार्टीलाई फाइदा हुन्छ । साना पार्टीका पनि मुख्यमुख्य नेताहरूले निजी स्वार्थ पूरा गर्न पाउँछन् । नेपालमा त्यहीँ हुँदै आएको छ । 

नेपालमा राजनीकि भ्रष्टीकरणमा साना पार्टीहरूको असाध्यै ठूलो भूमिका रहँदै आएको छ । त्रिशंकु संसद् भएका बेला साना पार्टीका ठूला नेताहरूको स्वर्णयुग हुने गरेको छ । 

नेपालको ३० वर्षको अनुभवले के देखाउँछ भने त्रिशंकु संसद्ले देश र लोकतन्त्रलाई कमजोर बनाउँछ । देशलाई विकास र निकास दुवै दिँदैन । अस्थिरता र भ्रष्टाचार बढाउँछ । स्थिर सरकार दिने हो भने राजनीतिक ध्रुवीकरणविनाको चुनाव हुनुपर्छ । स्थिर सरकार भयो भने मात्र देशमा विकास र समृद्धि आउँछ । बंगलादेशले स्थिरताको लाभ पाउन थालिसकेको छ ।

एसियाको तीव्र गतिमा आर्थिक विकास भइरहेको देशको सूचीमा बंगलादेश परेको छ । हु नत नेपाल पनि केही समय अघिसम्म तीव्र आर्थिक विकास भइरहेको देशको सूचीमा परेको थियो । नेपालले सन्तोषजनक विकास गर्दै आएको थियो । अहिले आएर आर्थिक प्रगति ठप्प भएको छ । अर्थतन्त्र तीव्र गतिमा ओरालो लागिरहेको छ । 

कांग्रेस र एमालेले अस्वस्थ प्रतिस्पर्धा नगरेका भए, साना पार्टीहरूलाई काँधमा बोकेर एकले अर्कालाई प्रहार गर्ने राजनीति नगरेका भए अर्थतन्त्रको यो अवस्था हुँदैनथ्यो । उकालो लागिरहेको अर्थतन्त्र यसरी ओरालो झर्ने थिएन । 

रामचन्द्र प्रवृत्ति

एमाले र कांग्रेसबीच न्यूनतम सहमति हुने हो भने देशले स्थिर सरकार पाउँछ । संसद्मा यी दुईमध्ये एक पार्टीले बहुमत ल्याउँछ ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले बारम्बार दिइरहनुभएको एउटा अभिव्यक्ति ध्यानयोग्य र चिन्ताजनक छ । एमालेलाई चुनावमा जित्न सकिँदैन, एमालेलाई जित्न नदिने हो भने गठबन्धन बनाउनुपर्छ भनेर उहाँले भनिरहनुभएको छ । उहाँको जोड माओवादीसँग गठबन्धन गर्नेमा छ । एकजना पाको लोकतान्त्रिक नेताको यस्तो अभिव्यक्ति खेदजनक छ । 

रामचन्द्रले कांग्रेसलाई चुनावमा जिताउने कुरा गर्नुपर्छ, एमालेलाई हराउने कुरा गर्न हुँदैन । लोकतन्त्रमा अरूको हारमा आफ्नो भलाई खोज्नुहुँदैन । एमालेलाई हराउनकै लागि गठबन्धन गर्ने हो भने त्यसको के अर्थ ? एमालेले जित्ने सिट माओवादीले जित्न सक्छ, कांग्रेसले नै जित्ने होइन । 

एमाले र कांग्रेस दुवैले बहुमत नल्याएको अवस्थामा यी दुवै पार्टीले साना पार्टीको बैसाखी टेक्नुपर्ने हुन्छ । सरकार अस्थिर हुन्छ । चुनाव हुनुअगाडि नै अस्थिर सरकारको परिकल्पना गर्ने रामचन्द्र पौडेल कस्ता नेता ?

