२९ जेठ २०८३, शुक्रबार
स्थानीय चुनाव

गठबन्धनले केही फरक पर्दैन, इटहरीमा एमाले नै बलियो छ– याम सुब्बा [अन्तर्वार्ता]

गठबन्धनले केही फरक पर्दैन, इटहरीमा एमाले नै बलियो छ– याम सुब्बा [अन्तर्वार्ता]

कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी संगठनमा काम गरेका सुब्बासँग घरदैलो गरिरहेको ठाउँमै पुगेर लोकान्तरकर्मीहरू विन्देश दहाल र उद्धव थापाले कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :

चुनावी प्रचार अभियान कस्तो भइरहेको छ ?

अत्यन्तै सफल भइरहेको छ । नगरवासीहरूको सहभागिता उत्साहजनक छ । हाम्रो पार्टीका नेतृत्व पंक्तिहरूको जुझारुपना र उत्साह अनुरूपकै प्रचारप्रसार भइरहेको छ । प्रचारप्रसारमा देखिएको सहभागिताले सफलताको संकेत दिइरहेको छ । 

इटहरी उपमहानगरपालिकाका निवासीहरूले तपाईंलाई मेयरका लागि किन मत दिने ?

यस नगरमा पहिलेदेखि अहिलेसम्म भएका सबै विकासको नेतृत्व हाम्रो पार्टीले गर्दै आएको छ । नगरवासीहरूले बारम्बार एमालेलाई मत दिँदै आएका छन् ।

मत दिएअनुसार जनताले परिणाम पाएका छन् । त्यस परिणामका आधारमा नगरवासीहरूले गरेको विश्वास र भरोसा नै हाम्रो विजयको आधार हो । अनि हाम्रो पार्टी संगठन बलियो छ । हामी जनआधारित कार्यक्रम गर्छौं । नेकपा एमालेका कार्यकर्ताहरू इमान्दार हुन्छन् भन्ने छवि स्थापित भएको छ । अरू दलको तुलनामा एमालेका उम्मेदवारलाई विजयी बनाउनका लागि जनताहरू उत्साहित हुनु नै हाम्रो विजयको आधार हो । 

व्यक्तिगत रूपमा तपाईं मतदाताबीच कसरी चिनिन चाहनुहुन्छ ?

म जनताको सेवकका रूपमा चिनिन चाहन्छु । मैले लामो समयसम्म पार्टीमा काम गरें । अब म सरकारमा गएर जनताको सेवा गर्न चाहन्छु । म त्यहाँ शासक हैन, जनताको सेवकका रूपमा काम गर्न चाहन्छु । 

तपाईं मेयर निर्वाचित भएपछि इटहरीका जनताका लागि पाँचवटा महत्त्वपूर्ण कुन–कुन काम गर्नुहुन्छ ?

पहिलो, इटहरीको डुबान, ढल र कटानको समस्या समाधान गर्छु । म विजयी भएँ भने पहिलो बैठकमै यो एजेन्डालाई पारित गराउनेछु । वर्तमान मेयर र उपमेयरले यसको आधार बनाउनुभएको छ । त्यसलाई हामीले पूर्णता दिनेछौं । दोस्रो, इटहरीमा लगभग ३०० किलोमिटर कालोपत्रे सडक बनेका छन् । त्यससँग जोडिने गरी रिंगरोड बनाउन हामी पहल गर्नेछौं । तेस्रो, इटहरीमा एउटा विशाल र सुविधायुक्त सभाहलको आवश्यकता छ ।

हामी त्यो बनाउनेछौं । चौथो, इटहरीमा क्रिकेटको क्रेज बढेको छ । हामी क्षेत्रीय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउन पहल गर्नेछौं । पाँचौं, जनजातिहरूको जनसंग्रहालय बन्दैछ । हामी त्यसलाई पूरा गर्नेछौं । अन्य कुरा गर्दा, फोहर प्रशोधनको कामलाई योजनामुताबिक अघि बढाउनेछौं । इटहरीको सर्वांगीण विकास र समृद्धिका लागि र यसलाई स्मार्ट सिटीका रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ । 

यी पूर्वाधार विकासका योजनाबाहेक शिक्षा, स्वास्थ्य, महिलाको हित, समुदायलक्षित कार्यक्रममा पनि हामीले काम गर्नेछौं । अहिलेको सरकारले ७३ वटा कानूनहरू बनाइदिनुभएको छ । त्यसलाई हामीलाई काम गर्न बाटो खुलेको छ । 

तपाईंहरू सत्तारूढ गठबन्धनका विरुद्ध एक्लै लडिरहनुभएको छ ? सजिलो छ त जित्न ?

