२६ असार २०८३, शुक्रबार
मधेशकेन्द्रित एमाले

कार्यकर्ता भित्र्याउन ओलीलाई भ्याइनभ्याइ: मधेशमा चुनावै जित्नेगरी बलियो बन्दैछ एमाले ?

चैत १६, २०७८
कार्यकर्ता भित्र्याउन ओलीलाई भ्याइनभ्याइ: मधेशमा चुनावै जित्नेगरी बलियो बन्दैछ एमाले ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनयता पार्टी प्रवेश गर्न चाहनेलाई स्वागत गर्नमै व्यस्त छन् ।

भक्तपुरको बालकोटस्थित निजी निवासमा होस् वा देशका विभिन्न ठाउँमा आयोजना भएका सार्वजनिक समारोह जहाँ पनि ओली एमाले प्रवेश गर्न चाहनेलाई टीका लगाइरहेका भेटिन्छन् ।

निर्वाचनको मिति घोषणा भएयता विशेषगरी मधेश प्रदेशमा एमालेमा प्रवेश गर्नेको संख्या धेरै देखिएको छ । पार्टी विभाजित भएको बेला पनि एमाले प्रवेश गर्नेको संख्या बढिरहँदा ओली हौसिएका छन् ।

ओलीले एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको १० औं महाधिवेशनयता पार्टी सदस्य संख्या ३ लाख बढेको विवरण पेश गरेका थिए । ओलीको दावी अनुसार एमालेको पार्टी सदस्य ११ लाख पुगेको छ । 

२०७४ को निर्वाचन अघि मधेशमा केपी ओलीलाई प्रवेश गर्नै नसक्ने अवस्था सिर्जना गरिएको थियो । मधेश केन्द्रित दलहरूले एमालेलाई मधेशविरोधी दलको रूपमा चित्रित गरेका थिए ।

निर्वाचनअघि एमालेको पूर्व–पश्चिम अभियानका क्रममा सप्तरीमा ओली सहभागी हुने सभा बिथोलिएको थियो । त्यसपछि ओलीलाई मधेश झर्न लामो समय लाग्यो । 

तर, अहिले परिस्थिति फेरिएको छ । एमाले अध्यक्ष ओलीले मधेश प्रदेशमा अरू पार्टीका कार्यकर्ता एमाले प्रवेश गराइरहेका छन् । ओलीको मधेश मोह बढेको छ भने आउजाउ बाक्लिएको छ । 

विभिन्न पार्टीबाट चुनाव जितेका जनप्रनिधिहरूलाई ओलीले एमाले प्रवेश गराइरहेका छन् । मधेशमा एमालेले आयोजना गरेका कार्यक्रम र प्रवेश गर्नेको संख्या हेर्दा मधेशमा एमालेको लहर आएकोजस्तो देखिन्छ । 

मधेशको राजनीति र सामाजिक परिवेशका जानकार एवं विश्लेषक चन्द्र किशोरले भने, ‘ओलीले मधेशबाट अरू पार्टीका कार्यकर्ता, निर्वाचित प्रतिनिधि, सार्वजनिक जीवनका व्यक्तिलाई कसरी पार्टीमा भित्र्याउने भनेर व्यक्तिगतरूपमै योजना बनाएर लागिरहेका छन् ।’

ओलीले मधेशमा प्रभाव बढाउने रणनीतिक योजनाअनुसार नै पार्टी प्रवेश अभियान चलाएको चन्द्रकिशोरको विश्लेषण छ । ‘गत निर्वाचनको बेला एमालेको देशव्यापी विजयरथ रोक्ने प्रयास मधेश प्रदेशमा भएको थियो । त्यसबाट ओलीलाई इगो र ईर्ष्या दुवै छ । त्यही कारण महत्त्वका साथ पार्टी प्रवेश अभियान चलाएका हुन्’, उनले भने ।   

मधेशमा किन चल्दैछ दल बदल्ने अभियान ?

पहिलो संविधान सभाको निर्वाचनअघि मधेशमा पहिचान, पहुँच र प्रतिनिधित्व खोजेर विद्रोह भयो । त्यही आन्दोलनको रापतापमा विभिन्न राजनीतिक दलहरू बने । त्यसबेला मधेश आन्दोलन त्यहाँका जनताको भावना र आत्मसम्मानसँग जोडिएको थियो । एमाले, कांग्रेस जस्ता ठूला दलमा आबद्ध कार्यकर्ता पार्टी छाडेर मधेश आन्दोलनबाट उदाएका पार्टीमा समाहित भए ।

