मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चैत २४, २०७८
युक्रेनको बुचामा ३२० भन्दा बढी सर्वसाधारणको हत्या गरेर सडकमा लाश छरिएको घटनाले संसारलाई स्तब्ध बनाएको छ ।
राजधानी किएभबाट उत्तरतर्फ रहेको बुचामा मार्च महिनाको अन्त्यसम्म रुसी सैनिकहरूको नियन्त्रण कायम थियो । तर रुसले अचानक बुचालाई समेत समेट्ने किएभ र चर्निहिभ क्षेत्रबाट सैनिकहरू हटाउने निर्णय लियो ।
रुसी सैनिकहरू बुचा लगायतका क्षेत्रबाट हटेलगत्तै युक्रेनीहरू त्यहाँ पुगे । त्यहाँ युक्रेनीहरूले हात पछाडि बाँधिएका अनि नजिकैबाट गोली हानिएका र चरम यातना दिइएका मानिसको लाशहरू जताततै छरिएको अवस्थामा भेटे ।
रुसी सैनिकहरूले युक्रेनी सर्वसाधारणको हत्या गरेर त्यसरी लाश फ्याँकेको आरोप युक्रेनीहरूले लगाए । त्यसैलाई साँचो मानेर अन्य मुलुकहरूले पनि बुचामा रुसी सैनिकहरूबाट नरसंहारको अपराध भएको निष्कर्ष निकाले ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की पनि घटनास्थलमा पुगे । लाशहरू देखेर स्तब्ध भएका उनले केही बोल्न सकेनन् । यस घटनापछि रुससँग सम्झौता गर्न थप कठिन बनेको जेलेन्स्कीले बताए ।
त्यसपछि संसारभरि रुसको निन्दा गर्न थालियो । रुसी सैनिकहरूमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने आवाज उठ्यो ।
अहिले रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउनका लागि अमेरिका र बेलायतले पैरवी गरिरहेका छन् । अझ रुसलाई राष्ट्रसंघको सुरक्षा परिषदबाट निष्काशन गर्न समेत आवाजहरू उठिरहेका छन् ।
रुसले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ । रुसको रक्षा मन्त्रालयले बुचा रुसी सैनिकहरूको नियन्त्रणमा रहँदा एकजना पनि स्थानीय निवासीले हिंस्रक कारवाही भोग्न नपरेको बताएको छ । उल्टो रुसी सैनिकहरूले किएभ वरपरको क्षेत्रमा ४५२ टन मानवीय सहायता उपलब्ध गराएको उसले स्पष्ट पारेको छ ।
युद्धरत पक्षबाट सही सूचनाको अपेक्षा गर्न सकिन्न । त्यसैले बुचामा भएको सामूहिक हत्याको दोषी किटिहाल्न निकै गाह्रो छ । त्यहाँ भएका लाशहरूको विधिविज्ञान (फरेन्सिक) परीक्षणपछि मात्र सत्यतथ्य उजागर हुनेछ ।
तर सामूहिक हत्या वा नरसंहारका दाबीहरूलाई गम्भीरतापूर्वक लिएर समुचित अनुसन्धान गर्नुपर्ने हुन्छ । अनि यसक्रममा पीडितहरूप्रति संवेदनशीलता राख्नु जरूरी छ ।
पश्चिमी सञ्चारमाध्यमहरूमा यस आरोपलाई जसरी राजनीतीकरण गरिँदैछ त्यसबाट यो कतै युद्धमा एक पक्षलाई दानवीकरण गर्नका लागि गरिएको प्रचारबाजीको एक हिस्सा त हैन भन्ने आशंका पनि उब्जाएको छ ।
