२८ जेठ २०८३, बिहीबार

चन्द्रागिरी नगरपालिकामा ३ दलीय गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

कांग्रेस विरासत जोगाउने दाउमा, एमाले नतिजा उल्ट्याउने रणनीतिमा
चन्द्रागिरी नगरपालिकामा ३ दलीय गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूबीच प्रतिस्पर्धा देखिए पनि अन्ततः सत्ता गठबन्धन तथा नेकपा एमालेबीच निर्णायक प्रतिस्पर्धा हुने भएको छ ।

गत स्थानीय निर्वाचनमा मेयर जितेको नेपाली कांग्रेसले आफ्नो विरासत जोगाउन नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गरेको छ । नेपाली कांग्रेसले मेयर, राष्ट्रिय जनमोर्चाले उपमेयर तथा माओवादी केन्द्रले केही वडाध्यक्ष लिएर गठबन्धन गरेका छन् ।

तर केन्द्रीय सत्ता गठबन्धनमै आवद्ध रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले मेयर, उपमेयरसहित वडामा समेत छुट्टाछुट्टै उम्मेदवारी दिएर गठबन्धनलाई नै चुनौती दिएका छन् ।

अर्कोतर्फ गत स्थानीय निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेको नेकपा एमाले जसरी पनि नेतृत्वमा पुग्ने दाउमा देखिएको छ ।

मेयर पदका लागि नेपाली कांग्रेसबाट घनश्याम गिरीले उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा पनि उनी नेपाली कांग्रेसबाट जितेका थिए । नेकपा एमालेबाट उत्तमबहादुर राउतले उम्मेदवारी दिएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा एमालेबाट १५ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा एकीकृत समाजवादीबाट सुशीला न्यौपाने, जसपा नेपालबाट रामलाल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजय श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट किरण महर्जनसहित स्वतन्त्रबाट समेत गरेर २० जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् ।

उपमेयरमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका रोशन दानी, नेकपा एमालेबाट वसन्ती श्रेष्ठ, नेकपा एसबाट भाइकृष्ण बलामी, जसपाबाट मैया महर्जन, राप्रपाबाट निरुपा केसी (खत्री), नेमकिपाबाट ज्ञानु मैया दराई सहित ८ जनाले उम्मेदवारी दिएका छन् ।

चुनाव जित्ने आ–आफ्नै दाबी 

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार घनश्याम गिरी चुनाव जित्नेमा ढुक्क देखिएका छन् । मतदाताहरूसँग मत माग्न घरदैलो अभियानमा जाँदा गठबन्धनको विजय सुनिश्चित रहेको भन्दै विश्वस्त पारेको उनले बताए । ‘गएको चुनावमा एक्लाएक्लै लड्दा त झण्डै ३ हजार हाराहारीको मतान्तरले मैले विजय प्राप्त गरेको थिएँ,’ गिरीले लोकान्तरसँग भने, ‘यसपटक त गत ५ वर्षमा मैले गरेको काम तथा ३ दलबीच भएको हाम्रो गठबन्धनको आधार समेत थपिएकाले झन् फराकिलो मतान्तरले जित्छौं ।’

मेयर, उपमेयर तथा केही वडामा ३ दलबीच तालमेल भए पनि केही वडामा मैत्रीपूर्ण स्वस्थ प्रतिस्पर्धा गरिरहेको उनले बताए । सत्ता गठबन्धनकै २ सहयात्री दलहरू नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले मेयर, उपमेयरसहित वडामा समेत छुट्टाछुट्टै उम्मेदवारी दिए पनि त्यसले असर नपार्ने उनी बताउँछन् ।

‘केन्द्रीय गठबन्धन अनुसार नै यहाँ उम्मेदवारी दिएर पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको हो,’ उनले लोकान्तरसँग भने, ‘त्यही अनुसार उहाँहरूले पनि अन्तिममा आएर वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिनुहुन्छ होला ।’

भौतिक पूर्वाधार समेत नभएको, पुँजी समेत शुन्य भएको अवस्थामा नगरपालिकामा काम गरेको ५ वर्षमा उल्लेखनीय विकास भएको उनले दाबी गरे । ‘कार्यपालिकामा बहुमत पनि थिएन, कर्मचारी पनि थिएनन्, कानून समेत केही नबनेको अवस्थामा मैले बाह्य सहयोग जुटाएर नगरपालिकामा विकास गरेको छु,’ उनले भने, ‘बजेटलाई विकेन्द्रीकृत गरेर सबै वडालाई दिएको थिएँ, त्यसबाहेक मैले आफ्नै पहलमा अन्य बाह्य स्रोतबाट बजेट जुटाएर नगरपालिकाको विकास गरेको छु ।’

