२९ जेठ २०८३, शुक्रबार
कीर्तिमानी पार्कर खेलाडी

बालुवाको ढिस्को देख्नै नहुने त्यो 'आदत' जसका कारण गिनिज बूकमा ५ पटक लेखियो नाम [भिडियो]

चैत ३०, २०७८

अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनार ठूल्ठूला ढिस्कोबाट उड्छन् (दुई स्टेपसम्म), भित्तामा उफ्रिन्छन् अनि भीरपाखाबाट हाम्फाल्छन् । अद्भुत क्षमता छ उनमा ।

बाल्यकालमा यसरी उफ्रिँदा साथीहरूले हनुमान उपनाम दिएका थिए रे । चरा जसरी उड्ने, चितुवाको गतिमा दौडने र खतरासँग खेल्ने बचपनदेखिको 'आदत'ले नै उनी ५ पटकसम्म गिनिज बूकमा नाम लेखाउन सफल भएका छन् ।

'बाल्यकालमा उफ्रिँदाउफ्रिँदै सिकेको खेलले गिनिज बूकमा नाम लेखाउँला भन्ने त कुनै कल्पना नै थिएन,' दिनेशले सम्झिए । यहाँसम्म कि त्यतिबेला त उनलाई यो खेल हो भन्ने समेत थाहा थिएन ।

हाल अमेरिकामा रहेका उनी छैटौंपटक गिनिज बूकमा नाम लेखाउने तयारीमा छन् ।

बाल्यकालको त्यो क्षण

दिनेशको जन्म खोटाङमा भएको थियो । गाउँमा गरीबीले सताएपछि उनको परिवार काठमाडौं आयो । उनी पनि बुवाआमाको पछि लागेर बाल्यकाल (८ वर्षको उमेर) मै राजधानी आइपुगे ।

उनीहरू ललितपुरको इमाडोलमा डेरा गरी बस्न थाले । इमाडोल क्षेत्र अहिलेजस्तो घरैघरले ढाकिसकेको थिएन । अहिलेका धेरैजसो घरहरू निर्माण हुनै बाँकी थिए ।

उनी आसपासका घर बनाउनका लागि राखिएको बालुवाको थुप्रोमा पुगेर खेल्न थाले । बालुवाको थुप्रो देख्नै नहुने, डबल जिम्न्यास्टिक हानिहाल्थे । तर उनलाई यो पनि कुनै खेल हो भन्ने थाहा थिएन ।

एकदिन उनी डेरानजिकै बालुवाको ठूलो थुप्रोबाट जम्प हानिरहेका थिए, साहुले देखेछन् ।

आफ्नो बालुवा खेर गएको झोंकमा रिसाएका ती व्यक्तिले छातीमा लात्तीले हानेछन् ।

'मलाई लात्तीले मात्र हानेनन्, बुवाआमासँग झगडा पनि गरे । त्यही प्रकरणले हामी इमाडोलबाट डेरा सर्नुपर्ने परिस्थिति आयो,' दिनेशले बाल्यकालको नमीठो क्षण सम्झिए ।

राजधानीमा पनि जीविकोपार्जन गर्न गाह्रो भइरहेको थियो ।

यहाँ खासै कमाइ नभएपछि बुवा विदेश हानिए, दिनेश र परिवारका अन्य सदस्य गाउँ फर्किए ।

खेल जीवनमा प्रवेश

गाउँ फर्किएपछि दिनेश स्कूलको एक कार्यक्रममा आफ्नो कौशल प्रस्तुत गर्दै थिए । सो कार्यक्रममा सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत पनि पुगेका रहेछन् ।

दिनेशको कौशल सशस्त्रका महानिरीक्षक बस्नेतको नजरमा पर्‍यो । उनले सशस्त्र प्रहरीमा आवद्ध भएर खेलजीवन आरम्भ गर्न अफर गरे ।

'त्यतिबेला मैले बल्ल थाहा पाएँ कि यो पनि कुनै खेल हो, यसमा पनि भविष्य छ भन्ने कुरा,' लोकान्तरसँगको कुराकानीमा दिनेशले भने ।

२०६९ सालमा दिनेश सशस्त्र प्रहरीमा भर्ना भए । बल्ल शुरू भयो उनको औपचारिक खेलजीवन ।

दिनेशको दैनिकी रंगशाला र कभर्ड हलहरूमा बित्न थाल्यो । उनले कभर्ड हलका भित्ताहरूमा जिम्न्यास्टिक हान्न थाले, त्यो पनि गुरुले सिकाएबमोजिम अनि नियममा बाँधिएर ।

सशस्त्रमा भर्ना भएको २ वर्षमा नै उनले प्रथम लुम्बिनी च्याम्पियनशिपमा स्वर्णपदक जित्न सफल भए । मेडल जिते, जागिर पनि थियो तर जीवनमा आर्थिक संकट भने टरेको थिएन ।

अभ्यासका क्रममा एकदिन उनको खुट्टा फ्याक्चर भयो । उनी ३ महिनाका लागि बेड रेस्टमा पुगे ।

'तीन महिनासम्म बेड रेस्टमा थन्किनु पर्दा निकै आत्तिएँ । मनमा धेरै कुरा खेले,' दिनेशले सम्झिए ।

त्यसपछि उनलाई गिनिज बूकमा नाम लेखाउन मन लाग्यो । आफ्नो ध्यान त्यतैतिर केन्द्रित गरे ।

सशस्त्रमा उनीभन्दा माथिल्लो तहका अधिकृतहरूले पहिलेदेखि नै गिनिज बूकमा नाम लेखाउन सुझाव दिएका रहेछन् ।

सन् २०१७ मा पहिलोपटक उनले ‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलबाट गिनिज बूकमा नाम लेखाउन सफल भए ।

पहिलोपटक नाम लेखाएपछि हौसला थपियो । उनी विभिन्न रेकर्ड तोड्दै नाममाथि नाम लेखाउन थाले ।

‘अझ पनि थप्ने मन छ’, गिनिज बूकमा ५ पटक नाम लेखाइसकेका दिनेश भन्छन् ।

दिनेशले ५ औं पटकको रेकर्डचाहिँ अमेरिका पुगेर कायम गरेका हुन् ।

उनले ‘मस्ट ब्याकवार्ड समरसल्ट इन अ ट्रयाम्पोलाइन’ विधामा नाम लेखाएका छन् ।

यसपटक उनलाई अमेरिकी सिनेटर सी. लिऊले न्युयोर्कको एक कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गरे ।

उनी वर्ल्ड फर्निङ पार्कर फेडेरेशन (डब्लुएफपीएफ)सँग पनि आवद्ध छन्।

अब महिना दिनभित्रै क्यानेडियन नागरिकको नाममा रहेको रेकर्ड तोडेर छैटौंपटक नाम लेखाउने उनको लक्ष्य छ ।

दिनेशको मूल विधा खेल हो र त्यसमा पनि ‘पार्कर’ उनको कौशलता हो।

विश्वभर चर्चित रहेको पार्कर खेल जिम्न्यास्टिकको परिस्कृत रूप हो । दिनेशले यसैलाई दैनिकी बनाएका छन् अनि कीर्तिमानमाथि कीर्तिमान कायम गरिरहेका छन् ।

हेर्नुहोस्, भिडियो :

कमेन्ट गर्नुहोस्