
भारतमा यस वर्षको पद्मश्री पुरस्कार पाउनेमध्ये १ सय २६ वर्षीय योगाचार्य स्वामी शिवानन्द समेत छन् ।
उनले सेतो कुर्था र धोती पहिरिएर खाली खुट्टा पद्मश्री पुरस्कार लिन गएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सो तस्वीरसँगै १ सय २६ वर्षीय स्वामी शिवानन्दबारे पनि धेरै नै चर्चा भइरहेको छ ।
भारतको राष्ट्रपति भवनमा शिवानन्दले प्रधानमन्त्री नरेन्द्र मोदीको पाउमा झुकेका थिए ।
पद्यमश्री पुरस्कारबाट सम्मानित स्वामी शिवानन्दको जीवनशैली निकै संयमित छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, नियमित योगका कारण आफू धेरै उमेर बाँचेको स्वामी शिवानन्द बताउँछन् ।
उनले खानामा तेल, नुन र चीनी सामेल गर्दैनन् भने नियमित योग गर्ने गरेका छन् ।
सन् १८९६ अगस्ट ८ मा भारतको हरिहरपुर गाउँ (अहिले बंगलादेशमा छ) मा शिवानन्दको जन्म भएको थियो ।
गरिव परिवारमा जन्मिएका उनले ४ वषएसम्म चामलको माँड पिएर हुर्किएको बताइन्छ ।
६ वर्षको उमेरमा उनको माता–पिताको मृत्यु भयो । त्यसपछि उनका आफन्तले उनलाई ओमकारानन्द गोस्वामीलाई सुम्पिए । शिवानन्दले त्यहीँ शिक्षादिक्षा पाए । यसपछि उनी सद्गुरुका साथ नवदीप धाममा बस्न थाले ।
शिवानन्दले अनुशासित जिन्दगी नै जीवनको महत्वपूर्ण पक्ष भएको बताएका छन् ।
उनले आफूले सादा भोजन गर्ने गरेको बताएका छन् । जसमा उसिनेको खाना हुन्छ । उनले तेल वा मसलाजन्य खानाबाट परै रहने बताएका छन् ।
यस्तै शिवानन्दले खानामा दाल–चामल र हरियो खुर्सानी मन पर्ने बताएका छन् ।
यस्तै गुन्द्रीमा सुत्ने र दूधको सेवन नगर्ने उनको बानी छ ।
यस्तै उनले दैनिक एक घन्टा योग गर्ने गरेको बताउँछन् ।