मधेश आन्दोलनबाट आएका दलले पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा राम्रो नतिजा पनि ल्याए । तर, उनीहरू पनि शक्ति र सत्ताको खेलमा लागेपछि मधेशी जनतामा ती दलप्रति मोह भंग भएको चन्द्र किशोर बताउँछन् । 

उनी भन्छन्, ‘आन्दोलनका बेला कार्यकर्तामा समर्पणको मनोविज्ञान हुन्छ । त्यो समर्पण भावना र भविष्यसँग जोडिएको हुन्छ । मधेश आन्दोलनसँग जोडिएका दलहरू जब सत्ता राजनीतिमा पुगे उनीहरू अरू दलभन्दा फरक देखिएनन् । राजनीतिक कार्यकर्ताहरू जहाँ शक्ति छ, त्यही संरक्षित हुन खोज्छन् ।’

‘मधेश प्रदेशमा अहिले प्रवेश गरेका मान्छेका कारण एमाले चुनावका लागि बलियो भयो भन्न सकिँदैन । मधेशमा अहिले पनि कांग्रेस नै बलियो शक्ति हो । चुनाव जित्नका लागि एमालेलाई धेरै मेहनत गर्नुपर्छ’, अहिराजले भने । 

मधेश मामिलाका अर्का जानकार एवं विश्लेषक राजेश अहिराज पनि मधेश केन्द्रित दलहरूले चुनावमा पाएको मत मन्त्री पदसँग साट्ने गरेका कारण जनता र कार्यकर्तामा वितृष्णा आएको बताउँछन् । 

उनले भने, ‘एमाले मधेशविरोधी हो भनेर मत पाएका महन्थ ठाकुर र उपेन्द्र यादवको पार्टी विजयी भएको केही समयपछि एमालेसँगै सरकारमा गए । त्यहाँको जनतामा हामीलाई मात्रै एमाले मधेशविरोधी भन्छन्, तर आफूचाहिँ पालैपालो सरकारमा जाँदा रहेछन् भन्ने पर्‍यो । मधेशबाट मत लिने, एमालेलाई बुझाइदिने र २–४ थान मन्त्रालय लिएर भोट क्यारिअर (मत लिने र बुझाउने) रूपमा भूमिका निर्वाह गरे । त्यही कारण नेता र कार्यकर्ताले मधेशकेन्द्रित दल छाड्न थाले ।’ 

सरकारमा जान पाउँदा आफ्नो राजनीतिक दृष्टिकोण र आन्दोलनका मुद्दा नै बिर्सिने गरेकाले जनतालाई सबै दल उस्तै हुन् भन्ने परेको अहिराजको विश्लेषण छ । 

‘पूँजीवादी र समाजवादी एउटै सरकारमा बस्न थाले । राप्रपा र कांग्रेस एउटै सरकारमा बस्न थाले । राजा नभई हुँदैन भन्ने र राजा हुनै सक्दैन भन्ने पार्टी एउटै सरकारमा देखिन थाले । जनतामा सबै उस्तै रहेछन् भन्ने सन्देश गयो’, अहिराजले भने, ‘नेताहरूको वैधानिकता कामय रह्यो तर सामाजिक स्वीकृति गुम्यो । सिद्धान्तलाई विचार गरेर होइन आकर्षणलाई हेरेर पार्टी फेर्ने गरेका छन् ।’ 

मधेशमा एमालेको आकर्षण कि टिकटको बार्गेनिङ ?

मधेशमा अरू पार्टीबाट स्थानीय तहको चुनाव जितेका जनप्रतिनिधहरू धमाधम एमाले प्रवेश गरिरहेका छन् । 

कतिपय मधेशमा आयोजित सभामार्फत एमाले प्रवेश गरेका छन् भने कतिपय एमाले अध्यक्ष ओलीको निवास पुगेरै एमालेको सिन्दुर लगाइरहेका छन् । 

लोकतान्त्रिक प्रणालीमा आफूले चाहेको दलमा आबद्ध हुन पाउने स्वतन्त्रता हुन्छ । तर, पार्टी प्रवेश गर्ने र गराउनेले को, किन, कहिले र कसरी पार्टीमा जाँदैछ र कसरी भित्र्याइँदै छ ? भन्ने कुराको जवाफ दिनुपर्ने चन्द्र किशोर बताउँछन् । ।

अहिले मधेशमा साना दलका कार्यकर्ताले ठूलो राजनीतिक शक्तिको ओत खोजिरहेको चन्द्र किशोरको भनाइ छ । मधेशमा देखिएको एमाले प्रवेश खाल्डो पुर्न कुडाकर्कट भरिएको जस्तो मात्रै भएको उनी बताउँछन् ।

