१० साउन २०८३, आइतबार

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान

जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान

बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यकता र मागअनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताएकी छन् । 

राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रियात्मक कार्यक्रममा उनले सामाजिक विकास मन्त्रालय सबै वर्ग र क्षेत्रको समस्या समाधान गर्न गम्भीर रहेको बताउँदै चालु आवको बजेट तथा कार्यक्रम छिटो र प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिइन् ।

उनले विगतका प्रभावकारी कार्यक्रम र नयाँ बजेटका लागि सुझाव पनि माग गरिन् । अपाङ्गता भएकाको क्षमता अभिवृद्धिमूलक कार्यक्रम मात्र नभई दक्ष जनशक्ति उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री मोक्तानले अपाङ्गता भएकाले छिटो र सहजरूपमा सूचना लिन पाउने व्यवस्था गर्न आफूले पहल गर्ने बताइन् ।

पछाडि पारिएका समुदायको हकअधिकार वृद्धि गर्न ऐन, कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिएको उनले जिकिर गरिन् । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मुनु सिग्देल, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत उषा गौतम, हेटौँडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख जगन्नाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्