
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बन रोक्न सर्वाेच्च अदालतले दिएको आदेशले अधिकारीको पुनर्बहाली भएसँगै नेप्सेले रातो कार्ड देखाएको छ ।
पछिल्लो हप्ता लगातार घटिरहेको नेप्से मंगलवार दोहोरो अंकमा बढेको भए पनि बुधवार फेरि ३६.७३ अंकले घटेको छ ।
बुधवार नेप्से १.५६ प्रतिशतले घटेर २३२०.५१ विन्दुमा कारोबार भएको छ ।
बजार घटेको भए पनि बुधवार जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि ३.०८ प्रतिशतले कमाएका छन् ।
बुधवार गुमाउनेमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधवार हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८१ प्रतिशतदेखि ६.२९ प्रतिशतसम्म गुमाएका छन् ।
बुधवार सबैभन्दा बढी नेस्डो लघुवित्त वित्तीय संस्थाको १४ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । बुधवार संस्थाको शेयर ४६७५ पटक कारोबार भएको छ ।
बुधवार २२८ कम्पनीको ३५ लाख कित्ता शेयरको ३२ लाख पटक कारोबार भएको छ । यसबाट कूल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।