देश तथा कांग्रेस–एमालेको दीर्घकालीन हितमा त्रिशंकु संसद् हुन सक्दैन । कसैको पनि बहुमत नहुने अवस्थाबाट सबैभन्दा धेरै पीडित एमाले र कांग्रेस नै हुन्छन् । अर्काे पार्टीको बहुमत रोक्नुपर्छ भन्ने मान्यता कुनै पनि अवस्थामा नैतिक होइन । कांग्रेसमा रामचन्द्र पौडेलजस्तो अनैतिक कुरा गर्ने नेता अरू पनि छन् । 

देशका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन् । यिनले अर्काे पार्टीले चाहिँ चुनाव नजितोस् बरु साना पार्टीले जितुन् भन्ने विचार राख्न हुँदैन । एमालेले पनि अरूले जितोस् तर कांग्रेसले नजितोस् भन्ने मान्यता राख्न हुँदैन । पार्टीका नेताहरूले आफ्नो पार्टीलाई मात्र ध्यानमा राखेर रणनीति बनाउने तथा विचार दिने काम गर्न हुँदैन । 

लोकतन्त्र र देशको वृहत्तर हितमा विचार दिनुपर्छ । चुनाव आउनु अगाडि नै चुनावमा कसैको बहुमत नआओस् भनेर कामना गर्नु, कसैको पनि बहुमत नआउने अवस्था सिर्जना गर्नु बेठीक हो । यस्तो धारणा राख्ने नेतालाई न लोकतन्त्रवादी मान्न सकिन्छ, न देशको भलाई गर्ने नेता मान्न सकिन्छ । 

सत्य के हो भने नेपालको लोकतन्त्रको रथको दुई पांग्रा एमाले र कांग्रेस हुन् । एमाले समाप्त हुनुपर्छ, एमालेलाई सिध्याउन अरूलाई उकास्नुपर्छ, गठबन्धन बनाउनुपर्छ भन्ने ‘रामचन्द्र प्रवृत्ति’ घातक छ । एमालेबाट कसैले कांग्रेस समाप्त हुनुपर्छ भन्छ भने पनि त्यो घातक प्रवृत्ति हो । 

अहिलेको बेहाल

अहिले कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका पार्टीको गठबन्धन सरकार छ । अहिले सरकार चलेको छ त ? सरकारले गतिलो काम गर्न सकेको छ त ? यस्ता प्रश्न सोध्नु बेकार छ । जवाफ सबैलाई थाहा छ । 

सरकार गतिहीन छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई साना पार्टीका ठूला नेताहरूले लाचार छायाँ बनाएका छन् । कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाएजस्तो अवस्था देखिन्छ । साना पार्टीले प्रधानमन्त्रीलाई ब्ल्याकमेलिङ गरिरहेका छन् । प्रधानमन्त्रीलाई गठबन्धनका साना पार्टीका मन्त्रीहरूले टेर्दैनन् । 

प्रधानमन्त्रीले मन्त्रालयमाथि नियन्त्रण राख्नुपर्नेमा गठबन्धनका नेताहरूको घरको कोठाबाट मन्त्रालय चलाइँदैछ । मन्त्रीले प्रधानमन्त्रीको निर्देशन मान्नुपर्नेमा आफ्नो पार्टीका नेताको मात्र निर्देशन मान्ने अवस्था छ । 

कतिसम्म भने सभामुख जस्तो निष्पक्ष पदमा बसेका मानिस पनि आफ्नो पार्टीको नेताको निर्देशनमा काम गर्छन्, एउटा गुटमा लागेर सो गुटको हितमा काम गर्छन् । 

गठबन्धन सरकारको विकृति यस्तै हुन्छ । एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई बहुमत ल्याउन नदिने गरी रणनीति बनाउँछन् भने अब चुनावपछि पनि देशले यस्तै साना पार्टीको अनैतिक र अवैधानिक शासन सहनुपर्ने हुन्छ । 

देशलाई बलियो प्रधानमन्त्री, स्थिर सरकार चाहिएको हो । संविधानले बनाइदिएको शक्तिकेन्द्रबाहेक देशलाई अरू शक्ति केन्द्र चाहिँदैन । गठबन्धन संस्कृतिले नेताको घरलाई शक्तिकेन्द्र बनाउँछ । 