मधेश आन्दोलनका बेला धेरैले एमाले छाडेका थिए । एमाले विभाजन भएपछि कतिपय एकीकृत समाजवादीमा लागेका छन् । यसो हुँदा एमालेमा खाल्डो परेको र अहिलेको पार्टी प्रवेश त्यसलाई पूर्ति गर्ने प्रयास मात्रै भएको मधेश मामलाका जानकारहरू बताउँछन् ।  

‘खाल्डो पुर्नका लागि कबाड हालिन्छ, अहिले एमालेमा अरू कार्यकर्ताको प्रवेश त्यस्तै हो । चुनावले त्यसले केही मत त बढाउला, तर अरू दलका वेस्टेजहरूलाई ल्याउँदा समतामूलक समाज निर्माण गर्ने लक्ष्यलाई नै कुपोषित गर्छ’, चन्द्र किशोरले भने । 

आफ्नो पार्टीमा नपत्याउने अवस्थामा पुगेका व्यक्तिहरू अहिले बार्गेनिङ गरेर अर्को पार्टीमा जाने क्रम चलेको उनले बताए । अरू पार्टीका कार्यकर्तालाई ल्याउँदा ती व्यक्तिको औचित्य देखाउन सक्नुपर्ने उनको भनाइ छ ।

‘कुनै मेयरलाई ल्याएपछि एमालेले भन्न सक्नुपर्‍यो त्यो मेयरको विकासको मोडल, सुशासन, सरकारलाई घरदैलोमा पुर्‍याउन अनुवाद गरेको प्रक्रिया नमूना हुन्, आदर्श हुन्, त्यसकारण उनलाई पार्टीमा ल्याइयो भन्न सक्नुपर्‍यो नि ! नभए, कबाड ल्याएर खाल्डोमा हालेजस्तै हो’, उनले भने, ‘एमालेको आकर्षक बढेर मान्छे भित्रिएका होइनन्, त्यहाँ दबाब र प्रभाव दुवै छ ।’

मधेश राजनीतिका जानकार एवं विश्लेषक विजय कान्त लाल कर्ण मधेशमा एमाले प्रवेशको लहर नभएको दाबी गर्छन् । 

एक ठाउँमा प्रवेश गरेका मान्छेलाई नै अर्को ठाउँमा लगेर फेरि प्रवेश गराइएको र एमालेले ‘पब्लिसिटी स्टन्ट’ गरेको उनको आरोप छ ।

‘आमरूपमा प्रवेश गरेको देखिँदैन । वीरगञ्जमा एमाले प्रवेश गरेका मान्छे नै जनकपुर र विराटनगरमा प्रवेश गराइयो । सबैलाई बोलाएर फेरि काठमाडौंमा पनि प्रवेश गराइयो । यो पब्लिसिटी स्टन्ट मात्रै हो’, कर्णले भने, ‘शिव पटेल, विजय सरावगी वीरगञ्जमा एमाले प्रवेश गरिसकेका थिए । फेरि जनकपुरमा लगेर प्रवेश गराइयो । अझ विजय सरावगीलाई त बसरूद्दिन अन्सारीको छोरीको विवाहमा जाँदा नै ओलीले पार्टी प्रवेश गराइसकेका थिए ।’

अघिल्लो चुनावका बेला मधेशमा एमालेको खडेरी लागेको र अहिले एमालेले त्यसमा ‘कम ब्याक’को प्रयास गरेको कर्णको बुझाइ छ । 

हिजोआज मधेशमा हरेक साता पार्टी परिवर्तन गर्ने लहर चलिरहेको र त्यसो हुनाको मुख्य कारण पार्टीभित्रको बार्गेनिङ नै भएको उनी बताउँछन् ।

एमाले प्रवेश गरेका विजय सरावगी त्यसअघि कांग्रेस जान खोजेको थिए । तर, उनले सार्वजनिकरूपमा भने अनुसार, कांग्रेसमा सम्भावना नदेखेर एमालेमा प्रवेश गरेका हुन् । अर्का नेता राजेशमान सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमाले प्रवेश गरेका थिए । अहिले एमाले छाडेर जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । 

‘विजय सरावगीलाई जसपाले कुनै पनि हालतमा टिकट दिने अवस्था थिएन । यो कुरा उनलाई थाहा थियो । उनले ६ महिनादेखि कांग्रेसमा जान प्रयास गरेका थिए’, कर्ण भन्छन्, ‘सबैतिर टिकट हेरेर दल फेर्ने क्रम चलिरहेकै छ । मधेश अलि बढी हाइलाइट भएको मात्रै हो ।’

