०३ असार २०८३, बुधबार
स्थानीय चुनाव

गुल्मी सदरमुकामको पेचिलो निर्वाचन– खिलध्वज या राजेन्द्र कसलाई लाग्ला १०२ वर्षे वृद्धको आशीर्वाद ?

‘बसाइँ सरेकालाई तम्घास फर्काउँछु– पन्थी, विकास कस्तो हुन्छ देखाउँछु–पाण्डे’
गुल्मी सदरमुकामको पेचिलो निर्वाचन– खिलध्वज या राजेन्द्र कसलाई लाग्ला १०२ वर्षे वृद्धको आशीर्वाद ?

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएलगत्तै नेपाली कांग्रेस र एमालेका उम्मेदवार दुवै आशीर्वाद माग्दै नगरपालिकाका जेष्ठ नागरिक परशुराम उपाध्यायकोमा पुगे ।

१०२ वर्षीय पण्डित पन्थीले नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार खिलध्वज पन्थी र एमालेका राजेन्द्रप्रसाद पाण्डे दुवैलाई विजयको आशीर्वाद दिए । 

शताब्दी पुरुषको आशीर्वाद लिएर उम्मेदवारहरू भोट माग्न चुनावी मैदानमा छन् । ‘दुवै जना उम्मेदवार भोट माग्न आउनुभएको थियो, बुवाले दुवैलाई आशीर्वाद छ भन्नुभयो,’ बुहारी मीठू पन्थीले भनिन् । उनीहरूको भाग्यको फैसला भने गुल्मीका मतदाताले नै गर्नेछन् । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीको निर्वाचन क्षेत्र अन्तरगत गुल्मी १ मा पर्ने रेसुङ्गा नगरपालिकाको चुनाव पेचिलो छ । कांग्रेसले आफ्नो पकेट एरिया ठान्ने रेसुङ्गामा गत निर्वाचनमा पराजयको झट्का व्यहोरेको थियो ।

नेपाली कांग्रेसको गढ मानिँदै आएको रेसुङ्गामा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी भएका थिए । तीव्र प्रतिष्पर्धामा भुसालले ६ हजार ३ सय १८ भोट पाउँदा कांग्रेसका भुवन श्रेष्ठले ६ हजार २ सय ४ मत पाएका थिए । 

उपमेयरमा माओवादीकी अमृता कुँवर एमालेकी सीता भण्डारीसँग मात्र ७ भोटले पराजित भएकी थिइन् ।

सत्तारुढ गठबन्धनबाट कुँवर यसपटक पनि उपमेयर पदको प्रत्यासी छिन् । चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूले प्रचार प्रसारलाई तीव्र बनाएका छन् । 

तम्घास ।

बसाइँ सरेर तम्घास छाडेकालाई पनि फर्किने ठाउँ बनाउँछु– खिलध्वज 

नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार खिलध्वज पन्थी संघीयता लागू भएपछि ओझेलमा परेको तम्घासलाई पुनः चम्काउने आफ्नो योजना रहेको बताउँछन् । तम्घासलाई सुविधासम्पन्न बनाएर बसाइँ सरेर तराई वा काठमाडौं गएकालाई पनि आफ्नो ठाउँमा फर्किन मन लाग्ने ठाउँ बनाउने आफ्नो एजेण्डा रहेको उनले बताए । 

‘अपार सम्भावना भएर पनि तम्घास अहिले ओझेलमा पर्दै गएको आममानिसको गुनासो छ । बुटवलदेखि दाङ र काठमाडौंका मानिसलाई पनि रेसुङ्गा क्षेत्रलाई रिफ्रेसमेन्टको गन्तव्य बनाउने मेरो सपना छ,’ पन्थीले लोकान्तरसँग भने । 

खिलध्वज पन्थी ।

तम्घासलाई चलायमान बनाइराख्न सालझण्डी–ढोरपाटन सडक निर्माणका लागि पहल गर्ने उनले बताए । ‘सालझण्डी–ढोरपाटन सडक सम्पन्न भयो भने भैरहवा अन्तराष्ट्रिय विमानस्थलबाट तम्घासको दूरी साढे २ घण्टामा झर्छ, काठमाडौंको मान्छे पनि बिदा मनाउन तम्घास आउने अवस्था बन्छ,’ पन्थी भन्छन् । 