इटहरीमा गठबन्धन हाम्रो ठूलो प्रतिस्पर्धी हैन । उहाँहरू मेयर र उपमेयरमध्ये एक महिला उठाउनुपर्ने कुरामा नै चुक्नुभएको छ । यो ठूलो आलोचनाको विषय भएको छ । इटहरी सचेत नागरिकहरू बसोबास गर्ने शहर हो । यहाँ छलेर ढाँटेर जनताले विश्वास गर्दैनन् । उहाँहरूले जतिसुकै सपना देखाए पनि उम्मेदवारीको चरणबाटै उहाँहरूसँग नगरवासीको विमति छ । त्यही कुरामा उहाँहरूले हार खाइसक्नुभएको छ । उहाँहरूले गरेको घरदैलोमा जनताको उल्लेख्य सहभागिता भएको पाइँदैन । 

पाँच दलको गठबन्धनले केही फरक पार्दैन । इटहरीमा पहिलेदेखि नै एमाले नै थियो र इटहरीलाई एमालेले नै बनाउँछ भन्ने कुरा इटहरीवासीमा स्थापित भएको छ । त्यस आधारमा एमाले एक्लै उभिएको भए पनि पार्टीको विजय सुनिश्चित देखिएको छ । गठबन्धनबाट हामीले अप्ठ्यारो मान्नुपर्ने कुनै कुरै छैन । 

घरदैलो गर्ने क्रममा तपाईंले कति जति मत ल्याएर विजयी हुने आकलन गर्नुभएको छ ?

इटहरीको कुल मतदाता संख्या १ लाख ४ हजारमा लगभग ७० हजार मत झर्ला । त्यसमा ३५ देखि ४० हजार मत हामी ल्याउँछौं भन्ने हाम्रो आकलन छ । त्यस्तो वातावरण देखिएको छ ।

वर्तमान मेयर पनि टिकटको आकांक्षी हुनुहुन्थ्यो । उहाँले नपाएपछि अहिले तपाईंलाई कत्तिको सहयोग गरिरहनुभएको छ ?

भरपूर सहयोग छ । हाम्रो कार्यक्रममा उहाँ आउनुभएको छ र सम्बोधन गर्नुभएको छ । उहाँले मतदाताहरूलाई फोन गरिरहनुभएको छ । थारू समुदायको बाहुल्य भएका वार्डहरूमा पार्टीले उहाँलाई खटाएको पनि छ । उपमेयर लक्ष्मी गौतमले मलाई हरेक सभामा, अन्तर्वार्ताहरूमा सघाइरहनुभएको छ । इटहरीमा एमालेका नेता, कार्यकर्ता सबै एकमना भएर प्रचारप्रसारमा लागिरहेका छौं । कार्यकर्ताहरू यो वा त्यो बहाना बनाएर कोही पनि प्रचारप्रसारबाट तर्किरहनुभएको छैन । असहयोग, अन्तर्घात, अन्यथा परिणाम हुँदैन भन्ने कुरामा म विश्वस्त छु । 

चुनावमा कति खर्च हुँदोरहेछ ?

सामान्य खर्च गरिरहेका छौं । च्युरा चना खाएर कार्यकर्ताहरूले चित्त बुझाइरहनुभएको छ । अरूले भए खसी ढाल्थे होलान् । हामीसँग त्यसको चाहना पनि छैन र हैसियत पनि छैन । जनतासँगै, वार्डवासीसँगै पैसा उठाएर कार्यकर्ताहरूलाई घरदैलो गर्दा खुवाउने काम गरिरहेका छौं । हामीलाई पैसाको समस्यै छ । नगरवासी र उद्योगी व्यवसायीसँग हात फिँजाएको भरमा हामी चल्ने हो । करोडौं खर्च गर्न हामीसँग हैसियत छैन । 

आम मतदातालाई तपाईंको अपील के हो ?

इटहरीको सर्वाङ्गीण विकासका लागि जनताले पहिले पनि सहयोग गर्नुभएको हो र फेरि पनि सहयोग गर्नुस् भन्न चाहन्छु । हामी तपाईंलाई सेवा गर्न तत्पर छौं । हामी आफू पनि भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं । जनतालाई सेवा दिने कुरामा हामी कन्जुस्याइँ गर्दैैनौं । हामीले गरेका प्रतिबद्धता पूरा गर्छौं । हामीलाई विजयी गराउनुस् । तपाईंहरूको अनुहारमा खुशी ल्याउने एमालेले नै हो ।

salt training

कमेन्ट गर्नुहोस्