
स्वास्थ्यमन्त्री विरोध खतिवडाले शनिवारदेखि प्रारम्भ भएको टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन् ।
शनिवार मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित भोजशिद्ध माविमा खोप अभियान शुरू गर्दै उनले खोप पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरे ।
शनिवारदेखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने बताउँदै मन्त्री खतिवडाले यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करीब ७५ लाख बालबालिकामा खोप सेवा प्रवाह गरिने जानकारी दिए । खोपका लागि देशैभर करीब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्था गरिएको भन्दै उनले खोप अभियानबाट मकवानपुरका मात्रै १ लाख ८ हजार बालबालिका लाभान्वित हुने उल्लेख गरे ।
विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको र बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइने बताइएको छ ।