कुनै बेला विद्यार्थीको थामी नसक्नु भीड लाग्ने रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थी आकर्षित गरेर शैक्षिक हब बनाउने आफ्नो योजना रहेको उनले सुनाए । 

आफ्नो सीप प्रयोग गरेर नगरपालिकाको मुहार फेर्छुः राजेन्द्र पाण्डे 

पेशाले इञ्जिनियर राजेन्द्रप्रसाद पाण्डे ३२ वर्ष लामो सरकारी जागिरबाट राजीनामा गरेर नेकपा एमालेबाट रेसुङ्गाको मेयरको प्रतिस्पर्धामा छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको सिनियर डिभिजनल इन्जिनियरबाट अवकाश लिएका पाण्डे शहरी विकासका विज्ञ हुन् । 

आफूले मेयर जितेमा विकास के हो भन्ने कुरा रेसुङ्गामा उदाहरण पेश गर्ने उनी बताउँछन् ।

‘३२ वर्ष सरकारी सेवा गरेर अहिले अर्को भूमिकामा आएको छु । वास्तविक विकास के हो भन्ने कुरा मैले देखाउने छु । जनतालाई रोजगारी सिर्जना गर्न र विकास गर्न के गर्नुपर्छ भनेर मसँग प्रस्ट खाका छ,’ पाण्डेले भने । 

सरकारी जागिरको शिलशिलामा बाहिर बस्नु परेपनि तम्घासको समस्या र समाधानबारे आफू सधैँ चिन्तित रहेको पाण्डे बताउँछन् । 

राजेन्द्र पाण्डे ।

‘यही माटोमा खेल्दै हुर्केको, यहीँ पढेर देशको सेवा गरेकाले रेसुङ्गाका मतदाताले मलाई विश्वास गर्नुहुनेछ,’ पाण्डेले भने । 

आफू जन्मेको ठाउँलाई विकसित र समृद्ध बनाउनेबाहेक आफ्नो कुनै स्वार्थ नरहेको पाण्डेले बताए । 

‘यति धेरै सम्भावना भएर पनि रेसुङ्गाले सुनको कचौरा समातेर भीख मागिरहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई घुम्नलायक नमूना शहर बनाउने सपना छ,’ पाण्डेले लोकान्तरसँग भने । 

पहाडका जिल्लामा चुनौती बन्दै गरेको बसाइँसराइ रोक्नका लागि पूर्वाधार विकास र जनताका आवश्यकता पूर्तिमा जोड दिने उनी बताउँछन् ।  

के भन्छन् मतदाता ? 

देशका अन्य क्षेत्रमा जस्तै स्थानीय जनताहरू विगतमा गरिएका वाचा पूरा नभएकोमा असन्तुष्ट छन् । रेनपा – ९ का भीमबहादुर बस्नेतले चुनावका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे । 

‘गएको चुनावमा रेसुङ्गा जाने केबुलकार बनाउनेदेखि ठूला कुरा गरिएका थिए, ती चर्का चुनावी नारा केही कार्यान्वयन भएनन्,’ अटो रिक्सा चालक रहेका बस्नेतले भने । संघीयता कार्यान्वयनसँगै अधिकांश काम स्थानीय सरकारबाट हुन थालेपछि सदरमुकाममा चहलपहल घटेको छ । चहलपहल घटेपछि आर्थिक क्रियाकलाप स्वतः कम भएका छन् । रोजगारी गुमेको र भइरहेको व्यापार व्यावसाय राम्रोसँग चल्न नसकेकोप्रति स्थानीयहरू चिन्तित छन् । 

भीमबहादुर बस्नेत ।

रेनपा पराल्मी रातामाटाका बलबहादुर रञ्जाली यसअघि चुनावमा नेताहरूले आश्वासन दिएपनि काम नगरेको आरोप लगाउँछन् ।

‘चुनावका बेला विकासको मूल फुटाउँछौं भनेका थिए, नगरपालिकाकै सडक धुलाम्मे छन्, खास काम केही भएन,’ उनले भने । 

कुनै बेला चम्किएको तम्घास बजारको चमक हराएको छ । उम्मेदवारहरूले आन्तरिक पर्यटक ल्याउने लगायत एजेण्डा अगाडि सारेका छन् । तर मतदाताहरू सहजै पत्याउने अवस्थामा छैनन् ।

