
किरण कार्जित
आकाशका झिलमिल ताराहरु
टिप्न सक्दिन म के गरौं?
आकाशकै शितल जून पनि
भेट्न सक्दिन म के गरौ?
धर्तिकै भुइकुहिरोभित्र
सुनिन्छन पदचापहरू
आकाशीय दिप्त राप
थेग्न सक्दिन म के गरौं?
केहि दिन चाहेपनि उसंग
केहि छैन अनि म के मागौं??
निराकार शुन्य आकाशसंग
असीमित बेदना के सुनाऔं ??
त्यो शुन्यताको बिरानीमा
प्रेमको आबादी छ के जानौं?
नील र॔गको गहिराइमा
भ्रमको चरो उड्छ कि मानौं ?
कठोर चट्टानी भीर ढुंगाले
उ भेट्छ कि के जानौं ?
सागरको तरलताले क्षितिज
किनारा भेट्ला कि ठानौं ।
तथ्य जे होला परन्तु जिज्ञासा
म भित्र शुन्य भो किन मानौं?
धरालाइ त्यो आकाश स॔धै
सहज सदाचारी लाग्ला।
जुगौंजुग आकाशसंग
कतै कुनै प्रश्न हुनेछैन।
उसको मौनतासँग कहिल्यै
कुनै हिसाब पनि हुनेछैन।
सत्य जे होला मनको बिचार
मभित्र अहो !!अझै नगण्य छ ।।
सितापाइला