
स्थानीय निकायको चुनावका लागि उम्मेदवारी दर्तासँगै शेयर बजार पनि तातेको छ ।
आज नेप्से परिसूचक नेप्से एकै दिन ९५.४६ अंकले बढेको छ । शेयर बजार आज ४.११ प्रतिशतले बढ्दा नेप्से परिसूचक २४२०.९१ विन्दूमा पुगेको छ ।
आज एकै दिन १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २६ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज नेसनल हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर कम्पनी, मन्जुश्री फाइनान्स, खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, युनिलिभर पावर कम्पनी र हिमाल दोलखा हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज ९ प्रतिशतदेखि ९९.९९ प्रतिशतसम्मले शेयर मूल्य बढेको कम्पनीहरूमा जाल्पा सामुदायिक लघुवित्त, ग्रिन भेन्चर, पोखरा फाइनान्स, आँखुखोला जलविद्युतसहितका २६ कम्पनी छन् । आज शेयर बजारमा कारोबार भएका सबैजसो कम्पनीको शेयर मूल्य बढेको छ ।
बजार बढेको दिन पनि शेयर मूल्य सबैभन्दा बढी घट्नेमा भने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र छ । यसको शेयर मूल्य ९.८९ प्रतिशतले घटेको छ । आज नेस्डो लघुवित्त वित्तीय संस्थाको २.८५ प्रतिशतले, लक्ष्मी बैंक ऋणपत्र २ प्रतिशतले र सिद्धार्थ इक्विटी फण्डको ०.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा बढी कारोबार हुनेमा भने सानिमा बैंक प्रमोटर शेयरको छ । यसको एकै दिन १० लाख कित्ता शेयरको किनबेचबाट २२ करोड रूपैयाँको शेयर कारोबार भएको छ ।
आज शेयर बजारमा सूचीकृत २३८ कम्पनीको ६६ लाख कित्ता शेयरको ४३ हजार पटक कारोबार भएको छ । यसबाट दुई अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको हो ।