
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष गज बहादुर रावत सहित ४ जना विरुद्ध ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
वडाध्यक्ष गज बहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी माथि अनुसन्धान गर्दा रावत सहित सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, सर्केगाड गाउँपालिकाका तत्कालीन लेखापाल सुरत बहादुर रेश्मीसमेतले हिनामिना गरेको खुलेको हो।
आफू वा अन्य व्यक्तिलाई लाभ र नेपाल सरकारलाई हानीनोक्सानी पुर्याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुको साथै भुक्तानीसमेत गरी सरकारलाई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई ८ लाख रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।