
वार्षिक पुण्यतिथिको अवसरमा बागलुङ नगरपालिका–३ स्थित धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
बागलुङ नगरपालिका–३ स्थित विद्यालयका पूर्व शिक्षक स्व. घनश्याम शर्मा र पत्नी बलावती शर्माको नाममा ‘श्री घन बल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ ।
विद्यालयमा अध्ययनरत जेहेन्दरा विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि स्व. बुवाको १३औं वार्षिक पुण्यतिथिका अवसरमा विद्यालयमा १ लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ ।
विक्रम संवत् २०३५ सालदेखि धौलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा सेवारत घनश्याम शर्मा विद्यालयमै कार्यरत हुँदाको बखत २०६५ सालमा निधन भएको थियो । उनको स्मृतिमा आमा वलावती शर्माको समेत नाम जोडेर अक्षयकोष स्थापना गरिएको छोरा तथा ‘श्री घनबल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ कोषका संरक्षक हिमालप्रसाद शर्माले जानकारी दिए ।
कोषको व्याजबाट प्रत्येक वर्ष १–१२ कक्षासम्मका १२ जना विद्यार्थीलाई २ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ । पुरस्कार स्थापनाको दिनमा राष्ट्रिय परीक्षा बोर्ड २०७८ मा सर्वाधिक अंक ल्याउने ३ जनालाई नगदसहित सम्मान गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड २०७८ मा विद्यालयको साधारण धारतर्फको शिक्षा संकाय अन्तर्गत सर्वाधिक अंक ल्याउने मिनाक्षी घर्ती मगर, व्यवस्थापन समूहमा उत्कृष्ट अंक ल्याउने लालबहादुर रोका मगर र प्राविधिक धारतर्फ उत्कृष्ट अनुषा शर्मालाई नगद २ हजारका दरले सम्मान पत्रसहित सम्मान गरिएको थियो ।