
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ ।
मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चारदिने मलेसिया भ्रमणमा जान लागेका हुन् ।
मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्वीपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भयो । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए ।
मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् । सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन् ।
भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको छ ।