
गर्मी बढेसँगै मधेस प्रदेशका जिल्लामा लामखुट्टेको प्रकोप बढेको छ ।
बिहानभन्दा साँझ र रातिको समयमा लामखुट्टेको टोकाइबाट जनजीवन प्रभावित हुने गरेको छ ।
प्रदेशका मुख्य सहर बजार, ग्रामीण भेगका सहर बजार, गाउँबस्तीमा लामखुट्टेको प्रकोप रहेको छ ।
प्रत्येक वर्ष लामखुट्टे नियन्त्रणको नाममा जनकपुरधाम उपमहानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरिएको भएपनि अझै नियन्त्रण भएको छैन । दिनरात लामखुट्टेको टोकाइबाट जिल्लावासी आजित भएको स्थानीय बताउँछन् ।
अन्य स्थानको तुलनामा धनुषाको जनकपुरधाममा लामखुट्टेको प्रकोप बढेको छ ।
तीन वर्षको अवधिमा जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे मार्न ४८ लाख ३३ हजार २६९ खर्च गरेको उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत उमाशङ्कर मल्लिकले जानकारी दिए ।
उनका अनुसार लामखुट्टे नियन्त्रणको लागि आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख २३ हजार १३१ रुपियाँ, २०७७/०७८ मा २३ लाख २४ हजार २२३ रुपैयाँ र चालू आर्थिक वर्ष २०७८/०७९ चैत १२ गतेसम्म नौ लाख ८५ हजार ९१५ रुपैयाँ खर्च भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।