![के भन्छन् चुनावमा भोट हाल्न गाउँ फर्किन लागेकाहरू ? [भिडियो]](https://lktcdn2.prixacdn.net/media/feature_photo_bus_yatru1_rBeYAF4YJf.jpg)
नुवाकोट बेलकोटगढीका रमेश उपाध्याय बुधवार बिहान कलंकीदेखि अलिकपर ढुंगेअड्डामा गाडी पर्खिरहेका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोट हाल्न उनी गाउँ जान लागेका रहेछन् ।
'मलाई गाउँबाट एक स्थानीय नेताले पटक-पटक फोन गरेर भोट दिन जसरी पनि आउनुपर्यो भनेपछि जान लागेको हुँ,' उनले भने, 'ती नेताले बरु तपाईंलाई जे चाहिएको छ, पुर्याइदिन्छु भनेकाले मात्रै भोट हाल्न जान लागेको हुँ ।' व्यक्तिगतभन्दा पनि गाउँमा विकास चाहिएकाले मत दिन जान लागेको उनले प्रष्ट्याए ।

उनीजस्तै चपुरकी दुई देउरानी-जेठानी पनि गाडी कुरिरहेका थिए । उनीहरूले चुनावमा आफ्नो देवर उठेकाले भोट दिन जानेको लागेको बताए ।
उनीहरूजस्तै निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरू धेरै छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने नाका कलंकी र कोटेश्वरमा फर्किनेहरूको भीड देख्न सकिन्छ ।

विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् । ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको संख्या बढिरहेकाले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।

यस्तैमा एक स्थानीय चिया पसले मित्रराज भट्टराईले भने छुट्टै विचार व्यक्त गरे । उनी जबसम्म निःशुल्क शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने उम्मेदवार उठ्दैन तबसम्म आफू भोट हाल्न गाउँ नजाने बताए ।
'शिक्षाले अवसर प्रदान गर्छ भने स्वास्थ्य राम्रो भए जसरी पनि काम गरेर खान सक्छ, त्यसैले जुन प्रतिनिधिले यो मुद्दा लिएर आउँछन् अनि मात्र म भोट दिन गाउँ जाने हो,' उनले भने ।