
सरकारले काठमाडौंका चार रुटमा 'ब्लू बस' सञ्चालनको तयारी गरेको छ । साझा यातायातसँगको समझदारीमा उपलब्ध बसहरूलाई ''ब्लू बस''का रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो ।
'ब्लू बस' साझा यातायातले नै सञ्चालन गर्ने गरी सरकारसँग सैद्धान्तिक सहमति भएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले लोकान्तरलाई जानकारी दिए । 'ब्लू बस' सञ्चालनको सम्झौताका लागि अर्थ मन्त्रालयको प्रतीक्षामा रहेको उनको भनाइ छ ।
अब साझा यातायातका हरिया बसहरूलाई ब्लू अर्थात् निलो रंगमा रंग्याएर तयार गरिनेछ । 'सरकारको लगानी भएको संस्थाबाट 'ब्लू बस' शुरू गर्ने कुरा आएपछि साझा यातायातसँग सरकारको सैद्धान्तिक सहमति भएको हो । किन भने निजी अथवा अन्यबाट गर्दा खरिद प्रक्रियालगायत अन्य प्रक्रियाले नै १ वर्ष लाग्ने भएकोले अहिले साझा यातायातबाटै गर्ने कुरा भएको हो,' उनले भने, 'अब अर्थ मन्त्रालयसँग सम्झौता हुन्छ, त्यसपछि सञ्चालनमा आउँछन् 'ब्लू बस' ।'
'ब्लू बस' रिङ्गरोडका दुईवटा क्रस रुट र दुईवटा विपरीत (दुवै दिशा) रुटमा सञ्चालन हुनेछन्। यी बसको सञ्चालन खर्च नेपाल सरकारले व्यहोर्नेछ। बस सेवा महिलाका लागि पूर्ण रूपमा निःशुल्क हुनेछ।
पहिलो बूढानीलकण्ठबाट गोदावरीसम्मको रुटमा दुई वटा निलो बस सञ्चालन हुनेछ ।
यता नागढुंगाबाट एयरपोर्टसम्म २ वटा गरी चार वटा बसहरू क्रस रुटमा सञ्चालन हुनेछन् । यता रिङ्गरोडभित्र पनि विपरीत 'क्लकवाइज' र 'एन्टी–क्लकवाइज' २/२ वटा बस सञ्चालन गरिने छ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफ्नो शासकीय सुधारका १०० कार्यसूचीमा 'ब्लू बस' सञ्चालनमा ल्याउने कुरा उल्लेख गरेको थियो ।
सरकारको कार्यसूची बमोजिम अर्थ मन्त्रालयले 'ब्लू बस' सञ्चालनका लागि आर्थिक वर्ष २०८३/८४ मा बजेट समेत विनियोजन गरेको छ ।