
आसन्न स्थानीय चुनावमा सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरमा कसले टिकट पाउँला भन्ने आमचासो छ । केन्द्रमा भएको गठबन्धनअनुसारै निर्वाचनमा होमिने निर्णय भए पनि स्थानीय स्तरमा निकै सकस देखिएको छ ।
प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा सत्ता गठबन्धनमै आबद्ध प्रमुख २ दलहरू नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले प्रमुख पदमा दाबी गर्दा नेपाली काग्रेस गठबन्धन टोक्नु न बोक्नुको स्थितिमा पुगेको छ ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेस मकवानपुर जिल्लाको दोस्रो पार्टीको रूपमा थियो तर गठबन्धन दलले आ–आफ्नो दाबी गरिरहँदा प्रदेशकै एक मात्र उपमहानगर गुमाउने भय देखिएको छ । कांग्रेस मकवानपुरका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार नै धाउन थालेका छन् ।
बालुवाटार पुगे कांगेसका २ आकांक्षी
हेटौंडाको मेयरका लागी नेपाली कांग्रेस मकवानपुरका २ आकांक्षीहरू आनन्दराम पराजुली र प्रभात दाहाल बालुवाटार पुगेका छन् । स्थानीय निर्वाचन र सत्ता गठबन्धनभित्रको दाबीबीच २ नेताले प्रधानमन्त्री एवं कांगे्रस सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।
पराजुलीले प्रधानमन्त्री देउवालाई भेटेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए भने भने प्रभात दाहालले केही दिनअघि मात्र भेटेका थिए । दुवै संस्थानपन पक्षधर रहे तापनि पराजुलीलाई बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले साथ दिन छाडेको चर्चा मकवानपुरे राजनीतिक वृत्तमा छ । दाहाल संस्थापन पक्षमा खुलेपछि मेयरको टिकट कसले ल्याउलान् चासो छ ।
पराजुली अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरमा ६१५ मतान्तरले एमाले उम्मेदवारसँग पराजित भएका थिए । केन्द्रमा प्रकाशमान सिंहनिकट मानिने प्रभात दाहाल लामो समय नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री समेत रहँदै राजनीति गरेका नेता हुन् । केन्द्रमा प्रकाशमान सिंहले १४औं महाधिवेशनमा रामचन्द्र पौडेलको पक्षधरता छाड्दै शेरबहादुर देउवा पक्षतिर लागेसँगै दाहाल पनि जिल्लामा संस्थापन पक्षतिर लागेर जिल्ला सभापति बुद्ध लामालाई जिताउन खुलेका थिए । उपनगरको मेयरको टिकट कसलाई दिने भन्ने जिल्ला, प्रदेश हुँदै केन्द्रले तय गर्नेछ । कांग्रेस मकवानपुरले हालसम्म पनि आफ्नो उम्मेदवारको टुंगो लगाउन नसक्दा अन्य दलहरूले आफ्ना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।
उपमहानगरसहित सबै वडामा एकीकृत समाजवादीको दाबी
सत्ता गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको मेयर/उपमेयरसहित १९ वटै वडामा आफ्नो उम्मेदवार खडा गर्न नाम सिफारिस गरेको छ । समाजवादीले मेयरमा पार्टीका जिल्ला अध्यक्ष रहेका श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिवार बसेको बैठकले जिल्ला अध्यक्ष पोखरेल र लामालाई मेयरको उम्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस गरिसकेको छ ।
उपमेयरमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुंगाना लामा गरी ४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ । हेटौंडा उपमहानगरका १९ वटै वडाबाट अध्यक्षका उम्मेदवारको नाम पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
मेयरमा माओवादीको दाबी यथावत
नेकपा माओवादी केन्द्रले पनि उपमहानगरको नेतृत्व आफूहरूले पाउनुपर्ने अडान लिएको छ । हालसम्म हेटौंडा उपमहानगरपालिकाको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरेको छैन ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले नगरको मेयर कांग्रेसलाई समर्थन गरेर उपमेयरमा बलराम बललाई उम्मेदवार बनाएको थियो तर गठबन्धनमा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी आनन्दराम पराजुली र उपमेयरका प्रत्यासी बल दुवै जना एमालेसँग पराजित भएका थिए । पराजितमध्ये बलराम बल हाल एमाले राजनीतिमा सक्रिय भूमिकामा छन् ।
निर्वाचनमा हेटौंडा उपमहानगरका १९ वडामध्ये एमालेले १२ वडा जितेको थियो भने कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडा जितेको थियो ।
विरासत जोगाउने एमालेको दाउ
नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपलिकाको मेयर र उपमेयरको नेतृत्वका लागि आफ्ना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । एमालेले उपमहानगरपालिकाको मेयर पदका लागि हालका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गरेको छ ।
उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्रप्रसाद नेपालको नाम सिफारिस गरिएको छ ।
२०७४ सालको स्थानीय चुनावलाई हेर्दा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लालकिल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीनाकुमारी लामाले उपमेयरमा जितेका थिए । त्यसैले पनि नेकपा एमाले आफ्नो विरासत जोगाउने दाउमा छ भने चुनावी घरदैलो अभियानमा नेताहरू केन्द्रित छन् ।
उपमहानगरपालिको मेयरमा १ जनाको स्वतन्त्र उम्मेदवारी
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपलिकाको मेयरका लागि बबिता आचार्यले उम्मेदवारी दिने भएकी छन् । हेटौंडा उममहानगरपलिका–१९ निवासी ३२ वर्षीया आर्चायले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘मेरो उम्मेदवारी कुनै पनि राजनीतिक दलबाट नभएर स्वतन्त्रबाट हो । नेपाली समाजमा देखापरेको भष्टाचार, बेथिति विसंगतिविरुद्ध मेरो उम्मेदवारी हुनेछ ।’
समग्र युवाको प्रतिनिधित्व गर्दै बेरोजगारी समस्या लगायत समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ मेयरमा उम्मेदवारी दिन लागेको उनले बताइन् । चुनावमा विजयी भए नगरलाई नमूना नगरको रूपमा विकास गर्ने उनले दाबी गरिन् ।