![कार्यकर्ता पाल्नु छैन, भ्रष्टाचारमा गएको पैसा किसानको खेतमा हाल्छु– गोपाल हमाल [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Gopal_Hamal_Fejn3JdC9r.jpg)
सुदूरपश्चिमको एकमात्रै धनगढी उपमहानगरमा चुनावी माहोल तातेको छ । राजनीतिक दल तथा तिनका उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । यसैबीच स्वतन्त्र उम्मेदवारी दिई दलीय उम्मेदवारलाई उछिन्ने हरसम्भव प्रयत्नमा छन्, गोपाल (गोपी) हमाल । २०७४ को निर्वाचनमा निर्वाचित मेयरका निकटतम प्रतिद्वन्द्वी रहेका उनले यही वैशाख ३० गते हुने निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरका लागि बलिया उम्मेदवारको रूपमा आफूलाई उभ्याएका छन् । धनगढीका व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियन्ता समेत रहेका उनै हमालसँग उनको चुनावी एजेन्डाबारे लोकान्तरकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंशः
दोस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ, यसपालि तपाईंलाई धनगढीवासीले किन भोट दिने ?
मेरो यो उम्मेदवारी दोस्रो मात्रै होइन, अन्तिमपटक हो । धनगढीको कण–कणसँग भिजेको छु । परिचित छु । मैले यहाँ ठूलो समस्याको रूपमा देखेको प्रणालीको विकास नहुनु हो । भ्रष्टाचार व्याप्त छ । सिधा कुरा हो, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न र प्रणालीको विकास गर्नलाई मेरो उम्मेदवारी हो । सिस्टमको विकास किन भइरहेको छैन भन्दाखेरि समान्य कुराको सिफारिशदेखि लिएर कर्मचारी भर्नासम्म पार्टीगत स्वार्थ, गुटगत स्वार्थको रूपमा गर्ने भएकाले हाम्रो एचिभमेन्ट भइरहेको छैन ।
तपाईं खोज्न सक्नुहुन्छ, यो ५ वर्षको बीचमा उपमहानगरपालिकाले डीपीआर भनेर कति खर्च गरेको छ ? पत्ता लगाउन सक्नुहुन्छ, झण्डै १५ देखि २० करोड छ । कति पैसाको डीपीआर बनायो ? त्यो डीपीआर कस्तो थियो ? डीपीआरबाट कस्तो काम भयो ? भनेर माग्नुस्, तपाईलाई सूचना नै दिँदैनन्, किनभने त्यसमा १० करोडको घोटाला भएको छ ।
अब मैले त सार्वजनिक रूपमा प्रतिबद्धता जनाइसकेको छु, म भष्टाचार गर्दिनँ । गर्न पनि दिन्नँ । अब त्यो पैसाबाट किसानलाई निःशुल्क बिउ दिने हो । निःशुल्क यन्त्र उपकरण र सिँचाइ दिने हो । एउटा गाउँमा एकपटक निःशुल्क दिएपछि अर्कोपटक दिनुपर्दैन नि । भ्रष्टाचारको पैसा जोगाएर कृषिमा लगानी गरेँ भने कायापलट हुन्छ । यहाँ कुनै पनि काम गुरुयोजनाअनुसार भइरहेको छैन ।
सबै पहुँचको भरमा भइरहेको छ । हामी आउनेबित्तिकै गुरुयोजनाअनुसार काम हुन्छ ।
चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा तथा घोषणापत्र सार्वजनिक गरी मैदानमा छन् । तपाईंको पनि आयो । करीब–करीब सबैका विकासे एजेन्डा समान देखिन्छन् । तपाईं आफूलाई अरूभन्दा कसरी फरक पाउनुहुन्छ ?
