१८ असार २०८३, बिहीबार

उत्कृष्ट सहकारी हाँकेर जनतामा परिचित रामसमझ वडाध्यक्षको उम्मेदवार

बैशाख १८, २०७९
उत्कृष्ट सहकारी हाँकेर जनतामा परिचित रामसमझ वडाध्यक्षको उम्मेदवार

कैलालीको कैलारी गाउँपालिकामा किसानले हरेक सिजनमा सम्झिने पात्रमध्ये एक हुन्, ३५ वर्षीय रामसमझ चौधरी ।

लामो समयदेखि उनले हाँक्दै आएको परिश्रम कृषि सहकारी संस्था कैलाली जिल्लामै सबैभन्दा बढी रासायनिक मल वितरण गर्ने मध्येको एक सहकारी हो । 

कैलारी गाउँपालिका वडा नं. ९ घर भएका उनी सो सहकारीका व्यवस्थापक हुन् । आमनारिक माझ निकै परिचित उनी अब वडाको नेतृत्व गर्ने दौडमा छन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका  लागि उनी कैलारी गाउँपालिका वडा नं. ९ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । 

लामो समय सेवामूलक व्यवसायमा रमाइरहेका रामसमझ भन्छन्, ‘सहकारीको दायरा सीमित हुन्छ । जुनकारण वडावासीको सर्वाङ्गिण विकास तथा सेवा गर्ने हेतु नयाँ सोच, योजनाका साथ वडाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

सहकारी र शिक्षा क्षेत्रमा लगाव

उनको व्यवस्थापकीय क्षमताकै कारण सो सहकारीलाई २०७३ सालमा जिल्ला कृषि विकास कार्यालय कैलालीले जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा १ लाख १३ हजार नगदसहित पुरस्कृत गरेको थियो ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीले पनि नगदसहित सो सहकारीलाई पुरस्कृत गरेको थियो । हाल सो सहकारीले रासायनिक मलको वितरण मात्रै होइन, २०७२ यता निरन्तर २४ विघामा आलु खेती गर्दै आएको छ ।

स्नातकोत्तर अध्ययनरत उनले शिक्षा क्षेत्रमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । गाउँपालिकामा नमूना विद्यालय बन्न सफल जनता माध्यमिक विद्यालय गदरियाका उनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

सहकारी हुँदै राजनीतिमा प्रवेश गरेका उनी वडाध्यक्षका लागि स्वतन्त्र उम्मेवारी दिएका हुन् । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष समेत रहेका उनलाई सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलका कारण माओवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सो वडामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । त्यसकारण माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको रामसमझ चौधरी सुनाउँछन् । निर्वाचन अधिकृतको कार्यालयले उनलाई कैँची चुनाव चिह्न प्रदान गरेको छ ।

चुनाव चिह्न फरक रहे पनि हाल नेकपा माओवादीको पूर्ण समर्थन रहेकाले आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ ।

आफ्नो चुनावी एजेण्डा सुनाउँदै उनले भने, ‘हाम्रो वडामा कृषि क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो । रासायनिक मल, बिउ बिजन अनुदानको लागि सहज पहल, सहुलियत सिँचाइको व्यवस्थाको लागि पनि मेरो उम्मेदवारी हो । हामीले सिँचाइका लागि वडास्थित शितलपुरदेखि जमुनीपुरसम्म पक्की नहर व्यवस्थापन गर्ने योजना बनाएका छौं । यहाँको जोगिनिया तालको पानी सिँचाइका लागि देवीगञ्जदेखि सामरचौरा हुँदै सिमरानासम्म पक्की नहर निर्माण गर्ने योजना हो । वडास्थित १० वटै गाउँमा शुद्ध खानेपानीका लागि वडास्थित गदरिया खानेपानीलाई सञ्चालनमा ल्याउने र अन्य गाउँमा शुद्ध खानेपानी धाराको व्यवस्थापन गर्ने हाम्रो योजना छ ।’

सो वडामा कैलालीको दोस्रो ठूलो कोइलही ताल पनि अवस्थित छ । सो ताल जिल्लाको मुख्य पर्यटन क्षेत्र पनि हो । तालमा पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापनका साथै त्यहाँस्थित सामरचौरा होम स्टे सञ्चालनमा ल्याउने रामसमझको योजना छ । 

२४ बुँदे घोषणापत्र निर्माण गरेको सुनाउँदै उनले आफू वडामा चिरपरिचित र वडाबासीलाई विभिन्न माध्यममार्फत लामो समयदेखि सेवा गर्दै आएकाले जित्ने आधार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्