१० असार २०८३, बुधबार
स्वदेशमै पाैरख

विदेशमा काम गर्दा ४५ हजार तलब, स्वदेशमै मयुरी चलाएर ७० हजार कमाइ

बैशाख ३, २०७९
विदेशमा काम गर्दा ४५ हजार तलब, स्वदेशमै मयुरी चलाएर ७० हजार कमाइ

बिहानको झिसमिसे उज्यालोमा केही व्यक्ति मर्निङ वाकमा निस्किन्छन् तर मकवानपुरगढी गाउँपालिका–२ का ४५ वर्षीय जीतबहादुर तामाङ  बिहानैदेखि कमाइको धन्दामा लागिहाल्छन् ।

विद्युतीय रिक्सा चलाएर स्वरोजगार बनेका तामाङ मासिक ७० हजार रुपैयाँसम्म कमाउँदै आएका छन् । उनी दिनरात नभनी मेहनत गर्छन् ।

तामाङसँग ११ वर्ष वैदेशिक रोजगारीमा बसेको लामो अनुभव छ । आर्थिक स्थिति कमजोर भएका बेला वैदेशिक रोजगारीमा गएका उनी अन्ततः स्वदेशमै रमाएका छन् ।

भविष्य खोज्दै २०६५ सालतिर उनी साउदी पुगेका थिए । उनी २ वर्ष साउदी बसेर २०६७ सालमा नेपाल फर्किएका थिए । नेपाल फर्केर केही गर्छु भन्ने सोचेको भए पनि जीतबहादुरले राजनीतिक अस्थिरता र लगानीको वातावरण नदेखेपछि २०६८ सालमा ‘इलेक्ट्रोनिक हेल्पर’ बनेर पुनः साउदी नै जाने निधो गरे ।

नेपालबाट इलेक्ट्रोनिक हेल्पर भनेर गए पनि साउदीमा अरु नै काम गर्नुपर्दा उनी छाँगाबाट खसेजस्तै भए । साउदीमा रहँदा तोकिएबाहेक घरायसी काम समेत गर्नुपरेको उनले बताए ।

उनी वैदेशिक रोजगारीमै रहँदा घरमा उनका बुवाको मुत्यु भयो । उनले बुवाको मुत्युको खबर पाएपछि कम्पनीसँग घर फर्किन बिदा मागे तर बिदा नपाएको बताए । वैदेशिक रोजगारीका कारण आफू घरको ज्येष्ठ सदस्य बुवाको मुत्युमा पनि घर जान नसकेको उनको मनमा सधैं खेलिरहन्थ्यो ।

उनले भने, ‘२०७७ चैतको अन्यतिर विश्वव्यापी कोरोना महामारी बढ्दै थियो । मैले कम्पनीबाट बिदा पाउने समय पनि त्यही थियो । त्यही मौकामा नेपाल फर्किए र त्यसपछि विदेश नजाने निर्णय गरें । त्यसपछि यहाँ के गर्दा उपयुक्त होला बुझ्न थालें । घरपरिवारसँग बसेर राम्रो कमाइ हुने खालको कामको खोजीमा थिएँ । साथीभाइ र घरपरिवारको सल्लाहअनुसार मयुरी (विद्युतीय रिक्सा) राम्रो हुने पाएँ । त्यसलगत्तै २ लाख रुपैयाँ लगानी गर्दै मयुरी किनें ।’

घरमा आफू, १ छोरी र पत्नीसहित ३ जना रहेकोमा खर्च मयुरीको आम्दानीले नै धान्ने गरेको जीतबहादुरले बताए । बिहान ५–६ बजेदेखि साँझ ७ बजेसम्म मयुरी चलाउँदा मासिक ६०–७० हजार रुपैयाँसम्म कमाइ हुने उनले बताए । उनले भने, ‘बिहान ५–६ बजे विद्यार्थी भेटिँदा बोकेर क्याम्पस पुर्‍याउने गरेको छु, बजारबाट तरकारीहरू बोकेर पसलमा पुर्‍याउँछु । १० बजे खाना खान आउँदा मयुरी चार्जमा राख्छु र आराम गर्छु । ११ बजे पुनः मयुरी लिएर निस्किन्छु र ३–४ बजेतिर फेरि खाजा खान घरमा आउँदा चार्जमा राख्छु अनि एकैचोटी साँझ ७ बजेतिर फर्कन्छु । दैनिक २ हजारदेखि २५ सय रुपैयाँसम्म थोरैमा पनि कमाइ हुन्छ । गर्न सके यो काममा खटिनेले अझै बढी पनि कमाइ गर्न सक्छन् ।’

हाल हेटाडा–२ स्थित संंगमचोकमा डेरा लिएर बसेको सुनाउँदै उनले भने, ‘गर्न सके स्वदेशमै पनि राम्रो हुँदो रहेछ ।’ मासिक ४०–४५ हजार रुपैयाँका लागि विदेशमा लामो समय बिताएका उनले स्वदेशमै त्योभन्दा बढी कमाइ हुँदा निकै खुशी रहेको बताए ।

उनले भने, ‘छोरी १० कक्षामा पढ्दै छे । छोरीको पढाइ, कोठाभाडा, खाना इत्यादि सबै यहीबाट पुगेको छ ।’

मयुरीमा कमाइ मात्र नभई समस्या पनि रहेको उनले सुनाए । ‘अटो र मयुरीका लागि छुट्टै पार्किङको व्यवस्था छैन । कतै रोक्न पाइँदैन । मासिक १ हजार ५२० रुपैयाँ संघलाई लेबी बुझाउने गरेको छौं । सरकारलाई कर तिर्छाैं तर त्यो अनुसारको सरकारी तवरबाट गर्नुपर्ने काम नहुँदा हामीलाई धेरै समस्या छ ।’

salt training

कमेन्ट गर्नुहोस्