
चालू आर्थिक वर्षको मौद्रिक नीतिले कडाइ गरेपछि शेयर धितो कर्जा ६ महिनामा नै साढे ६ अर्बले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार असार मसान्तको तुलनामा शेयर धितो कर्जा ६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँले घटेको छ ।
असार मसान्तसम्ममा बैैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा गरेको ऋण लगानी १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ थियो । मार्जिन प्रकृतिको यस्तो ऋण पुस मसान्तमा आइपुग्दा ६.२ प्रतिशतले घटेर ९९ अर्ब ७० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकको नीतिअनुसार शेयर धितोमा प्रवाह हुने कर्जा एउटा संस्थाबाट प्रतिव्यक्ति ४ करोड रुपैयाँ र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँसम्मको सीमा तोकिएको छ ।
यस्तो व्यवस्था भएपछि १२ करोड रुपैयाँभन्दा बढी शेयर धितो कर्जा लिएका लगानीकर्ताले ऋण तिरेर राष्ट्र बैंकले तोकेको सीमामा ल्याउन थालेपछि शेयर धितो कर्जाको आकार घटेको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले शेयर धितो कर्जामा ठूला लगानीकर्तालाई नियन्त्रण र साना लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएको छ । गत साउन अन्तिम हप्ता जारी मौद्रिक नीतिमा शेयर धितो कर्जामा सीमा तोकिएपछि भदौयता निरन्तर शेयर बजार घटेको थियो । ३ हजार १०० विन्दुमा पुगेको शेयर सूचकांक २३ सयमा झरेर क्रमशः बजार सुधार हुन थालेको छ ।
ठूला लगानीकर्तामा जाने ऋण घट्यो, साना लगानीकर्ताले बढाए
ठूला लगानीकर्ताले लगेको शेयर धितो ऋण तिर्न थालेपछि शेयर धितो ऋणको कूल आकार घटेको छ तर साना लगानीकर्ताले लिने शेयर धितो ऋण भने बढेको छ । राष्ट्र बैंकका अधिकारीहरू साना लगानीकर्ता प्रवद्र्धन गर्नकै लागि ल्याएको नीतिको प्रभावकारिता अहिले पुष्टि भइरहेको बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा बढीको मार्जिन प्रकृतिको कर्जा १५ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड रुपैयाँभन्दा बढी कर्जा लिने लगानीकर्ताको समूहमा मात्रै ७३ अर्ब ५३ करोड रुपैयाँ शेयर धितो ऋण गएको थियो । उक्त ऋण चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ११ अर्ब रुपैयाँले घटेर ६२ अर्ब ५१ करोडमा सीमित भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्म ऋण लिने समूहमा शेयर धितो कर्जा ८ प्रतिशतले मात्रै बढेको छ । २५ लाख रुपैयाँभन्दा कमको शेयर धितोकर्जा पछिल्लो ६ महिनामा भने १७.१ प्रतिशतले बढेको छ ।
गत असारको तुलनामा पुसमा आइपुग्दा साना लगानीकर्ताले १ अर्ब १२ करोड रुपैयाँले शेयर धितो कर्जा बढाएका छन् । बैैैैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब ६३ करोड रुपैयाँ शेयर धितो कर्जा लगानी भएको छ ।
गत असार मसान्तसम्म जम्मा ७ अर्ब ३७ करोड रुपैयाँ मात्रै शेयर धितो कर्जामा गएको थियो । २५–५० लाखसम्म लगानी गर्ने लगानीकर्ताले यस अवधिसम्ममा २ अर्ब २२ करोडले शेयर धितो ऋण लिएका छन् ।
यो अवधिसम्ममा ५० लाखदेखि १ करोडसम्मको शेयर धितोमा गएको कर्जा भने जम्मा ८ प्रतिशतले मात्रै बढेको छ । यस्तो कर्जामा पुस मसान्तसम्ममा १२ अर्ब ९७ करोड रुपैयाँ पुगेको पनि राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।
वाणिज्य बैंकहरूबाट मात्रै पुससम्ममा ८३ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । यस्तो कर्जा गत असार मसान्तमा ९० अर्ब रुपैयाँ थियो । वाणिज्य बैैंकहरूबाट प्रवाह हुने यस्तो कर्जा गत वर्षको तुलनामा चालू आवको पहिलो ६ महिनामा करीब ७ अर्ब रुपैयाँले घटको छ ।
गत वर्ष वाणिज्य बैंकहरूले पुस मसान्तसम्ममा यस्तो मार्जिन कर्जामा ६४ अर्ब रुपैयाँ लगानी गरेका थिए । २७ वटा वाणिज्य बैंकहरूमा स्ट्याण्डर्ड चार्टर र नेपाल एसबीआई बैंकले भने शेयर धितो कर्जाको विवरण राष्ट्र बैंकलाई बुझाएका छैनन् ।
शेयर धितो कर्जामा वाणिज्य बैंकहरूको पुस मसान्तसम्म गरेको लगानी विवरण (लगानी १० लाख रूपैयाँमा)