रुसले यस विषयमा छलफलका लागि सुरक्षा परिषद्लाई दुईपटक अनुरोध गरेको भए पनि उसको आग्रहलाई स्वीकार गरिएको छैन । छलफलका क्रममा रुसले प्रमाण उपलब्ध गराएर बुचा सामूहिक हत्याको सत्यतथ्य उजागर गर्दा पश्चिमी भाष्य चकनाचुर हुने डरले छलफल गर्न नदिइएको तर्क पनि कतिपयले गरिरहेका छन् ।
रुस र युक्रेनबीचको वार्तामा केही प्रगति भएको समयमा बुचा घटनाको खुलासा हुनु पनि शंकास्पद छ । टर्कीमा भएको वार्तामा युक्रेनले नेटोको सदस्यता परित्याग गर्ने अनि तटस्थ हैसियतका बस्ने विषयमा सहमति लगभग पक्का गरेलगत्तै बुचा घटनाको खुलासा भएको हो ।
अनि घटना उजागर भएपछि विभिन्न देशले आफ्नो भूमिमा रहेका रुसी दूतावासबाट कर्मचारीहरूलाई निष्काशन गरेका छन् । रुसी सञ्चारमाध्यमहरूलाई सामाजिक सञ्जालबाट पूर्ण बहिष्कार गरिँदैछ । बुचा घटनाको निष्पक्ष अनुसन्धान गरिनुपर्छ भन्ने मानिसलाई मजाकमा उडाउने र रुसको पैसा खाएको मान्छे भन्ने आरोप लगाउने गरिएको छ ।
युक्रेनसँगको वार्तामा थप प्रगति होस् भनी रुसले मार्च ३० मा किएभ र चर्निहिभबाट आफ्ना सैनिक हटायो । त्यसो त उसको रणनीतिक अभीष्ट पूरा भइसकेकाले पनि उसलाई त्यहाँ सैनिक हटाउन अवसर मिलेको हो ।
रुसी सैनिकहरू बुचा तथा अन्य ठाउँबाट निस्केपछि बुचाका मेयर एनातोली फेदोरुकले मार्च ३१ मा एउटा भिडियो बनाएर आफ्नो शहरबाट रुसी सैनिकहरू निस्केको खुशियाली मनाए । त्यस भिडियोमा उनले सर्वसाधारणहरू मारिएको कुनै उल्लेख गरेका छैनन् । तर अहिले आएर चाहिँ फेदोरुकले लाशहरूको कुरा गरेका छन् ।
अनि रुसी सैनिकहरू निस्केको दुई दिनपछि अर्थात् अप्रिल २ मा मात्र बुचाका सडकमा लाशहरू छरिएको तस्वीर सार्वजनिक भयो । त्यसरी लाशहरू छरिएको देखिन्थे भने मार्च ३१ मै त्यसको तस्वीर र भिडियो देखिएको हुनुपर्थ्यो ।
अझ शंकास्पद कुरा त, रुसी सैनिकहरू निस्कनेबित्तिकै युक्रेनी सेनाको कुख्यात आजोभ बटालियनका सैनिकहरू बुचा पुगेका थिए । उनीहरूले बुचामा रुसी सैनिकहरूको नियन्त्रण कायम रहुन्जेल रुसीहरूलाई सहयोग गर्ने व्यक्तिको सफाया गरिदिने धम्की दिएका थिए ।
अनि आजोभ बटालियनका सैनिकहरूले बुचाका सडकमा डोरी लगाएर लाश तानेको र सडकछेउमा राखेको भिडियो समेत टेलिग्रामा अप्लोड गरिएको छ । यसले पनि शंकाको अवसर दिएको छ ।
मूनअफअलाबामा डट् ओआरजी नामक वेबसाइटमा रुसी सैनिकहरूले युद्धअपराध गरेको आरोपलाई खण्डन गर्ने प्रमाणहरू दिइएका छन् । बुचामा भेटिएका केही लाशको हातमा सेतो पट्टा देखिएको छ । सेतो पट्टा लगाउनेहरू रुससमर्थक हुन् । त्यसैले आजोभ बटालियनका सैनिकले तिनको हत्या गरेको हुन सक्ने सम्भावना पनि छ ।
