
प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
तराईका जिल्ला तथा सदरमुकाम आसपासका मतदान केन्द्रबाहेक सबै पालिकामा निर्वाचन सामग्री पुगिसकेको प्रमुख निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीले बताए ।
प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् । प्रदेश १ का १३७ वटै पालिकामा एकैसाथ चुनाव हुने प्रदेश निर्वाचन आयोगले जनाएको छ । ‘मतपत्र, स्वस्तिक छापलगायत सबै पुगिसकेको छ,’ अधिकारीले भने, ‘विना अवरोध काम भइरहेको छ ।’
निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ ।
कतिपय अवस्थामा हेलिकप्टरबाट गस्ती गर्ने तयारी पनि नेपाली सेनाले गरेको छ । १९ हजार कर्मचारी मतदानस्थलमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा ३२१ मतदानस्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राईले जानकारी दिए । उनका अनुसार प्रदेशमा ८४९ वटा संवेदनशील र ७०७ वटा सामान्य रहेको बताए । संवेदनशील रहेको मतदानस्थलमा सुरक्षाकर्मी बढी रहन्छ ।
स्थानीय तह निर्वाचनमा अतिसंवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । ३ प्रहरी ८ म्यादी मतदानस्थल भित्र रहन्छ । बाहिर ४५ जना सुरक्षा कर्मचारी परिचालन हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । प्रहरीसँग बाहिरी घेरामा नेपाली सेना र सशस्त्र प्रहरी पनि रहनेछन् । हरेक मतदान स्थलमा १५ देखि २० मिनेटमा पुग्ने गरी स्टेनवाइ सुरक्षाकर्मी पनि रहने उनले बताए ।
मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी राईले जानकारी दिए । सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।
यसबाहेक मोबाइल, प्रोटेल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्नेछ । मतगणनास्थल सुरक्षा र इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।
स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनको थ्रेट नभएको १ नंंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी अरूणकुमार जिसीले बताए । उनले मतदानस्थल र केन्द्रमा संगठित समूहको ‘थ्रेट’ नभएको बताए ।
प्रदेश १ का ४ वटा जिल्लाको सीमानाका पनि गएरातिदेखि बन्द गरीएको छ । इलामको पशुपति नगर, झापाको कारभिटा, भद्रपुर मोरङको जोगमनि, सुनसरीको भन्टावारि भारतसँग जोडिएका मुख्य नाका हुन् । यस्तै संखुवासभाको किमाथान्का नाका भने बन्द नै रहेको छ ।
सीमा बन्द भएको समयमा अतिआवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपालमा भने प्रवेश गर्न नपाउने प्रदेश १ का डीआईजीज जिसीले जानकारी दिए ।
मोरङमा ‘एकीकृत सुरक्षा योजना’
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘एकीकृत सुरक्षा योजना’ लागू गरिएको छ । मोरङ प्रशासनले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
यो योजना निर्वाचनअघि र निर्वाचनपछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनले निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएको समेत बताए ।
निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी परिचालन भएका छन् ।
प्रदेश १ मा १० हजार ५९१ प्रहरी र १७ हजार ४२८ म्यादी प्रहरी परिचालन गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।
मोरङमा मात्र नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राष्ट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ ।
जिल्लामा ३०० मतदानस्थल तथा ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजनाअन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाइमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।
उनका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न नाकामा दिए पनि ३० गते नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारीसाधन आवतजावत गर्न निषेध गरिएको छ ।
मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कूल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन् । पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा एक हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको संख्या ३९ छन् । तर, उम्मेदवारी फिर्ता लगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता संख्या सात लाख १५ हजार २२३ रहेको छ ।