नगरपालिकाभित्र ६० किलोमिटर सडक ढलान गरिएको, २० किलोमिटर सडक पिच भएको, नगरपालिकामा अस्पतालहरू निर्माण भएको, सबै वडाको स्वास्थ्य चौकीको स्तरोन्नति गरिएको उनले बताए । ‘२५ करोड रुपैयाँको लागतमा नगरपालिकाको आफ्नै प्रशासनिक भवन बनाउनुका साथै सबै वडा कार्यालयहरू बनाएको छु,’ उनले लोकान्तरसँग भने, ‘नगरपालिकाभित्र धेरै पार्कहरू निर्माण भएका छन्, मठमन्दिरहरू निर्माण गरिएको छ ।’

नगरपालिकाभित्र आन्तरिक स्रोत न्यून रहेको अवस्थामा जग्गा रजिस्ट्रेसन दस्तुर हेरफेर गरी आन्तरिक स्रोत समेत बढाएको उनले बताए । ‘नगरपालिकाभित्र जम्मा ८ करोड रुपैयाँ मात्र आन्तरिक स्रोत जुट्थ्यो तर मैले मालपोत कार्यालयका प्रमुखहरूसँग समन्वय गरी मेरै एकल निर्णयमा रजिस्ट्रेसन दस्तुर हेरफेर गरी अहिले महिनाको मात्रै ८ करोड जति आन्तरिक स्रोत जुटाउने बनाइदिएको छु,’ उनले भने, ‘त्यसरी अन्तरिक स्रोतको रकम बढाउनुका साथै विभिन्न बाह्य स्रोतबाट पुँजी जुटाएर नगरपालिकामा केन्द्रिकृत बजेट नराखी सबै वडामा बजेट विकेन्द्रित गरेर विकास पूर्वाधारको निर्माण गरेको हो ।’

नगरपालिकाको तर्फबाट जर्मन सरकारसँग १ अर्ब रुपैयाँको सम्झौता समेत गरिसकेको उनले बताए । थापाथली प्रसुती गृह जस्तै नगरपालिकामा पनि प्रसुती अस्पताल निर्माण गर्नका लागि सम्झौता गरिएको उनले बताए । यसरी विभिन्न विकास निर्माणको काम गरेकै आधारमा फेरि पनि जित्ने उनको दाबी छ ।

एमालेबाट मेयरका उम्मेदवार राउतले गठबन्धनले होइन, नीति तथा कार्यक्रम, भिजन र सोचको आधारमा आफूले नै जित्ने दाबी गरे । ‘आम मतदाताले गठबन्धनको आधारमा भोट दिने होइन, कुन उम्मेदवारले कस्तो योजना अगाडि ल्याएका छन् ? त्यसको आधारमा मतदान गर्ने हो,’ उनले लोकान्तरसँग भने, ‘निर्वाहमुखी कृषि अर्थतन्त्रलाई कसरी औद्योगिकरण गरेर सही ढंगले अवतरण गराउने, आम जनजीवनको मुद्दा कसरी सम्बोधन गर्ने ? यस्ता एजेन्डाले गर्दा मतदाताले मलाई नै जिताउनुहुन्छ ।’

पर्यावरण संरक्षण गर्दै भौतिक पूर्वाधार निर्माणदेखि विभिन्न एजेन्डालाई लिएर आफूले नै चुनाव जित्ने उनी बताउँछन् । ‘गत ५ वर्षमा वडाध्यक्षको हैसियतले मैले गरेको काममा जसरी खरो उत्रिएका छौं, त्यसैको आधारमा हामीले मत पाउँछौं,’ उनले भने, ‘वडामा जसरी सुशासन कायम गरेर अगाडि बढेका थियौं, त्यही आधारमा हाम्रो पार्टीको विजय यात्रा सुनिश्चित भइसकेको छ ।’

महिला, युवा, ज्येष्ठ नागरिकसहित आम मतदाता उत्साहित हुँदै एमालेको विजय यात्रा अगाडि बढिसकेको उनले बताए ।

वडामा जनप्रतिनिधि हुँदा देशभरका स्थानीय पालिकाले अनुशरण गर्ने खालका उदाहरणीय काम आफूले गरेको उनले बताए । ‘वडाध्यक्ष जितेर आएपछि करको दायरा घटाएर राजस्व वृद्धि गराएका थियौं, ४५ मिटर गहिरो गल्छी भीरमा नेपालकै पहिलो भीरको पार्क निर्माण गर्‍यौं,’ उनले थपे, ‘वडाध्यक्षको हैसियतले पाउने तलबभत्ता राखेर वडा विकास कोष सञ्चालन गरेर कोषमा आम नागरिकले दिनको १ रुपैयाँ दान गरेको रकम समेत थपेर निरन्तर १० कक्षामा २० जना र ११–१२ कक्षामा ३२ सहित जम्मा ५२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिलाएर पढाइरहेका छौं ।’

विगतमा आफूले गरेका ती सबै काम तथा आउने दिनमा चन्द्रागिरी नगरपालिकाको कायापलट गर्ने योजना, एजेन्डाको आधारमा पनि आफूले नै जित्ने उनले दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्