
युक्रेनमाथि रुसले गरेको आक्रमणमा अन्य विभिन्न हतियारसँगै ड्रोनहरूको पनि व्यापक उपयोग गरिँदैछ ।
सञ्चालकले टाढा बसेर रिमोट कन्ट्रोलमार्फत चलाउने ड्रोनले आधुनिक युद्धकलामा क्रान्ति ल्याएको बताइन्छ । आफ्नो सैनिकलाई कुनै क्षति नहुने तर शत्रुको जनधनलाई व्यापक क्षति गराउने भएकाले राज्यहरू ड्रोनको उपयोग गर्न रुचि देखाइरहेका छन् ।
निगरानी र निरीक्षणका लागि उपयोग गरिने गरेको ड्रोनलाई अमेरिकाले शत्रु मार्नका लागि प्रयोग गर्न थालेको सन् २००१ देखि हो । त्यसपछि अन्य मुलुकहरूले पनि यस प्रयोजनका लागि ड्रोन प्रयोग गरिरहेका छन् ।
अहिले चलिरहेको युद्धमा रुसले ओरियन (इनोक्सोडेट) ड्रोन प्रयोग गरेर युक्रेनी लक्ष्यहरूमा सटीक प्रहार गरिरहेको छ । उक्त ड्रोनमा लेजर गाइडेड क्षेप्यास्त्र समेत जडान गरिएको छ । यसले युद्धमा अन्य ड्रोनहरूलाई नष्ट गर्न सक्छ ।
रुसले मरिउपोलमा युक्रेनी सैनिकहरूलाई घेराबन्दी गरेर आत्मसमर्पणका लागि बाध्य बनाउन ड्रोनको भरपूर उपयोग गरेको बताइन्छ । आफ्ना सैन्य इकाइमा ड्रोनलाई राम्रोसँग प्रयोग गर्न सक्ने अग्रणी मुलुक रुस नै भएको विश्लेषकहरू बताउँछन् ।
युक्रेनले पनि यस युद्धमा टर्कीसँग किनेको बेराक्तार ड्रोन उपयोग गरिरहेको छ । बेराक्तार टीबी२ ड्रोनमार्फत युक्रेनले रुसी सेनामाथि प्रहार गरेको भिडियोहरू सार्वजनिक भएका छन् । त्यसबाहेक उसले अमेरिकासँग किनेको कामिकाजे ड्रोन पनि उपयोग गर्न थालेको छ । त्यसको चर्चा तल पनि गरिनेछ ।
बेराक्तार ड्रोन आर्मेनिया र अजरबैजानबीच सन् २०२० मा नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वका लागि भएको युद्धमा पनि उपयोग गरिएको थियो । टर्कीबाट किनेर अजरबैजानले उपयोग गरेको ड्रोनले आर्मेनियाका हवाई प्रतिरक्षालाई ध्वस्त पारेको थियो । यी ड्रोनहरूले आर्मेनियाका ट्यांक, आर्टिलरी पीस र सप्लाई ट्रकलाई पनि नष्ट गरेका थिए ।
परम्परागत हतियारको तुलनामा ड्रोनको अत्यधिक प्रयोग गरिएकाले अजरबैजानले आर्मेनियालाई युद्धमा हराएको भनी विश्लेषण गरिएको थियो । कतिपयले त्यसलाई उत्तरआधुनिक युद्धको समेत संज्ञा दिएका छन् ।
विश्लेषकहरूले ड्रोनलाई युद्धकलाको भविष्य मान्नुमा तीनवटा कारण औंल्याएका छन् । पहिलो, यसले सैनिकहरूमाथिको जोखिम हटाउँछ । दोस्रो, यसले अन्य हतियारको भन्दा कम त्रुटि गराउँछ । तेस्रो, यसले भविष्यका युद्धहरूमा स्तरीय प्रविधि उपयोगको अवसर दिन्छ ।
अमेरिकाले इरानका शीर्ष सैन्य कमान्डर कासिम सोलेमानीलाई बग्दाद विमानस्थल नजिक रीपर ड्रोन प्रहार गरेर हत्या गर्दा सर्वसाधारणहरूलाई क्षति पुगेको थिएन । अमेरिकाले तारो बनाएका सोलेमानी र इस्लामिक अतिवादीहरूलाई ड्रोन आक्रमणमार्फत सफाया गरिएको घटनालाई ड्रोनको उपयोगिता स्थापित गर्नका लागि उदाहरणका रूपमा प्रस्तुत गरिन्छ ।
तर ड्रोनको उपयोगिताको दाबीको आलोचना पनि हुने गरेको छ । ड्रोन आक्रमणका कारण सर्वसाधारणहरूको मृत्यु कम हुने गरेको भनी ड्रोन पक्षधरहरूले बताए पनि त्यो पूर्ण सत्य नभएका प्रमाणहरू पाइन्छन् ।
