२५ असार २०८३, बिहीबार
स्थानीय चुनाव

पोखराको मेयरका लागि मन्त्रीसहित १८ जना आकांक्षीले दिए २५ हजार तिरेर कांग्रेसमा निवेदन

बैशाख ४, २०७९
पोखराको मेयरका लागि मन्त्रीसहित १८ जना आकांक्षीले दिए २५ हजार तिरेर कांग्रेसमा निवेदन

पोखरा महानगरको मेयर उम्मेदवार बन्न आकांक्षा राख्दै नेपाली कांग्रेसका १८ जनाले निवेदन दिएका छन् । 

नेपाली कांग्रेस नगर समितिले गरेको आह्वानअनुसार मेयरका लागि १८ जनाले निवेदन दिएका कांग्रेस पोखरा महानगर समितिका प्रवक्ता टुवराज बास्तोलाले लोकान्तरलाई जानकारी दिए । 

मेयरका लागि सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य र सरस्वती गुरुङले निवेदन दिएका छन् । 

यसै गरी नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्क्षे, विश्वशंकर पालिखे र किशोरदत्त बरालले उम्मेदवारीका लागि निवेदन दिएको बास्तोलाले जानकारी दिए । 

मेयरकै लागि बिन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, किरण केसी, कोपिला रानाभाट, विश्व घिमिरे र श्रृषी सापकोटाले नाम दर्ता गराएका छन् । प्रदेशका मन्त्रीसमेत रहेका बिन्दुकुमार थापाले पनि दरखास्त दिएका छन् । 

प्रदेश सांसद रहेका थापा गण्डकी प्रदेश सरकारको सञ्चार, कानून तथा प्रदेश मामिला मन्त्री छन् । किशोरदत्त बराल कांग्रेस कास्कीका सभापति हुन् । 

पोखरा महानगरको उपमयेरका लागि माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, आन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा र चिनु गुरुङले आकांक्षा दर्ता गरेका छन् । ​यस्तै शिव केसी र गोविन्द नेपालीले पनि अन्तिममा उपमेयरका लागि निवेदन दिएका छन् । योसँगै उपमेयरका लागि आकांक्षीको संख्या १० पुगेको छ ।

मेयरमा आकांक्षा दर्ता गर्नका लागि २५ हजार र उपमयेरका लागि २० हजार रूपैयाँ शुल्क तिरेका छन् । कांग्रेस महानगर समितिका अनुसार यो शुल्क पार्टीलाई सहयोगबापत आकांक्षीले स्वेच्छाले दिएका हुन् ।

मनोनयनको लागि आइतवार ४ बजेसम्मको समय तोकिएको थियो । प्राप्त आवेदनमाथि छलफल गरेर छोटो सूची केन्द्रमा पठाउने कांग्रेसको तयारी छ । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ । गठबन्धन दलबीच भोलिसम्ममा महानगर र उपमहानगरबीच तालमेल गरेर केन्द्रलाई जानकारी गराउन निर्देशन दिने सहमति भएको थियो । पोखरा महानगरको नेतृत्वका लागि नेकपा एसले पनि दाबी गरेको छ । 

गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेले कांग्रेससँग फराकिलो मतान्तरले मेयर जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्