
बेलायतकी टेनिस खेलाडी एम्मा राडुकानुलाई पछ्याएर सताउने अमृत मगरलाई पाँच वर्षसम्म उनी नजिक नपर्न त्यहाँको जिल्ला अदालतले आदेश दिएको छ ।
मगरले १९ वर्षीया राडुकानुलाई सन् २०२१ को नोभेम्बर १ देखि डिसेम्बर ४ सम्म पछ्याएका थिए ।
राडुकानुको घरमा मगर तीनपटक पुगेका थिए । त्यहाँ पुगेर उनी घरबाहिर यताउता गर्ने, नचाहिँदा उपहार र कार्ड दिने अनि घरबाट सामान चोर्ने काम गरेका थिए ।
उनले फूलको बुकेसँगै एउटा नोट राखेर ‘केही भन्नु छैन तर तिमीलाई मायाको खाँचो छ’ लेखेका थिए ।
अर्कोपटक उनले एउटा नक्शा कोरेर आफू घरबाट हिँडेर २३ माइल हिँडेको सन्देश दिएका थिए ।
जिल्ला न्यायाधीश सुशील कुमारले ह्यारोमा बस्ने मगरलाई राडुकानु नजिक पाँच वर्ष देखा नपर्न रिस्ट्रेनिङ अर्डर दिएका छन् । अनि उनलाई डेढ वर्ष सामुदायिक सेवा गर्ने सजाय पनि दिइएको छ ।
उनलाई बेलुका ९ देखि बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन पनि आदेश दिइएको छ र विद्युतीय ट्यागले निगरानी पनि गरिनेछ ।