संविधान संशोधन गरेर समानुपातिक निर्वाचितहरूको राष्ट्रिय सभा र प्रत्यक्ष निर्वाचितहरूको प्रतिनिधि सभा बनाउनुपर्छ । एमाले र कांग्रेसले यो विषयमा सहमति गर्नुपर्छ । यी दुई पार्टीको सहमति र सहकार्यको आधार नै यसलाई बनाइनुपर्छ । कांग्रेस र एमालेले यसरी संविधान संशोधन गर्ने हो भने देशका धेरै समस्या आफैं समाधान हुँदै जानेछ ।

आउँदो चुनावपछि अहिलेकै अवस्था दोहोरिन्छ भने चुनावको के अर्थ भयो ? कांग्रेसले एक्लै चुनाव लडेर बहुमतको सरकार बनाउँछु भन्ने आँट गर्नुपर्‍यो । एमालेले पनि त्यसै गर्नुपर्‍यो । 

साना पार्टीको बैसाखी टेकेर सरकार चलाउनुको पीडा शेरबहादुर देउवाले भोगिरहनुभएको छ । तैपनि उहाँ किन आउँदो चुनावमा गठबन्धन गर्न प्रयास गरिरहनुभएको छ ? कथित एकीकरण भए पनि तत्कालीन नेकपा एउटा पार्टीजस्तो थिएन ।

केपी ओलीले स्थिर सरकार चलाउन पाउनुभएन । उहाँलाई कथित सचिवालय र स्थायी समितिको आडमा नियन्त्रण गर्न खोजिएको थियो । कांग्रेसले गठबन्धन बनाएन भने ओली नेतृत्वको एमालेले पनि गठबन्धन बनाउन हुँदैन । 

गठबन्धन गरेर एमालेको बहुमत छेकियो भने के हुन्छ ? कांग्रेसले अहिलेको जस्तै सरकार चलाउनुपर्ने हुन्छ । प्रचण्ड र माधव नेपाललाई अहिले जसरी नै चुनावपछि पनि कांग्रेसले झेल्नुपर्ने हुन्छ । अहिले देशले कुनै समाधान पाएको छैन, समस्या बढेकोबढ्यै छ । यस्तै सरकार चलाउन किन गठबन्धन गर्ने ? 

यसको समाधान सजिलो छ । चुनावमा जाने । चुनावमा जान प्रचण्ड र माधवहरू तयार हुनुहुन्न भन्ने कांग्रेस र एमाले दुवैलाई थाहा छ । तर कांग्रेस र एमालेले सहमति गरेर देशलाई चुनावमा लैजाने सहमति गरेमा प्रचण्ड र माधवको पार्टीले चुनाव रोक्न सक्ने छैन । 

समाधानको मुख्य पाटो

दुई पार्टी एकले अर्काको बाटो छेक्न हुँदैन भनियो तर यतिले समस्या समाधान हुँदैन । अहिलेको संविधान र चुनाव प्रणालीबाट कुनै एक पार्टीको बहुमत आउने सम्भावना कम हुन्छ । कुनैपनि पार्टीको बहुमत नआओस् भन्ने ध्यानमा राखेर संविधानमा मिश्रित चुनाव प्रणाली घुसाइएको छ । 

कांग्रेस र एमालेले सहमति तथा सहकार्य सहित प्रतिस्पर्धाको राजनीति गर्ने हो भने आउँदो चुनावअगाडि नै संविधान संशोधन गर्नुपर्छ ।

संविधान संशोधन गरेर समानुपातिक निर्वाचितहरूको राष्ट्रिय सभा र प्रत्यक्ष निर्वाचितहरूको प्रतिनिधि सभा बनाउनुपर्छ । एमाले र कांग्रेसले यो विषयमा सहमति गर्नुपर्छ । यी दुई पार्टीको सहमति र सहकार्यको आधार नै यसलाई बनाइनुपर्छ । कांग्रेस र एमालेले यसरी संविधान संशोधन गर्ने हो भने देशका धेरै समस्या आफैं समाधान हुँदै जानेछ ।

Twitter : @SundariPokharel

Facebook : @SPSirjana

कमेन्ट गर्नुहोस्