देशभरी नै स्थानीय तहको निर्वाचनप्रति आकर्षण बढेको र चुनावमा टिकट सुरक्षित गर्नकै लागि दल बदल्ने क्रम चलिरहेको छ । स्थानीय तहमा अत्याधिक रूपमा बजेट चलाउन पाइने भएकाले पनि उम्मेदवार बन्न चाहनेको संख्या बढेको छ । चुनावमा जुन दलले टिकट दिन्छ त्यही दलमा प्रवेश गर्ने क्रम देखिन थालेको छ । 

‘विचार, संगठन र लोकतन्त्रप्रति प्रतिबद्ध भएर राजनीति गरिरहेका छैनन् । मधेशप्रति प्रतिबद्ध भएर दल फेरबदल भएको पनि होइन । स्थानीय तहमा अत्यधिक मात्रामा बजेट खेलाउन पाइन्छ । यो भ्रष्टाचारको आकर्षण हो । छिटोछिटो पार्टी परिवर्तन गरेकाहरू देश सेवामा हिँडेका होइनन् । मेयर जित्ने र कमाउने चाहना राखेर, भ्रष्टाचार गर्छु भनेर नै पार्टी परिवर्तन गरिरहेका हुन्’, कर्णले भने । 

उनले थपे,  ‘टिकट हेरेर दल बदल्ने चलन सबै दलमा छ । कांग्रेस र मधेशी दलमा टिकट नपाएकाहरू एमालेमा जाने, एमालेमा असुरक्षित भएकाहरू मधेशी दलमा जाने गरेको देखिएको छ ।’

मधेशमा एमालेको संगठन रहेको तर, तागत र बिकाउ अनुहार नभएकाले अरू पार्टीका कार्यकर्ता एमालेले तान्न खोजेको चन्द्र किशोर बताउँछन् । ‘मधेशमा एमालेको संगठन संरचना छ । तर, तागत छैन । एमालेसँग अनुहार पनि छैन । हिन्दीमा एउटा भनाइ छ, मेरा दरबाजा खुला हे, खुला ही रहेगा । एमालेले अहिले दरबाजा खुला राखेको छ’, उनले भने । 

अर्का विश्लेषक अहिराज भने एमालेमा स्पेश भएकाले मधेशी नेता कार्यकर्ताको रूझान एमालेप्रति बढेको बताउँछन् । ‘कांग्रेसमा मधेशी अनुहार जति पनि छन् । उपेन्द्र र महन्थ ठाकुरको पार्टीमा पनि मधेशी अनुहार छँदैछ तर, तुलनात्मक रूपमा एमालेभित्र मधेशी अनुहारको लागि स्पेस छ भनेर एमालेप्रति रुझान बढेको हो ।’

एमाले सरकारमा रहेका बेलादेखि नै मधेशका सबै जिल्ला सदरमुकाममा चक्रपथ बनाउन, ढल व्यवस्थापन, रंगशाला निर्माण गर्न पैसा पठाएर मधेशी जनताको विश्वास जित्न रणनीतिक हिसाबले काम गरेको अहिराजको दाबी छ ।

राजनीतिक हैसियत र संरक्षणको खोजी 

मधेश आन्दोलनको आधारमा उठेका दल क्रमशः कमजोर बनिरहेको अवस्थामा कार्यकर्ताले ठूला दलको संरक्षण खोजिरहेको पनि विश्लेषकहरूको मत छ ।

सबैतिर राजनीतिक प्रभाव रहेको र त्यसको उपभोगका लागि पनि साना दलका नेता कार्यकर्ता ठूला दलमा सर्ने क्रम चलेको मधेश मामिलाका जानकारहरूको विश्लेषण छ ।

‘प्रहरी चौकी, अदालत, अख्तियारसम्म दलको कित्ताकाटको अवस्था छ । त्यसो हुँदा जोसँग शक्ति छ कार्यकर्ता उसैको पछि ओत लाग्न खोज्छ । सत्ता राजनीतिले शक्ति जहाँ छ कार्यकर्ता त्यहीँ भित्र्याउने हो’, चन्द्र किशोर भन्छन् । 

विगतमा एमाले र कांग्रेसको भातृ संगठनमा रहेकाहरू त्यहीँ रहेका भए खासै हैसियत बनाएका हुँदैनथे । उनीहरूले दल बदलेकै कारण उनीहरूको राजनीतिक हैसियत पनि बढेको छ । एमाले र कांग्रेसको भातृ संगठनबाट मधेशको राजनीतिमा आएपछि कोही सांसद, कोही मेयर भएका छन् ।

