१३ असार २०८३, शनिबार
चुनावी प्रचार

राजधानी काठमाडौंमै आचारसंहिता उल्लंघन : सूर्य छाप अंकित टिसर्ट र टोपी लगाएर घरदैलो

राजधानी काठमाडौंमै आचारसंहिता उल्लंघन : सूर्य छाप अंकित टिसर्ट र टोपी लगाएर घरदैलो

स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसारको क्रममा राजधानीमै नेकपा एमालेका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।

नेकपा एमालेका उम्मेदवारले निर्वाचन चिह्न सूर्य छाप अंकित टिसर्ट लगाएका युवालाई प्रचारप्रसारमा लगेको पाइएको छ ।
 
काठमाडौंको शिखरापुर नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा उठेका कृष्णलाल बजगाईले घरदैलो अभियानका क्रममा केही युवाहरू सूर्य चिह्न अंकित टिसर्ट र टोपी लगाएर नै प्रचारप्रसार गरिरहेको अवस्थामा भेटिएका थिए । लोकान्तरकर्मीहरू मंगलवार चुनाव रिपोर्टिङका लागि शंखरापुरको लम्फीबेसीमा पुग्दा बजगाईको प्रचारमा रहेका केही युवाहरूले सूर्य छाप अंकित सेतो टिसर्ट र रातो तथा सेटो रंगको टोपी समेत लगाएको अवस्थामा भेटिएका थिए ।
 
टोपीमा सूर्य चिह्न अंकित नेकपा एमाले लेखिएको तथा टिसर्टमा पनि अगाडिपट्टि सूर्य चिह्न तथा टिसर्टको पछाडिपट्टि सूर्य छाप भएको ठूलो चिह्न रहेको तथा राष्ट्रिय युवा संघ नेपाल शंखरापुर लेखिएको थियो । 

आफूले निर्देशन नदिएको तथा केही युवाहरूले झुक्किएर टिसर्ट तथा टोपी लगाएको मेयर उम्मेदवार बजगाईले बताए ।  

‘उहाँहरूले झुक्किएर टिसर्ट तथा टोपी लगाउनुभएको रहेछ, अब भोलिदेखि हामी त्यसलाई सच्याउँछौं,’ मेयरका उम्मेदवार बजगाईले लोकान्तरसँग भने, ‘हामीले ती युवाहरूलाई टिसर्ट बाँडेका छैनौं, उहाँहरूले आफैं बनाएर लगाउनुभएको हो । ती युवालाई त्यसो नगर्न भने पनि कोही कसैले झुक्किएर त्यसो गर्नुभएको छ, हामी त्यसलाई सच्याएर अगाडि बढ्न तयार छौं ।’

कृष्णलाल बजगाई

‘हामी अधिकतम होइन, शतप्रतिशत आचारसंहिता पालना गर्ने प्रयासमा छौं । आचारसंहितालाई पालना गर्ने मुख्य दायित्वको रूपमा हामी नै हो, किनभने अगुवा पार्टी भएको नाताले पनि प्रथम कर्तव्य रहेको बुझेका छौं,’ उनले लोकान्तरसँग भने ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भने प्रचारप्रसारका क्रममा कार्यकर्ता वा समर्थकले चुनाव चिह्न अंकित क्याप तथा टोपी लगाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन रहेको बताउँछन् । ‘यदि त्यस्तो कहीँ देखिएको छ भने त्यस ठाउँको स्थानीय प्रशासन तथा निर्वाचन अधिकृतले तत्काल ती सामग्रीहरू जफत गर्नुपर्छ,’ अर्यालले लोकान्तरसँग भने ।

कमेन्ट गर्नुहोस्