वास्तवमा राजनीति पेशा होइन, सेवा हो भन्ने कुराको शुरूआत हुन्छ । म मेयर भइसकेपछि सरकारी कामको शिलशिलामा देशका विभिन्न भागमा सयौंपटक भ्रमण गर्नुपर्ने हुन्छ । त्यो क्रममा चाहिने खर्च म आफ्नो व्यक्तिगत खर्च गर्नेछु । एक रुपैयाँ पनि धनगढी उपमहानगरको लिन्नँ । पहिलो फरक त्यही हो ।

दोस्रो कुरा प्राथमिकताको आधारमा विकास हुन्छ । अघि पनि भनिसकें, अहिले के हुँदैआएको छ भने कार्यकर्ता पाल्नुपर्ने छ । कार्यकर्ता कहाँ–कहाँ छन्, तिनीहरूलाई खोज्नुपर्यो । तिनीहरूको ठाउँमा मात्रै विकास हुन्छ । तर हाम्रो हकमा त्यस्तो हुँदैन । मलाई कार्यकर्ता पाल्नु छैन । हामीचाहिँ कुन ठाउँको प्राथमिकता कसरी निर्धारण गर्ने ? शिक्षामा के हुन्छ ? त्यो अनुसार विकासको कार्य अगाडि बढाउँछौ ।
पुनः भन्छु, भ्रष्टाचारको अन्त्य गर्छु । धनगढी उपमहानगरपालिकामा कुनै पनि योजनामा हामी भ्रष्टाचार हुन दिँदैनौ । र सुशासन कायम गर्छौं । जसले अहिले जनताले दुःख भोग्नुपरिरहेको छ । ढिलासुस्ती छ । पैसा खाने प्रवृत्ति छ । त्यो सबै अन्त्य गर्छौं हामी ।
कर्मचारी हामी शासक होइन, सेवक हुन् । हामी जनप्रतिनिधि पनि शासक होइनौं, सेवक हौं । आम धनगढी नगरवासीलाई चाहिँ वास्तवमा हामी नगरको असली हकदार हामी हौं, हामी सेवाग्राही हौं, हाम्रो नगरपालिकामा हामी सेवा गर्छौं भन्ने अनुभूति गराउँछौ ।
धनगढी उपमहानगरपालिकाको अधिकांश भूभाग ग्रामीण बस्तीले भरिएको छ । ग्रामीण भेगका मतदाताकोमा कसरी पुगिरहनुभएको छ ?
२०७४ को निर्वाचनलाई लक्षित गरी सवाल गर्नुभयो होला । ग्रामीण भेगका जनता कम चलायमान छन् भन्ने तपाईंको जिज्ञासा लाग्यो । वास्तवमा गत निर्वाचनमा म अप्रत्यासित रूपमा चुनावमा उठेको थिएँ । मैलै धेरै मान्छेलाई चिनेको पनि थिइनँ । तर अहिले अवस्था फरक छ । हामी सबै मतदाताको घरदैलोमा पुगेका छौं । गाउँका जनतालाई प्रताडित गरिएको छ ।
गाउँका जनताले त भन्दैनन् नि सिंहदरबार चाहिएको भनेर । त्यहाँका जनताले त भन्छन्, टाइममा मल चाहियो । टाइममा बीउ चाहियो । कृषिमा सिँचाइ चाहियो । त्यसकारण हामीले ग्रामीण जनताका समस्या समाधानको विषय उठान गरेका छौं । किसानका मुद्दा प्राथमिकतामा राखेका छौं । जुन कारण गाउँ र शहरका प्राथमिकता फरक छन् । यो अनुसार हामी गाउँ–गाउँमा पुग्दैछौ ।
अन्त्यमा, तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग ?
गएको निर्वाचन हेर्नुहुन्छ भने स्वाभाविक रूपमा गठबन्धनसँग प्रतिस्पर्धा हुन्छ । तर मतदाताहरू कुन मुडमा हुनुहुन्छ, म अनुमान गर्न सक्दिनँ । पोखरीभित्र कति माछा छन् ? म अनुमान लगाउन सक्दिनँ । मलाई जनताले कुन स्थानमा राख्नुहुन्छ, उहाँहरूको कुरा हो । जनताले जे निर्णय गर्छ, मैले शिरोधार्य गर्नुपर्ने हुन्छ । म एउटा स्वयंसेवकको रूपमा पाँच वर्षमा यो ठाउँको विकास गर्छु भनेर उम्मेदवारी दिएको छु ।
म पूर्णकालीन राजनीति गर्छु भनेर आएको मान्छे पनि होइन । त्यसकारण जनताले जे निर्णय गर्छन्, म स्वीकार गरेर जान्छु । अन्तिमपटक अनुरोध छ, एकपटक मलाई परीक्षा दिने मौका दिनोस् । मेरो एउटै लक्ष्य धनगढी बनाउने हो । धनगढीको मुहार हेरेर मात्रै भोट दिन आह्वान गर्दछु । धनगढीवासीलाई गर्व गर्नलायक धनगढी बनाएर देखाउँछु ।