चन्द्र किशोर भन्छन्, ‘आफ्नै पार्टीका कार्यकर्ता अर्को दलबाट आउँदा शीर्ष नेताले रेड कार्पेट बिछ्याइरहेका छन् ।’

मधेशमा एमालेको संगठन रहेको तर, तागत र बिकाउ अनुहार नभएकाले अरू पार्टीका कार्यकर्ता एमालेले तान्न खोजेको चन्द्र किशोर बताउँछन् । ‘मधेशमा एमालेको संगठन संरचना छ । तर, तागत छैन । एमालेसँग अनुहार पनि छैन । हिन्दीमा एउटा भनाइ छ, मेरा दरबाजा खुला हे, खुला ही रहेगा । एमालेले अहिले दरबाजा खुला राखेको छ’, उनले भने । 

कांग्रेसमा हाउस फूल !

मधेशमा कांग्रेसले आफ्नै संगठन चुस्त बनाउन सकेको छैन । अझ मधेशका जिल्लामा कांग्रेसको १४ औं महाधिवेशनको जिल्ला अधिवेशन भर्खर सकिएको छ । महाधिवेशनकै कारण कांग्रेसभित्र व्यापक ध्रुवीकरण छ । 

‘अहिले कांग्रेसमा आफ्नै नेता कार्यकर्ता व्यवस्थापन गर्न गाह्रो छ । कांग्रेसलाई अर्को दलबाट ल्याउने फुर्सद नै छैन’, चन्द्र किशोरले भने । 

कांग्रेसले एमसीसी अनुमोदन गर्न मरिहत्ते गरेको तर, नागरिकताको विषयलाई बेवास्ता गरेकाले एमालेमा प्रवेश गर्नेको संख्या बढेको राजेश अहिराजको बुझाइ छ ।

‘कांग्रेसले ८–९ महिनायता एमसीसीका लागि मरिहत्ते गर्‍यो । तर, नागरिकताको लागि केही गरेन । कांग्रेस सरकारमा हुँदा पनि जनतासँग जोडिएका समस्याहरू नागरिकता, मलखाद, उखु किसानका समस्या आदिमा ध्यान दिएन । बरू सरकारमा भएको बेलामा एमालेले मधेशमा विकासको लागि बजेट पठाएको छ’, उनले भने ।

अर्कातर्फ, भौतिक पूर्वाधार मन्त्री रेणु यादवले मधेशमा हिंसा भड्काउने खालको अभिव्यक्ति दिँदा पनि कांग्रेस नेतृत्वको सरकारले कारवाही गर्न तयार नभएका कारण मधेश केन्द्रित दलका नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्न नचाहेको उनले बताए । ‘कांग्रेस मधेशको हितमा छैन कि भन्ने सन्देश मधेशका जनतामा परेको छ’, उनले भने । 

एमाले प्रवेशको चुनावी प्रभाव

मधेशमा एमाले प्रवेशको संख्या ठूलो देखिए पनि चुनाव जित्न भने एमालेलाई मुश्किल नै रहेको अहिराजको विश्लेषण छ । 

‘मधेश प्रदेशमा अहिले प्रवेश गरेका मान्छेका कारण एमाले चुनावका लागि बलियो भयो भन्न सकिँदैन । मधेशमा अहिले पनि कांग्रेस नै बलियो शक्ति हो । चुनाव जित्नका लागि एमालेलाई धेरै मेहनत गर्नुपर्छ’, अहिराजले भने । 

प्रजातान्त्रिक सोच भएका तर मधेशी दललाई मत नदिने सबैले कांग्रेसलाई भोट हाल्ने भएकाले एमाले कमजोर रहेको उनले बताए । ‘मधेशमा अहिले पनि कांग्रेस बलियो छ, एमालेप्रति भने आकर्षण बढ्दो छ’, उनले भने ।  

विजय कान्त लाल कर्ण भने एमालेमा भित्रिने र बाहिरिने दुवै क्रम रहेकाले अहिलेको प्रवेशले चुनावमा एमालेलाई ठूलो फाइदा नहुने बताउँछन् । 

‘एमालेमा भित्रिएका मात्रै होइनन्, एमाले छाडेर जाने पनि उत्तिकै छन् । एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर एमाले छाडेर जसपा प्रवेश गरेकी छन्’, कर्णले भने । 

केही मान्छे प्रवेश गरेकाले चुनावमा एमालेको नतिजामा सामान्य प्रभाव देखिने चन्द्र किशोर बताउँछन् । ‘मान्छे आएका छन्, थोर बहुत प्रभाव पार्छ । तर, मधेश प्रदेश समस्या सबै राजनीतिक दलको कार्यभार हो’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्