२६ असार २०८३, शुक्रबार

श्रममन्त्री श्रेष्ठ र विश्व बैंकका प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

श्रममन्त्री श्रेष्ठ र विश्व बैंकका प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्जसहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्त्वपूर्ण रहेको बताए । 

विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए । 

बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दिगो रोजगारीसँग जोड्ने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपूर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको मन्त्री श्रेष्ठले बताए । 

विश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न बिश्व बैंक तयार रहेको बताइन् । नेपाल सरकारको आन्तरिक रोजगारी प्रवर्द्धन सम्बन्धी नीति कार्यान्वयनमा विश्व बैंकले सहयोग गर्ने उनको भनाइ छ । 

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, यससम्बन्धी नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए । 

सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले परियोजनामार्फत भइरहेका कार्यक्रमहरूबारे जानकारी गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्