अर्को कुरा, युद्धको समयमा अपराधी तत्त्वहरू पनि सक्रिय हुन्छन् । उनीहरूले सर्वसाधारणको घरमा पसेर लुटपाट र हत्या गर्ने सम्भावना प्रबल हुन्छ । त्यसमाथि युक्रेन सरकारले जेलका कैदीलाई समेत हतियार दिएर रुसी सैनिकमाथि आक्रमण गर्न प्रेरित गरेको थियो ।
अपराधीको हातमा हतियार दिइएपछि उसले त्यसको उपयोग सर्वसाधारणको हत्याका लागि गर्न सक्ने सम्भावना प्रबल हुन्छ । तिनै अपराधीहरूले सर्वसाधारणको हत्या गरेर सडकमा लाश फ्याँकेको हुन पनि सक्छ ।
तर यसो भनेर रुसी सैनिकहरूको कारवाहीलाई चोख्याउन सकिँदैन । रुसी सैनिकहरूले एक ठाउँबाट अर्को ठाउँमा जाँदा शंकास्पद ठानिएका सर्वसाधारणको गाडी तथा बिरामी बोक्ने एम्बुलेन्समाथि पनि गोली चलाएको बताइन्छ । युद्धमा सर्वसाधारणको हत्यालाई सैनिकहरूले कोल्याटरल ड्यामेज भनेर टारिदिन्छन् ।
अनि पश्चिमी सञ्चारमाध्यमहरूमा आएका विवरण हेर्दा रुसी सैनिकहरूले घरघरमा गएर मान्छे मारेको पनि देखिन्छ ।
बीबीसीसँग कुरा गर्दै इरीना नामक महिलाले उनी, उनका पिता भोलोदीमीर अब्रामोभ र उनका पति ओलेगलाई रुसी सैनिकहरूले घरबाट घिसार्दै लगेको बताइन् । आफ्ना पतिलाई घुँडा टेक्न लगाएर रुसी सैनिकहरूले टाउकोमा गोली हानेको इरीनाले बताइन् ।
एबीसी न्युजका विदेश संवाददाता जेम्स लंगम्यानका अनुसार, बुचामा बस्ने ५३ वर्षीय माइकोलाले शहरको सडकमा मानिसहरूको हत्या गरेको देखे । रुसीहरूले ५० वर्षमुनिका सबै पुरुषलाई हत्या गरेको अनि २० मिनेटभित्र लाश पुर्न आदेश दिएको आरोप पनि उनले लगाए ।
यसरी युक्रेनी सर्वसाधारणहरूले आफूमाथि रुसी सैनिकहरूले गरेको ज्यादतीको वर्णन गर्दा त्यसलाई गम्भीरतापूर्वक लिन जरूरी छ । अनि रुसी सैनिकहरू हिँडेपछि बुचामा लाशहरू देखिएको भनी रुसले गरेको दाबीलाई पनि भूउपग्रहीय तस्वीरहरूले झूटो साबित गरेको पश्चिमी सञ्चारमाध्यमहरूमा खबर छ । ती तस्वीरहरूमा कैयौं दिनदेखि लाशहरू त्यहाँ लडेको देखिन्छ ।
त्यसबाहेक रुसी ट्यांकबाट बुचाको सडकमा एक निहत्था साइक्लिस्टमाथि गोली प्रहार भएको ड्रोन फूटेज पनि प्रकाशित भएको छ । यस्ता घटनाहरूले रुसी सैनिकहरू पनि युद्धअपराधमा संलग्न रहेको प्रमाण प्रस्तुत गर्छन् ।
बुचामा भएको घटनाले यो भयानक युद्ध तत्कालै टुंग्याउनका लागि रुस र युक्रेनबीच शान्तिवार्ताको आवश्यकतालाई औंल्याएको छ । युद्ध जति लम्बिन्छ, बुचामा भएका जस्ता घटनाहरू दोहोरिरहन्छन् । तर बुचाका सडकमा गरिएका सर्वसाधारणको हत्यामा कुनै एक पक्षलाई दोषी ठहर्याइहाल्न सकिने स्थिति चाहिँ छैन ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...