जस्तो, पोहोर साल अफगानिस्तानबाट बहिर्गमन गर्ने क्रममा काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सैनिकहरूलाई तारो बनाएर आतंकवादीहरूले आत्मघाती आक्रमण गरेका थिए । त्यसको बदला लिनका लागि अमेरिकाले काबुलमा ड्रोन आक्रमण गरेर एउटा कारलाई ध्वस्त पारेको थियो । उक्त कारमा आतंकवादीहरूले खतरनाक हतियार बोकेको दाबी गरिएको थियो ।
तर सत्यतथ्य छानबिन गर्दा उक्त कारमा निर्दोष सर्वसाधारणको परिवार चढेको पाइयो । ड्रोन आक्रमणका कारण बालबालिका समेत मारिएको भेटिएपछि अमेरिकी सेनाले भूल स्वीकार गरेको थियो तर माफी मागेको थिएन ।
त्यतिखेर सैन्य विश्लेषकहरूले अमेरिकी सेना प्रविधिमार्फत संकलित सूचना (सिगिन्ट) मा भर परेकाले यो भूल हुन गएको बताएका थिए । गुप्तचरीमा सिगिन्टमा मात्र भर नपरी गुप्तचरले संकलन गरेको सूचना (ह्युमिन्ट) मार्फत पुष्टि गरेपछि मात्र शत्रुमाथि आक्रमण गर्नुपर्ने हुन्छ ।
काबुलबाट निस्कन हतार गरेको अमेरिकाले गुप्तचरहरूको उपयोग नगरी सिगिन्ट अर्थात् टेलिफोन कुराकानी र कारको भूउपग्रहीय तस्वीरमा मात्र आधारित रही कारवाही चलाउँदा निर्दोष सर्वसाधारणले ज्यान गुमाउन परेको थियो ।
ड्रोन आक्रमणले ह्युमिन्टभन्दा सिगिन्टमा जोड दिने हुँदा सेनालाई बलप्रयोग गर्नबाट रोक्ने नैतिक बन्धनबाट पनि मुक्त गर्छ । युद्धभूमिमा सैनिकले विवेक प्रयोग गरेर कपिपय अवस्थामा आक्रमण रोक्ने सम्भावना पनि रहन्छ तर ड्रोनको सन्दर्भमा त्यस्तो विवेक उपयोग गर्ने अवसर नरहने हुँदा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने जोखिम बढ्छ ।
ड्रोनको अविवेकी प्रयोगको उदाहरणस्वरूप अस्ट्रेलियाको एबीसी न्युजले सन् २०१७ मा तयार पारेको खोज समाचारलाई लिन सकिन्छ । समाचारमा उल्लेख भएअनुसार, अफगानिस्तान, पाकिस्तान, यमन, गाजा लगायतका ठाउँमा मानिसहरू कुन बेला ड्रोन आक्रमणमा परिने हो भनी सधैं त्रासमा बाँच्नुपरिरहेको छ ।
यस्ता ड्रोन आक्रमणले स्थानीयहरूलाई थप अतिवादी बनाउने र हिंसाको शृंखला चलाउने पनि उक्त सामग्रीमा लेखिएको छ । लक्ष्यभन्दा निकै टाढा ग्राउन्ड कन्ट्रोल स्टेसनमा बसेर ड्रोन सञ्चालकहरूले भूउपग्रहीय तस्वीर तथा सूचना, डेटा सेन्टर र अप्टिकल फाइबर केबलमा भर पर्दै चलाएको कारवाहीका कारण त्रुटि हुने सम्भावनालाई नकार्न सकिन्न ।
तर आधुनिक युद्धकला नैतिकता तथा सर्वसाधारणको संरक्षणका विषयमा असंवेदनशील हुन थालेको छ । राज्यहरू अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादी धार अपनाउँदै राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्दै युद्धको वैधता वा अवैधताको बहसलाई त्याग्न थालेका छन् । त्यसैले आधुनिक युद्धमा ड्रोनको उपयोगलाई थप प्रोत्साहन प्राप्त भइरहेको छ ।