‘नेताहरूको काम नै ढाँट्ने हो । पहिले पनि जनतालाई झुक्याए, अहिले पनि हामीलाई मुर्गा बनाउँदैछन्,’ स्थानीय रामबहादुर थापाले भने, ‘हेर्नुस् त, विगतमा तम्घासको चहलपहल कस्तो थियो, अहिले व्यापार व्यावसाय सबै सुक्यो । तम्घास किन पछि पर्‍यो भन्ने कसैलाई चासो छैन ।’ 

कृष्ण परियार ।

रेसुङ्गा नगरपालिका–४ का कृष्ण परियार नेताहरूका आश्वासन पत्याउन छाडेको बताउँछन् । ‘भन्न त नेताहरूले जे पनि भन्छन्, तम्घासमा विकास र रोजगारी चाहिएको छ,’ परियारले भने । 

ओझेल पर्दै गरेको तम्घासलाई चलायमान बनाउने कुरा नै यतिबेलाको बिकाउ एजेन्डा बनेको छ । पेशाले भेटेरिनरी डाक्टर रहेका स्थानीय झविन्द्र मरासिनी सैद्धान्तिक कुरा जे गरेपनि स्वतन्त्र मतदातालाई जसले आकर्षण गर्न सक्यो उसले जीत हात पार्ने बताउँछन् । 

झविन्द्र मरासिनी ।

‘दलहरूका सैद्धान्तिक कुरा आफ्नो ठाउँमा भयो, राजनीतिक दलका प्रतिबद्ध मतदाताहरू छन्, तर दलको सिद्धान्त बुझेर भोट हाल्ने मतदाता खासै छैनन्,’ मरासिनीले लोकान्तरसँग भने, ‘न्युट्रल भोट जसले तान्न सक्छ, उही विजयी हुने देखिन्छ ।’

चुनाव जित्ने दलहरूको दाबी 

नेकपा एमालेका जिल्ला अध्यक्ष बालसिंह काउछा यसपटक पनि रेसुङ्गामा आफूहरूले सहज जीत हात पार्ने दाबी गर्छन् । गत निर्वाचनमा मेयर र उपमेयर मात्र आफ्नो पार्टीले जितेको र नगर कार्यपालिकामा कांग्रेसको बहुमतका कारण सोचेजति विकास गर्न नसकेको उनको भनाइ छ । 

बालसिंह काउछा ।

‘रेसुङ्गाको विकासका लागि पाँच वर्षमा धेरै काम भएका छन्, बाँकी रहेको कामका लागि हामीले योग्य र सक्षम उम्मेदवार अगाडि सारेका छौं,’ काउछाले भने, ‘विगतभन्दा पार्टीको पोजिसन राम्रो भएकाले सहज जीत हासिल गर्छौं ।’ सत्तारुढ दलहरूबीच चुनावी गठबन्धन बनेपनि एमालेको जीतलाई रोक्ने ताकत उनीहरूसँग नभएको उनले दाबी गरे । पार्टी विभाजनको असर जिल्लामा नरहेकाले विगतको भोट नघट्ने बरू बढ्ने उनको दाबी छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति पन्थी विगतमा प्राविधिक कारणले आफ्ना उम्मेदवार पराजित भएको भए पनि त्यसबाट पाठ सिकेर अहिले आफूहरूले नतिजा उल्टाउने दाबी गर्छन् । ‘विगतको तुलनामा हाम्रो अवस्था धेरै नै मजबुत भएको छ । यहाँको विकासका लागि कांग्रेस नै चाहिँदोरहेछ भनेर मतदाताले रियलाइज गर्नुभएको छ,’ पन्थीले भने । नेकपा एमाले विभाजन भएकाले उसको भोट घट्ने र आफूहरूको बढ्ने कांग्रेसको आकलन छ ।

मेयरका प्रत्यासी पन्थी र पाण्डे दुवैले चुनाव महंगो भएको स्वीकारे पनि आफूहरूले धेरै खर्च नगर्ने दाबी गरे ।

रेसुङ्गाको मुहार फेर्ने जिम्मा कसले पाउलान्, १०२ वर्षे वृद्धको आशीर्वाद कसलाई लाग्छ भन्ने थाहा पाउन भने वैशाख ३० सम्म कुर्नुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्