भारीभरकम र महंगा हतियारका तुलनामा ड्रोन सञ्चालन गर्न सहज हुनाले विश्वभरिका सेनाको रोजाइमा ड्रोन पर्न थालेको छ । अहिले ड्रोन बनाउनका लागि उपयोग गरिने सामग्रीहरूको माग ह्वात्तै बढेको रिपोर्टलिंकर डट्कम नामक वेबसाइटले लेखेको छ ।
फाइबर इन्फोर्स्ड पोलीमर, मेटल कम्पोजिट, सेरामिक म्याट्रिक्स कम्पोजिट लगायतका सामग्री उपयोग गरी आधुनिक ड्रोनहरूमा तातो सहने क्षमता, कम तौल, सानो आवाज र थर्थराहट सहने क्षमता दिलाइएको उक्त सामग्रीमा उल्लेख गरिएको छ ।
ड्रोनसम्बन्धी अर्को एक सामग्रीमा उल्लेख गरिएअनुसार, सन् २०२८ सम्ममा ड्रोन कारोबार लगभग १७ अर्ब डलर बराबरको हुनेछ । यसले संसारका सबै मुलुकको रक्षा खर्च बढ्न थालेको संकेत पनि दिन्छ अनि ड्रोनप्रति मुलुकहरूको रुचिमा वृद्धि भइरहेको पनि देखाउँछ ।
ड्रोन निर्माणमा अमेरिका अग्रपंक्तिमा छ । उसका हतियार कम्पनीहरू लकहीड मार्टिन र बोइङले ड्रोन बजारको ठूलो हिस्सा ओगटेका छन् । तर इजरायल, टर्की, इरान र चीनका ड्रोनहरूले पनि बजार पाउन थालेको देखिन्छ । रुसले पनि ओखोतनिक नामक गोप्य ड्रोनहरू बनाउन थालेको बताइन्छ ।
रुस र युक्रेनबीच चलिरहेको युद्धमा खतरनाक ड्रोनहरू उपयोग भइरहेको माथि पनि उल्लेख भइसकेको छ । रुसले जाला कीब लोइटरिङ म्युनिसन ड्रोनहरूको उपयोग गरेको विभिन्न सञ्चारमाध्यमले खबर दिएका छन् । त्यस्तै युक्रेनले अमेरिकाबाट उपलब्ध स्विचब्लेड वा कामिकाजे ड्रोनहरू उपयोग गरिरहेको बताइन्छ ।
यी दुवैथरी ड्रोनहरू सानो आकारका, सुस्त गतिमा उड्ने र निकै तल उडेर शत्रुको लक्ष्यमा प्रहार गर्ने किसिमका हुन्छन् । लक्ष्य नजिक निष्क्रिय रहेर पर्खिरहने अनि लक्ष्य निर्धारण भएपछि आक्रमण गर्ने यिनीहरूको विशेषता हो ।
यी ड्रोनहरूमा दुईतर्फी रेडियो लिंक हुन्छ र ड्रोनमा भएको इलेक्ट्रो–अप्टिकल क्यामराले युद्धभूमिको प्रत्यक्ष तस्वीर उपलब्ध गराउँछ । ड्रोन सञ्चालकले लक्ष्य फेला पारेर पहिचान स्थापित गरेपछि सानो विस्फोटक पदार्थ फाल्छ ।
भविष्यका युद्धहरूमा बहुसंख्यक ड्रोनहरू एकैपटक उपयोग गरिने प्रविधि (स्वार्म) बाक्लै देखिने सम्भावना रहेको बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कस लेख्छन् । अमेरिका र रुसले यस्ता स्वार्म ड्रोनहरूका साथ अभ्यास शुरू गरिसकेका छन् ।
सेन्टर फर न्यु अमेरिकन सिक्योरिटीका निर्देशक पल शारका अनुसार, ड्रोन स्वार्महरू एकैपटक धेरै दिशाबाट शत्रु सेनामाथि प्रहार गरिनेछन् र यसले युद्धकलामा आमूल परिवर्तन ल्याउनेछ ।
अनि गोप्य रूपमा उड्ने स्टेल्थ ड्रोनहरूले पनि युद्धकलालाई अत्याधुनिक बनाउने देखिन्छ । चीनको शार्प सोर्ड जीजे–११ लिच्यान, रुसको सु–७० ओखोतनिक, अमेरिकाको आरक्यू–१७०, इजरायलको हेरोन त्यस्ता किसिमका गोप्य रूपमा उड्ने ड्रोनहरू हुन् ।
युद्धकलामा नयाँ विकास भएसँगै ड्रोनहरूको उपयोग बढ्ने पक्का छ । रुस र युक्रेनबीच चलिरहेको युद्ध डोनबासमा केन्द्रित हुँदै जाँदा ड्रोनहरूको उपयोग अहिलेभन्दा बढी देखिनेछ ।